
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ (टान) मा चुनावी सरगर्मी बढेको छ । यही भदौ १७ गते हुने निर्वाचनमा दुई समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ । एउटा समूहको नेतृत्व पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र अर्को समूहको नेतृत्व सागर पाण्डेले गर्नुभएको छ । सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदी रहेका छन् भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की, प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ), द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छन् ।
टानको नेतृत्वका लागि पनि दुई ठूला सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध व्यवसायीबीच गठबन्धन छ । सापकोटा समूह कांग्रेस–एमाले निकटको प्यानल हो । टानलाई गतिशील र पर्यटन व्यवसायलाई मर्यादित बनाउनु आफूहरूको मुख्य प्राथमिकता रहने सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार कर्मा शेर्पाले बताउनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोक्न रोजगार सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ । पर्यटन क्षेत्र २०३५ सालमा बनेको ऐनका भरमा अहिले चलिरहेकाले निर्माण चरणमा रहेको नयाँ ऐन पर्यटनमैत्री हुुनुपर्नेमा शेर्पाको जोड रहेको छ ।
स्थानीय तहहरूले मोटरबाटोको ट्र्याक खोल्दा र जताततै डोजर चलाउँदा कतिपय स्थानमा पुराना पर्यटन पदमार्ग हराएका कारण नयाँ पदमार्ग खोजी, पदमार्ग निर्माण र स्तरोन्नति, टिम्सबाट आम्दानी हुने रकमसमेत पर्वतीय पर्यटन श्रमिकको सुविधा र सामाजिक सुरक्षा, पोर्टर सेल्टर निर्माण तथा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन प्रवद्र्धन गर्न टानको सिफारिस र सहभागिता सुनिश्चित गर्ने कुरा आफूहरूको मुख्य प्राथमिकता रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेर्पाले बताउनुभएको छ ।
सत्ता गठबन्धनबाहिरबाट सागर पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितीय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षका लागि डम्बर अधिकारी प्रतिस्पर्धामा छन् ।
सदस्यका लागि सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) रहेका छन् । पाण्डे समूहलाई काँग्रेस संस्थापनइतर समूह, नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतको समर्थन रहेको बताइएको छ । टानका अनुसार देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनी सञ्चालनमा रहेका छन् । मतदाता संख्या एक हजार चार सय ३८ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच