बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण कम्तीमा १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई-१ देखि अगष्ट-१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।
पिडिएमएका अधिकारी युनस मेंगलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ । बलुचिस्तानले जुलाई-१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ ।
वर्षाजन्य प्रकोपको परिणामस्वरूप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपत्काल घोषणा गरेको छ । सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिनुभयो ।
बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्ग खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताउनुभयो । रासस/एएनआई ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा