
काठमाडौं । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए-नेपालले हस्ताक्षर गरेको छ । एमसिए-नेपालले एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्ष मनाइरहेको वर्तमान क्षणमा हासिल यो कोशेढुंगाले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको दृढ प्रतिबद्धता प्रतिबिम्बित गर्ने एमसिए नेपालको भनाइ छ ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन चार सय केभीको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको हो । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसी तथा एमसिए-नेपालका पदाधिकारीको समुपस्थितिमा आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङका प्रतिनिधि अमोल वोदेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए-नेपाल सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले भन्नुभयो, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेसनसहित उक्त प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन सघाउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘यो १८ किलोमिटर अंश निर्माण आयोजनामात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनीतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’
एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भन्नुभयो, ‘१८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्ने सन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुंगा हो । यो उपलब्धि एमसिसी नेपाल कम्प्याक्टले गत वर्ष हासिल गरेका कैयौं सफलतामध्ये एउटा हो तर यसले बृहत् दुई सय ९७ किलोमिरट लामो प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त गर्ने भएकाले यसको विशेष महत्व छ ।’
त्यस्तै एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भन्नुभयो, ‘एमसिसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौता हामीले गरिरहेको प्रगतिको स्पष्ट सूचक हो । छिटो निर्माण सम्पन्न गर्न बृहत् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किलोमिटर सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ ।’ बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आहृवान गर्न एमसिए-नेपालले तयारी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच