अष्ट्रेलियाका पार्कमा भयरहित अवस्थामा विभिन्न प्रजातिका चरा चरेको रमणीय दृश्य अष्ट्रेलियाको लागि भने नौलो होइन । सामूहिक रूपमा खास गरी पार्कहरूमा सुगा चरेको हेर्दा आनन्दानुभूति हुन्छ । अन्य प्रजातिका चरामा झुण्डमा चरेको र उडेको बिरलै देख्न पाइन्छ । नेपालमा भन्दा नितान्त फरक प्रवृत्ति र जीवनशैली यहाँका चरामा देखिन्छ । नेपालमा सुगा, भँगेरा जस्ता चरा अन्नको खोजीमा हुन्छन् भने अष्ट्रेलियाकमा आहाराको लागि चौरमा कलिलो भर्खरै पलाउँदै गरेको घाँसको खोजीमा हुन्छन् । हुन त यो भूगोल नै अनौठो प्रकारको छ । चराचुरुंगीको मात्रै होइन वनस्पतिमा पनि त्यस्तै विविधता पाइन्छ यहाँ तर अनौठो के छ भने नेपालमा पाइने प्रजातिका रूख बिरुवा र वनस्पति देखिँदैनन् ।
तुलनात्मक दृष्टिकोणको विकास देशभित्र रहँदाभन्दा देशबाहिर रहँदाका बखत ज्यादा हुने रहेछ । त्यसैले हुनुपर्छ देशबाहिर अध्ययनमा वा रोजगारीमा रहनेले मात्रै होइन स्थायी रूपमा नागरिकता लिने आप्रवासी जसले नेपालको नागरिकतासमेत परित्याग गरिसकेका छन् उनीहरूले नेपालको बिग्रँदो सडक, स्वास्थ्य तथा सामाजिक आर्थिक अवस्था बारे चर्को गुनासो गर्ने गर्दछन् । अष्ट्रेलियामा वनजंगलको कमी छैन तर अनौठो के लाग्छ भने हामीले नेपालमा जानेका र देखेका प्रजातिका रूख बिरुवा कतै देख्न पाइन्न । नेपालमा पाइनेभन्दा फरक पात, डाँठ र स्वरूप आदि भिन्न भएका वनस्पतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि अष्ट्रेलिया उत्तम थलो हो ।
वनस्पति रूख बिरुवा घाँसपात धेरै प्रजातिका भएजस्तै चराचुरुंगीको प्रजाति रङ, आकार, जीवनशैली आदि सूक्ष्म अध्ययन गर्ने हो भने धेरै विविधता पाइन्छ । नेपालमा पाइने चराचुरुंगीका प्रजातिको संख्या भने यहाँ अत्यन्तै न्यून छ ।
सडक छेउछाउ, पार्क जताततै वृक्षरोपण गरिन्छ । एउटै रूखका पातहरू हरिया, पहेंला, राता तथा छिर्केमिर्के आदि विभित्र प्रकारका हुन्छन् । एउटै रूखमा एक वर्ष पात पलाउने र अर्को वर्ष फूल लटरम्म फुल्ने बिरुवा देख्दा अचम्म लाग्नु स्वाभाविकै हो । यसको अर्थ अष्ट्रेलियाले सबै क्षेत्रमा अनौठो र मानवमैत्री खेती गरेको छ । वनस्पति रूख बिरुवा घाँसपात धेरै प्रजातिका भएजस्तै चराचुरुंगीको प्रजाति रङ, आकार, जीवनशैली आदि सूक्ष्म अध्ययन गर्ने हो भने धेरै विविधता पाइन्छ । नेपालमा पाइने चराचुरुंगीका प्रजातिको संख्या भने यहाँ अत्यन्तै न्यून छ । उदाहरणका लागि काग छन् नेपालमा ती कालो र खैरो–कालो रङमा पाइन्छन् । यहाँ कालो रङका काग पनि नेपालभन्दा आकारमा निक्कै ठूला देखिन्छन् । कराउँदा पनि आवाजसमेत फरक र अत्यन्तै चर्को सुनिन्छ । कालो कागका अतिरिक्त छिर्केमिर्के काग बाक्लै देखिन्छन् ।
आकारमा कुनै अति ठूला त कुनै अति साना । विस्तृत भूगोल सँगसँगै जंगलको व्यपकता र चराचुरुंगीमैत्री कानुन, व्यवस्थाका कारण हुनसक्छ अष्ट्रेलिया चराचुरुंगीको संख्या र प्रजातिका दृष्टिकोणले धनी छ । अष्ट्रेलियामा नेपालमा नदेखेका प्रजातिका थुप्रै प्रजाति छन् । यहाँ चराको सिकार कानुनद्वारा प्रतिबन्धित छ । कानुनले आफूलाई सुरक्षा दिएको विषयमा जानकार हुन् कि भन्ने झझल्को दिने शैलीमा चरा भयरहित देख्दा र यो विषयलाई नेपालसँग तुलना गर्दा अनौठो अनुभूति हुन्छ ।
चरा पनि आफ्नो सुरक्षासम्बन्धी कानुनको विषयमा जानकार भएको शैलीमा मानिससँग निर्धक्क प्रस्तुत भएको विषयले भने जोकोहीलाई आश्चर्यचकित पार्छ । मानिसले सिकार नगरेकै कारणले होला तिनीहरू मानिससँग हाम्रो घरपाला चराचुरुंगीभन्दा पनि पार्कमा चर्ने चरा मानिससँग नजिक हुन्छन् । कतियप पार्कमा भएका चराले त हामीसँग भएको खानेकुरासमेत लुट्छन् । कुनै पार्कमा मानिस जाने बित्तिकै चराले मानिसलाई घेर्छन् ।
त्यस्ता पार्कमा धेरैजसो चराहरू हातमा खानेकुरा दिएपछि पाल्तु चराचुरुंगीले जस्तै त कतिपय पार्कमा देशीविदेशी पर्यटक चरासँग खेल्न जाने गर्छन् । तिनीहरूसँग खेल्नु र जिस्किनुको छुट्टै आनन्द छ । पर्यटन क्षेत्रको विकासमा पनि चराहरूको महत्वपूर्ण भूमिका छ । पेंगुइन प्रजातिका सामुद्रमा पाइने चराहरूको अवलोकनका लागि देश विदेशबाट अनगिन्ती पर्यटक आउने गर्दछन् । यो प्रजातिका चरा उड्दैनन् । हातजस्ता पखेटाका माध्यमले समुद्रमा आफ्नो आहारा खोज्छन् । यो जाति समुद्रको नजिक जमिनमा बस्छ र भोजनको स्रोत भने समुद्र हो । पेंगुइनलाई बस्न अष्ट्रेलिया सरकारले समुद्रको किनारमा बासस्थान बनाएको छ । यिनीहरूलाई हेर्न खासखास समुद्रको किनारको भ्रमणमा विश्वभरिका पर्यटकको घुइँचो लाग्छ । यिनीहरूका प्रजातिलाई लोप हुन नदिन सरकार र अष्ट्रेलियन नागरिकसमेतको प्रयास प्रशंसनीय भन्नुपर्छ ।
पार्कहरूमा चर्न र रूख बिरुवाको फल वा फूल खान अन्य प्रजातिका चराको तुलनामा सुगाहरूको उपस्थिति भने झुण्डमा हुन्छ । यिनीहरू चर्दा र उड्दासमेत झुण्डमा उड्छन् । सुगा चर्दा होस् वा उड्दा उनीहरूको विशेषता भनेको कराउँदै, खैलाबैला गर्दै हिँड्छन् भन्नुभन्दा पनि उनीहरूको उपस्थिति संगीतमय हुन्छभन्दा अत्युक्ति हँुदैन । हामीले नबुझे पनि उनीहरू भने सधैं सांगीतिक भाषामा उपस्थित हुने उनीहरूको विशेषता हो भन्दा फरक नपर्ला । चराहरू पार्कमा चरेको कसैले देख्यो भने तिनीहरूले अन्न खोजेर खाँदैछन् भन्ने लाग्छ तर अष्ट्रेलियाका चौरमा वा पार्कमा अन्न हँदैुन । तिनीहरूले अन्न खोजेका होइनन्, घाँस चरेका हुन् ।
त्यहाँ भर्खरै पलाएको घाँसको कलिलो भागको टुप्पो र जरालाई चुचाले उधिनी-उधिनी खान तँछाडमछाड हेर्न लायकको हुन्छ । यहाँका चराचुरुंगीलाई खाना खाएपछि बाँकी रहेको खानेकुरा दिन प्रतिबन्ध छ । मानिसले आहारा दिँदा विषादीको प्रयोग हुन पनि सक्छ भनेर हुनसक्छ ढलेपडेको, उब्रेको खानेकुरा दिनु हुँदैन भन्ने सरकारको धारणाको सबैले सम्मान गर्छन् । त्यसैले यहाँका चराचुरुंगीहरू आफ्नो आहाराको खोजीमा चौरमा र रूखहरूमा फूल र फल लाग्ने बेलामा झुम्म्मिएको देखिन्छ । बाटोमा हिँड्ने मानिससँग पटक्कै डराउँदैनन् ।
नजिकै गएर जिस्यक्याउन, फोटो र भिडियो सजिलैसँग लिन सकिन्छ । धेरै रङ र आकारका सुगा देखिन्छन् । सुगाहरू घाँटीमा रातो रङ र सिउर अर्थात् टाउकोमा भने सेतो रंगका र बाँकी शरीरको तल्लो भागमा रातो रङ र पखेटालगायतको भागमा परेवाको जस्तो रङ हुन्छ ।
हरिया, पहेंलादेखि छिर्केमिर्के सुगा, धेरै ठूला र धेरै साना साथै अन्य अनगिन्ती प्रजातिका चराको दुनियाँ आफैंमा रमणीय लाग्छ । सुगामात्रै होइन अन्य धेरै चराचुरुंगीको रंग ईश्वरले कसरी भरेको होला ? यति सुन्दर बनाउने कलाकारको कलालाई देखेर आनन्दको अनुभूति नगर्ने र त्यो कलाको मुक्तकण्ठले प्रशंसा नगर्ने को होला ? अष्ट्रेलियामा मानिस तथा पशुहरूले मात्रै होइन चराहरूले समेत सुरक्षित अनुभव गरेको देख्दा पनि हुनसक्छ ।
सरकार इमानदार भएर जनतालाई पहिलो प्राथमिकतामा राख्ने काम भयो भने देश समृद्ध हुनसक्ने रहेछ । त्यसको सकारात्मक प्रभाव नागरिकमा मात्रै सीमित हुने रहेनछ भन्ने उदाहरण हुन् यी चराचुरुंगी, जो भयरहित भएर एक्लाएक्लै वा सामूहिक रूपमा आहाराको प्रबन्ध गर्दै रमाएका छन् ।
परिणामस्वरूप अष्ट्रेलियाले संसारभरका विद्यार्थीलाई आकर्षणमात्रै होइन अष्ट्रेलियाले आप्रवासी नागरिकको रूपमा सबैलाई अष्ट्रेलियामा घरबास जोड्न उत्प्रेरित गरेको छ, आफ्नो देशलाई विकसित र उन्नत देशमा रूपान्तरण गर्न सफल भएको छ । भनिन्छ एउटा सफलताले अरू धेरै सफलताहरूलाई आमन्त्रित गर्छ । अष्ट्रेलियामा पनि यो सिद्धान्त लागू छ । नेपालमा देखिने चरामा उस्तै आकार र रङ भएको डांग्रेमात्रै देखियो । भँगेरो जस्तै तर रंगीन भँगेराहरू पनि देखियो । सरकार इमानदार, जवाफदेही र कामप्रति समर्पित भयो, कानुनी व्यवस्थालाई चुस्त दुरुस्त राख्न सक्यो भने मानिसमात्रै होइन पशु, चराचुरुंगीसमेतले सुरक्षित भएको अनुभूति गर्न सक्दा रहेछन् । यदि सरकार इमानदार भयो र जनतालाई पहिलो प्राथमिकतामा राख्ने काम भयो भने देश समृद्ध हुनसक्ने रहेछ ।
त्यसको सकारात्मक प्रभाव नागरिकमा मात्रै सीमित हुने रहेनछ भन्ने उदाहरण हुन् यी चराचुरुंगी जो भयरहित भएर निर्धक्क एक्लाएक्लै वा सामूहिक रूपमा आफ्नो आहाराको प्रबन्ध गर्दै रमाएका छन् । त्यो अनुभूति नेपालमा नेपाली नागरिकले कहिले पाउने भन्ने चिन्ता लिएर घुम्नुपर्ने अष्ट्रेलिया भ्रमणलाई आनन्ददायी भन्ने कि कष्टकर ? अष्ट्रेलियामा मानिसले मात्रै होइन पशु र चराचुरुंगीसमेतले सुरक्षित भएको जानकारी प्रवाह गर्दैगर्दा र नेपालसँग तुलना गर्दै गर्दा नेपालमा बारम्बार हुने मानव अधिकारको हननका समाचारले यहाँका नागरिकले उपभोग गरेको विभिन्न सुविधासँग तुलना गर्दै आफ्नो अवस्था र व्यवस्था सम्झँदा मनमा औडाहा हुन्छ ।
त्यसैले अष्ट्रेलियाको अवस्था र व्यवस्थाको गहिरिएर अध्ययन र अनुसन्धान र नेपालको अवस्थासँग तुलना गर्दैगर्दा कष्टहरू बोकेर फर्कनुपर्ने अवस्थाले भ्रमणको आनन्दभन्दा पीडाको अनुभूति दिने अवस्थासँग जिम्मेवार किन लज्जित हुँदैनन् ? अष्ट्रेलियाले आफ्ना नागरिकका लागि शिक्षा, स्वास्थ, बाटोघाटो, पानी, बिजुली, ग्यास आदिको सुप्रबन्ध गरेर निर्वाध सेवा उपलब्ध गराउन सक्छ । तर, हाम्रो सरकार ती सेवाहरूको सुप्रबन्ध गर्न सधैं किन असफल छ ?
यो विषयले अष्ट्रेलिया भ्रमण गर्ने जोकोहीलाई घोच्छ र पोल्छ पनि । न्यूनतम् मानवीय आवश्यकतासँग सम्बन्धित सेवासम्म उपलब्ध गराउन असफल र अक्षम सरकारहरूका प्रयासले देश विकास हुन्छ भन्ने हाम्रो भ्रमले सधैं धोका खाएको छ । सरकार न्यूनतम् सेवासुविधा दिन सधैं असफल हुँदा हाम्रो राजनीति र कानुन व्यवस्थाप्रति नागरिक विश्वस्त हुन नसकेको अवस्थामा सुधार कहिलेसम्म भन्ने प्रश्न अनन्तकालसम्म किमार्थ अनुत्तरित हुनुहुँदैन । (अष्ट्रेलियाको मेलबर्न शहरको ओलर्टबाट)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा