
✍️ ज्यो.प.हरिकृष्ण भट्ट
(गोवाञ्जल देवताका धामी)
हिन्दु धर्मावलम्बीहरू आफ्नो परम्परा अनुसार विभिन्न रीतिरिवाज, चाल चलन र संस्कारहरूले संमृद्ध छन् । संसार भरी छरिएर रहेका हिन्दुहरूका भूगोल र परिवेश अनुसार आ-आफ्ना छुट्टाछुट्टै जीवनशैली र विशेषता रहेका छन् । हिन्दुहरूको जीवनशैली मुख्यतः वेदमा आधारित भए पनि वेद, वेदका शाखा, उपशाखाको भेद हुँदै विभिन्न पन्थ सम्प्रदाय र ऐतिहासिक परम्पराहरूका कारणले यस समुदायभित्र चाडपर्वहरू मनाउने शैली र भूगोलै पिच्छे संस्कार तथा परम्पराहरूको स्वरूपमा पनि फरकपना देख्न सकिन्छ । सनातनीहरूमा गर्भाधानदेखि अन्त्यष्टिसम्मका षोडस संस्कार तथा दशैँ, तिहार, गौरा, छठ, होली, जनै पूर्णिमा, माघेसंक्रान्ति, विशु, ल्होसार, शिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, गुरुपूर्णिमा आदि मुख्य पर्वहरू मनाउने चलन रहेको छ । यी संस्कार तथा चाडपर्वहरूको आ-आफ्नै छुट्टै महत्व, विशेषता र ठाउँ अनुसार मनाउने बेग्लै तौर तरिकाहरू छन् । यस्तै आफ्नै छुट्टै महत्व र विशेषता भएको पर्वमध्ये गौरा पर्व पनि एक हो ।
गौरा पर्व विशेषगरी, नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही भूभाग, भारतको उत्तराखण्ड राज्यको कुमाउ र गढवाल मण्डलमा समेत धुमधामका साथ हर्षोलासपूर्वक शिवगौरीको आराधना गर्दै मनाइने गरिन्छ । यो पर्वको सुरुवात कहिलेदेखि भयो ? यो पर्व किन मनाइन्छ ? यो पर्व मनाइनुको कारण ? यससँग जोडिएका आस्था, मनोविज्ञान तथा यसका विशेषतालगायत विषयमा लेखको माध्यमवाट यससँग सम्बन्धित प्रश्नको उत्तर खोज्ने प्रयास गरिनेछ ।
अगस्ती ताराको उदय र सूर्यको कान्या राशीमा प्रवेशसँग जोडिएको छ । अगस्ती उदय हुनुभन्दा अगाडि भाद्रशुक्ल अष्टमी प¥यो भने भाद्र शुक्ल अष्टमीमा पर्व मनाउने र भाद्र शुक्ल अष्टमी अगावै अगस्ती उदय भएमा भाद्र कृष्ण अष्टमीमा गौरा मानाउने चलन यस क्षेत्रमा रहिआएको छ । मलमासका कारण तिथिहरू अगाडि-पछाडि भइरहने हुँदा भाद्र महिनामा मलमास परेको खण्डमा यो पर्व श्रवण महिनामा पनि मनाइने गरिन्छ ।
यो पर्व प्राचीन कालदेखिनै विशेषगरी मानसखण्ड र केदरखण्ड (हाल सुदूरपश्चिम, उत्तराखण्ड) क्षेत्रमा मनाउँदै आइन्छ । यो पर्वको सुरुवात केहिलेदेखि भयो भन्ने सन्दर्भमा कुनै यकिन तिथि पत्ता लगाउन नसकिए तापनि यस क्षेत्रका प्रायः सबै समुदायले यो पर्व मनाउने र यस क्षेत्रका प्राचीन देवीदेवताहरूका हरेक मन्दिरहरूमा समेत गौराको विरूडा चढाउने परमपरा भएको हुँदा यस क्षेत्रमा मानव बस्तीको बसोवास सँगसँगै यो पर्व मनाउने परम्पराको सुरुवात भएको हो भन्ने अनुमान गर्न सकिन्छ । गौरा पर्व यस क्षेत्रमा विशिष्ट तथा प्रमुख पर्व हो ।
वर्तमान समयमा दशैँ-तिहार जस्ता चाडपर्वसमेत धुमधामका साथ यस क्षेत्रमा मनाइने भए तापनि प्राचीन समयदेखि गौरा पर्व नै यस क्षेत्रको मुख्य चाडपर्वको रूपमा रहिआएको छ । गौराको बेला यस क्षेत्रका गरिबदेखि सम्पन्न परिवारका हरेक व्यक्तिले घर परिवारमा जुठो परेको अवस्थाबाहेक सबैले अनिवार्य पहिरनको रूपमा नयाँ लुगा लगाउनै पर्ने चलन पनि प्राचीन समयदेखि नै चलिआएको देखिन्छ । गौरा यस क्षेत्रको सौहार्दता झल्काउने मनोरञ्जनको पर्व पनि हो । गौराका बेला देश, प्रदेशबाट घर फर्कने, मीठा मिष्ठान्नका पकवानहरू पकाउने, केटाकटीदेखि सयानाहरू (प्रौढहरू)सम्म सबैले एक ठाउँमा भेला भएर मनोरञ्जन गर्ने, मनमुटापहरू बिर्सेर सुखदुःख साटासाट गर्ने चलन रहिआएको छ । वर्षा ऋतुको समयमा पर्ने यस पर्वमा नदीनलाहरू भरिभराउ हुनुका साथै फलफूलहरू पाक्न सुरु गर्ने, चारैतिर हरियाली हुने, न धेरै चिसो न धेरै गर्मी हुने सबै किसिमले उपयुक्त वातावरण रहने हुनाले पर्वमा छुट्टै रौनकता हुन्छ ।
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्दबाट अपभ्रंस हुँदै उत्पन्न भएको हो । हिन्दु धार्मिक ग्रन्थहरूमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ । यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउनका लागि गरेको ध्यान, तपश्यालगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथाहरूको गौरा गीतहरूमा वर्णन गरिन्छ । सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिव भावविहृवल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा शतीदेवीका अंगहरू पतन भएको ठाउँमा शक्तिपीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालयहरू उत्पन्न भएको देखिन्छ । गौरा गीतहरूले उनै शतीदेवीले हिमालय पर्वतको घरमा मैना देवीको गर्भवाट माता पार्वतीको रूपमा जन्म लिएको र मैनादेवीको गर्भवाट जन्मेकी ती कन्याले जन्मेदेखि भगवान् शिवलाई प्राप्त गरुञ्जेलसम्म भएका घटना प्रसंग र त्यसमा भगवान शिवले निभाएका भूमिकाहरूको वर्णन गरेको पाइन्छ । गौरा गीतहरूमा गायन तथा नृत्य दुवै विधाको प्रयोग गरेको पाइन्छ ।
गौरा पर्व विशेष रूपमा भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व भए पनि विशेष परिस्थितिमा कहिले काँही यो पर्व भाद्र कृष्णपक्ष वा श्रावण शुक्लपक्षमा समेत मनाउने गरिन्छ । यस्तो विशेष परिस्थिति अगस्ती ताराको उदय र सूर्यको कान्या राशीमा प्रवेशसँग जोडिएको छ । अगस्ती उदय हुनुभन्दा अगाडि भाद्र शुक्ल अष्टमी प¥यो भने भाद्र शुक्ल अष्टमीमा पर्व मनाउने र भाद्र शुक्ल अष्टमी अगावै अगस्ती उदय भएमा भाद्र कृष्ण अष्टमीमा गौरा मानाउने चलन यस क्षेत्रमा रहिआएको छ । मलमासका कारण तिथिहरू अगाडि–पछाडि भइरहने हुँदा भाद्र महिनामा मलमास परेको खण्डमा यो पर्व श्रवण महिनामा पनि मनाइने गरिन्छ । यसरी शुक्ल पक्षमा परेको गौरालाई ‘शुकेली गौरा’ र कृष्णपक्षमा पर्न गएको गौरालाई ‘अन्यारी गौरा’ दुई किसिमले गौरालाई विभाजन गरेको पाइन्छ । असोज महिनामा सूर्य कन्या राशीमा प्रवेश गरीसक्ने हुनाले उक्त महिनाम यो पर्व मनाउन नहुने चलन रही आएको छ ।
गौरा पर्व पुत्रदा एकादशीबाट सुरु हुने भए तापनी औपचारिक रूपमा भने यसको सुरुवात ‘बिरुडा पञ्चमी’बाट हुन्छ । पञ्चमी तिथिमा बिरुडा भिजाउने हुँदा उक्त पञ्चमीलाई ‘बिरुडा पञ्चमी’ भनिएको र गहुँ, गहत, कलौउँ, मास, गुरुँष गरी पाँचवटा अन्नहरू मिसाई बिरुडा हुने हुँदा बिरुडालाई ‘पञ्च बिरुडी’ भन्ने चलन रहेको छ । गौराको पहिलो दिन महिलाहरू व्रतबसी देवघर वा आ–आफ्नो घरको पवित्र कोठामा गाईको गोबरसहितले लिपपोत गरी दियो बालेर सगुनफाग गाउँदै पवित्र ताम्रपात्रमा बिरुडा राखी उक्त तम्रपात्रको पाँच ठाउँमा गाईको गोबरको टीका थापी उक्त टीकामा दुबो, चन्दन र अक्षता लागाई विधिवत रूपमा बिरुडा भिजाउने गरिन्छ । यसरी महिलाहरूले सामुहिक रूपमा भेला भएर बिरुडा भिजाउँदा सामाजिक मर्यादा अनुसार मन्दिरका धामी, पूजारी, भरँणे तथा मुखियाहरूको बिरुडा पहिले भिजाई पालैपालो सबैले बिरुडा भिजाउने चलन रहेको छ । बिरुडालाई स्थानीय भाषामा लोलिगौरा र महेश्वरको प्रसादको रूपमा ग्रहण गरिने हँदा बिरुडालाई अति पवित्र प्रसादीको रूपमा लिने गरिन्छ । यसरी विधिवत रूपले बिरुडा पञ्चमीबाट गौरा पर्वको सुरुवात भएपछि यस पर्वलाई नयाँ वर्षको सुरुवातको रूपमा समेत लिने गरिन्छ । पञ्चमीको दिन पवित्र दिन भएकाले यस दिन शुभकार्यहरूको थालनी गर्ने गरिन्छ । पुराना पुस्ताहरूमा यस दिनलाई विशेष रूपमा नयाँ आर्थिक कारोबारको सुरुवात गर्ने दिनको रूपमा मान्ने र हिउँदे बालीको मात बुझाउने चलनसमेत थियो ।
सुदूरपश्चिममा ‘पञ्चमीको बिरुडो, दशैँको जौंरो, दुत्याको चिउँरो’ लाई सौभाग्यको प्रतीकको रूपमा सधैँ प्रप्ति भइराखोस् भनी आशिर्वाद लिने दिने चलन छ । बिरुडा पञ्चमीदेखि ‘जाडी जामाली’ (जाडोको सुरुवात) र श्रीपञ्चमीदेखि ‘कान कामली’ (गर्मीको सुरुवात) भनेर प्रतिकात्मक रुपमा जाडो र गर्मीको सुरुवात हुने दिन भनी सम्बोधन गर्ने गरिन्छ । यी दुवै पञ्चमीहरूमा गरेका कार्य पूर्णरूपमा सफल हुने मान्यता यस क्षेत्रमा रहिआएकाले अक्षरारम्भ, अन्नप्राशन, गाईबस्तु खरिदबिक्री, नयाँ उद्यमको सुरुवात जास्ता शुभकार्यका गर्न उपयुक्त दिनको रूपमा लिने गरिन्छ ।
पञ्चमीको भोलिपल्ट ब्रतालु महिलाहरूले नवीन वस्त्र धारण गरी देवघरबाट भिजाएको बिरुडालाई पात्रसहित शिरमा राखी गौरा गीत गाउँदै पानीको मुहान, नदी किनारमा गई मर्यादा क्रमनुसार बिरुडा धुने चलन छ । बिरुडा धुन टोलै पच्छे परमपरा अनुसार निश्चित पवित्र ठाउँहरू तोकिएको हुन्छ उक्त ठाउँमा पवित्रता बनाई राख्न परमपरादेखि नै नियमहरू बनाई पालना गरिएको हुन्छ । बिरुडा धुने स्थललाई तीर्थ स्थान जत्तिकै सम्मान गरी बिरुडा धुने दिन उक्त स्थानमा स्थानीय धान, गहुँ, गुफो, गौरीघाँस, बललगायत बोटहरू उखेलेर लिई त्यसबाट गौरीको मूर्ति स्थापना गरी गौरा देवीलाई नयाँ पहिरनस्वरुप पिछौडो चढाउने चलन छ । बिरुडा घुने ठाउँमा स्थापना गरिएकी देवीलाई जेठी गौरा भन्ने चलन छ । त्यसदिन पानी परेमा महेश्वरले जितेको र नपरेमा गौरीले जितेको भन्ने गरिन्छ । घरदेखि पनिको मुहानसम्म जाँदा ‘पाँणकी दिदी मजेलाकी भव्वा त हिट दिदी बिरुडी धुन् झानु.....भन्दै’ माथिल्लो तलामा बस्ने दिदी र बीचको तलामा बस्ने बैनीसमेतलाई सम्बोधनको भाखामा बिरुडा धुन जाउ भनी गौरा गीत गाएर मुहानतर्फ जान्छन् भने बिरुडा धोइसकेपछि सर्वप्रथम लोलिका बिरुडा भनी स्थानीय देवीदेवतालाई चढाउन प्रतेक भाँडोबाट बिरुडा छुट्टाई अलग भाडोमा राखी मन्दिरका कर्मचारीहरूको जिम्मा दिइन्छ । चढाउन जम्मा गरेका बिरुडा अष्टमीको भोलिपल्ट देवालयहरूमा चढाउने र बाँकी रहेक बिरुडा प्रत्येकले आ-आफ्नो घरमा लग्ने चलन छ ।
बिरुडा धुने स्थललाई तीर्थ स्थान जत्तिकै सम्मान गरी बिरुडा धुने दिन उक्त स्थानमा स्थानीय धान, गहुँ, गुफो, गौरीघाँस, बललगायत बोटहरू उखेलेर लिई त्यसबाट गौरीको मूर्ति स्थापना गरी गौरा देवीलाई नयाँ पहिरनस्वरूप पिछौडो चढाउने चलन छ । बिरुडा घुने ठाउँमा स्थापना गरिएकी देवीलाई जेठी गौरा भन्ने चलन छ । त्यसदिन पानी परेमा महेश्वरले जितेको र नपरेमा गौरीले जितेको भन्ने गरिन्छ ।
गौरा पर्वमा पञ्चमीमा बिरुडा भिजाउने, षष्ठीमा बिरुडा धुने, सप्तमीको राति गौरा घरमा गौरा मनाउने र अष्टमीमा अठेवालीसहित गौराखालामा गौराको विशेष पूजा आराधना गरिने हुँदा यी चार दिनहरूको आफ्नै विशेष महत्व हुने गर्दछ । यहाँ विचारणीय कुरा के छ भने तिथीहरूको घट बढ नभई पञ्चमीदेखि अष्टमीसम्म लगातार चार दिनसम्म गौरा मानइएमा उक्त गौरालाई ‘वाटा गौरा’ भनिने गर्दछ तर तिथिहरूको घटबढ भई षष्ठी र सप्तमी एकैदिन परेको खण्डमा बिरुडा धोएकै दिनको राति गौरा घरमा गौरा ल्याई गौरा स्थापना गर्ने चलन रहेकाले यसलाई धोई गौरा भन्ने चलन रहेकाले बाटागौरा र धोई गौरा गरी गौराको दुईवटा भेद पाउन सकिन्छ ।
गौरा पर्वको चौथो दिनलाई अठेवाली तथा दुर्वाष्टमी भनिन्छ । अनारी गौराको वर्ष कृष्णजन्माष्टमी र गौरा पर्व एकै दिन मनाउने गरिन्छ । यो दिन महिलाहरू जम्मा भएर गौरा घरमा रहेको गौरा महेश्वरको मूर्तिलाई थप शृंगार गरी नयाँ गौरा बनाई गौरा महेश्वरको मूर्तिलाई शिरमा राखी थाली तथा मदानीसमेत साथमा लिई गायन तथा नृत्यका साथ गौराघरदेखि निस्केर गौराखलोमा जाने चलन छ । गौराखलो भनेको गौरापर्व खेल्न बनाएको ठाउँ हो जसलाई मन्दिर जस्तै पवित्रस्थानको रूपमा लिइन्छ । यस क्षेत्रमा गौराखलोको ठूलो महत्व हुनुका साथ साथै गौराखलामा जुत्ता चप्पल फुकालेरमात्र जाने र मृत-सूतक तथा महिलाको मासिक धर्म भएको छ दिनसम्म गौराखलोमा नजाने चलन रहेको छ । गौराखलोलाई गौरा मनाउनुका साथसाथै सार्वजनिक कार्यक्रम गर्ने ठाउँको रूपमा प्रयोग गरिँदै आएकाले पछिल्लो समय टोलटोलमा पवित्र गौराखलो सुधारमा जोड दिएको देखिन्छ जुन सांस्कृति प्रवर्धनका लागि सकारात्म पक्ष हो । गौराखलोमा कालो पत्थरबाट विशेष मञ्च निर्माण गरिएको हुन्छ जसलाई ‘कालोपाट’ भनी सम्बोधन गर्ने चलन छ । जुन देवताका धामीहरू बस्ने विशेष आसन हो । देवता कामेको समयमा मात्र धामीहरू कालोपाटमा गएर आफ्नो सम्बोधन गरी दर्शनार्थीलाई टीका लगाई शुभआशीष दिने गर्दछन् ।
यसरी अष्टमीको दिन गौरा पर्वको अन्तमा गौरा महेश्वरलाई चढाइएका ऋतुफल तथा पञ्च बिरूडीलाई सफा चादरमा राखेर आकाशतर्फ फालेर पाँचचोटी फलफट्काउने चलन छ । फल फट्काउँदा जसले आकाशमै भूइँमा नखसेको बिरुडा वा फलहरू प्राप्त गर्नसक्छ त्यसको राम्रो हुन्छ भन्ने मान्यता भएकाले फलफड्काउने चलन रोचक हुनुका साथै यसमा तँछाड मछाड तथा भागदौडसमेत हुन्छ । फल फट्काएपछि अन्तमा बिरुडाले मुण्डो पुज्ने चलन छ । स्थानीय भासमा शिर अथवा टाउकोलाई मुण्डो भन्ने गरिन्छ । गौरा व्रत बसेका महिलाले ‘बाघजती बलियो भए, स्याल जति मोटो भए, जोली खाट सिन् पाए, जोला पुत खेलुन पाए, जोला गाई दुन पाए, दुबाकि जिनी चौडिए, गुफाकी जिनी फुलिझे, तालुकि जिनि न्युडीझे, हिमाञ्जल हिउँ छन्ज्या सम्म बाँची रहे, मेरमन्दिरकी जिनि अटल रहे’ पञ्चमीको बिरुडो दशैँको जौंरो, दुत्याको चिउँरो सधै प्राप्त भइराखोस् भनी शुभ–आशिषका दिँदै बिरुडाले सबैको मुण्डो पुज्ने गर्दछन् । महिलाहरूले एक आपसमा पनि मुण्डो पुज्ने चलन छ । यस क्षेत्रमा गौरालाई सबैभन्दा ठूलो पर्व तथा पञ्चमीको बिरुडोलाई सबैभन्दा विशिष्ट तथा पवित्र वस्तु मान्ने चलन छ । यसरी यस क्षेत्रमा पञ्चमीको बिरुडा, दशँैको जमरा, द्वितीयाको (भाइटीका) चिउँरो प्राप्त गर्नु सौभाग्यको प्रप्तिको प्रतीकको रूपमा लिने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच