
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (मंगलबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
शहरमा गाई पाल्नेहरूले गाईलाई सिँगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीविरंगी कपडा, मुखुण्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ ।
नेवार समुदायले मनाउने यो पर्व पुत्र वियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । तर, संस्कृतिविद् भने प्रताप मल्लको शासनकालभन्दा ३०० वर्ष अघिबाटै उक्त पर्व मनाउन थालिएको बताउँछन् । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।
गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ । यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । किनभने यसदिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् । त्यसैगरी, मृत्यु भएका आफन्तको सम्झनामा दीन दुःखीलाई दान दिने चलन छ । यो पर्व जहाँजहाँ नेवारहरूको बसोबास छ त्यहाँ विशेष रूपमा मनाइएको पाइन्छ ।
काठमाडौं उपत्यकालगायत मुख्य रूपमा नेवार समुदायको बाक्लो बस्ती रहेका शहर बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा र पाल्पामा यो पर्व मनाइन्छ ।
मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छ भन्ने जनधारणाका कारण गाईजात्राको दिन गाई घुमाइन्छ । यसदिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ । काठमाडौं टोलटोलमा पु¥याएर घुमाउँदै आफ्नो घरमा फर्कने गर्छन् ।
ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पालादेखि यो पर्वका रूपमा चलेको पाइन्छ । तत्कालीन मल्ल राजाले जनताको अभिव्यक्ति के कस्तो किसिमको छ ? भन्ने कुरा जान्नका लागि यो चलन चलाएका रहेछन् । त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन समाज आदिका समसामयिक विषयमा निर्धक्कसाथ बोल्न र हिँड्न पाउने अधिकार दिए । यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगत प्रकाशले सुरुवात गरे । त्यस बेलादेखि जनताले गरेका आलोचनाहरू राजाका गुप्तचरहरूले बटुली राजासमक्ष पेस गर्दथे । त्यस बेलाका शासकहरूलाई आफूले गल्ती गरेको गलत कानुन र शासन व्यवस्थालाई सुधार गर्दै लग्ने अवसर पाएका थिए ।
यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो । पछि राजा र जनताका बीच छलफलको लागि एक सन्देशमूलक रूपमा गाईजात्राको परम्परा सुरुवात भयो । काठमाडौं उपत्यकामा गाईजात्रा सुरु भएको छ । नेवार समुदायले मनाउने यो पर्व अलि लामै समय चल्छ ।
हास्यव्यंग्य
गाईजात्रा ठाउँअनुसार मनाउने चलन पनि अलि फरक-फरक खालको छ । हाँसो, व्यंग्य र मनोरञ्जनको पाटो पनि छ यसमा । नेपालमा केही दशकदेखि यही अवसर पारेर गाईजात्रा भन्दै हास्यव्यंग्य गर्ने चलन पनि चलेको छ । गाईजात्रा पर्व मनाउने क्रममा केही वर्षयता केही नयाँ चलन पनि थपिँदै आएका छन् । घरमा कोही पनि नमरेका परिवारले पनि विशुद्ध मनोरञ्जनका लागि भए पनि यो चाड मनाउन थालेका छन् । अनुहारमा मुकुण्डो लगाएर वा मुखमा अनेकौँ चित्र कोरेर अथवा जोगीको भेषमा थोत्रो लुगा लगाएर मानिस सडकमा निस्केको देखेर त्यसलाई हेर्ने जो कोहीलाई हाँसो उठ्नु स्वाभाविक हो ।
विकृतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत
गाईजात्राकै नाममा कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखी रूपमा जस्ताको तस्तै रूपमा छर्लंग पारिदिने गरेका छन् कलाकारहरूले । यस पर्वमा सामाजिक एवं राजनीतिक विकृतिहरूलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिन्छ । अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरू नजिकिँदै गरेको संकेत पनि गर्दछ । पारिलो घाम, उज्याला दिनहरू, चिसिँदै गरेका बतास अनि खेतको सकिएको रोपाइँ । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।
भक्तपुरमा छुट्टै रौनक र आकर्षण
उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण रहेको छ । त्यहाँ आजदेखि आठ दिनसम्म यो पर्व चल्दछ । भक्तपुरमा गाईजात्राका दिन एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको ‘साँचा’ अर्थात् डोकोलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिको ‘ताहामच्चा’ अर्थात् चारवटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गर्ने चलन छ । त्यहाँ हुने ‘घिन्ताङकिसी’ र ‘माँक प्याखँ’ अर्थात् बाँदर नाच गाईजात्राको अर्को विशेषता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच