
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा दुई वर्षअघि निर्माण गरिएको विद्युत् सबस्टेसन सञ्चालनको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले ढिलोमा आगामी एक महिनाभित्र सबस्टेसन सञ्चालन हुने दाबी गर्नुभयो । हरिपूर्वा बजार क्षेत्र र ईश्वरपुर नगरपालिकास्थित श्रीनगर महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा लामो समयसम्म विवाद हुँदा सबस्टेसन बनेको दुई वर्षसम्म अलपत्र रहेको छ ।
प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरबाटै प्राविधिकसहितको टोली खटिएर केही साताअघि मात्रै हरिपूर्वामा बिजुलीको पोल गाड्ने काम सम्पन्न गरेका थिए । त्यस्तै महारानी बजार क्षेत्रमा गत आइतबारमात्रै पोल गाड्ने काम पूरा भएको छ । प्रादेशिक कार्यालय जनकपुरका प्रमुख ठाकुरले हरिपूर्वामा यसअघि गाडेर ढलेका दुईवटा पोल उठाउन बाँकी रहेको बाहेक अब पोल गाड्ने र तार टाङ्ने काम लगभग पूरा भएको जानकारी दिनुभयो । उहाँले अब विद्युत् सबस्टेसन चार्ज गर्नुअघि आमसर्वसाधारणलाई तार नछुन आग्रहसहितको एकहप्ते सूचना प्रकाशित गर्ने तयारी रहेको बताउनुभयो ।
त्यसपछि सबस्टेसनको ट्रान्सफर्मर चार्ज गर्न एक हप्ता लाग्छ । यी सबै काम एक महिनाभित्रैमा पूरा गरेर सबस्टेसन सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कुनै समस्या छैन, प्राविधिक काम पूरा गरी दशैँअघि नै हरिपूर्वाको सबस्टेसन चालु गर्छौं ।’ निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि पोल गाड्ने विषयको विवादले सबस्टेसन चल्न नसकेपछि प्राधिकरणको जिल्लास्थित लालबन्दी र मलंगवा वितरण केन्द्र, प्रादेशिक कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय सर्लाही, ईश्वरपुर नगरपालिका र हरिपूर्वा नगरपालिकाले सक्रियता देखाएर पोल गाड्ने काम पूरा गरेका हुन् ।
हरिपूर्वाको सबस्टेसन चालु नहुँदा जिल्लाको पूर्वी भेगमा सदरमुकाम मलंगवादेखि बत्ती ल्याउनुपर्दा लामो प्रसारण लाइनका कारण छिनछिनमै बत्ती कट्ने, भोल्टेज नहुने, कुनै प्राविधिक गडबढी हुँदा १२ घण्टाभन्दा बढी समय बत्ती नआउनेलगायतका समस्या थिए । हरिपूर्वाको सबस्टेसन सञ्चालनपछि पूर्वी बेल्टको हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, ब्रहृमपुरी गाउँपालिका, पर्सा गाउँपालिका र चन्द्रनगर गाउँपालिकाको विद्युत् नियमित हुनुका साथै भोल्टेज स्तर पनि बढ्ने प्राविधिकले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सबस्टेसनमा पु¥याइनेछ । सबस्टेसनबाट ११ केभीका दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी छ ।
जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिएका दुई पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकादेखि एउटामा समस्या आएको हो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिएभार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ । सोही कारण उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो ।
प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्ति नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताउनुभयो । सुरसण्ड-जलेश्वर लाइन नचलेको धेरै भएकाले हाल लाइनको मार्गधिकारमा पर्ने रुखबिरुवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालु गरी विद्युत् ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भएको छ, फल्ट पत्ता लागेमा एक दिनमै मर्मत हुन सक्छ, नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच