
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री देउवाले सोमबार बेलुकी नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्नुभएको हो । उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।
परराष्ट्र स्रोतका अनुसार ओलीले यस पटक प्रधानमन्त्री भएपछि आफू पहिला भारत जाने भन्दा पनि भारतबाट प्रधानमन्त्री मोदीलाई पहिलो नेपालमा स्वागत गर्ने र त्यसपछि मात्र नयाँ दिल्लीको भ्रमण गर्ने योजना बताउनुभएको छ । ‘त्यही योजनाअनुसार परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गर्नुभएको हो,’ परराष्ट्रका एक अधिकारीले भन्नुभयो ।
उक्त शिष्टाचार भेटमा दिल्लीस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि उपस्थित हुनुहुन्थ्यो । उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा हुनुहुन्थ्यो । भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुनुहुन्थ्यो ।
भारतीय विदेशमन्त्रीको प्रतिक्रिया- फलदायी भेट भयो, सम्बन्ध सुदृढ हुनेछ
नेपालकी परराष्ट्र मन्त्री आरजु देउवा र भारतीय समकक्षी डा. एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार नयाँ दिल्लीस्थित हैदरावादमा भएको भेटवार्तापछि परराष्ट्रमन्त्री आरजु देउवाले नेपाल-भारतबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताउनुभएको हो । ’नयाँ दिल्लीमा हामीबीच फलदायी भेटवार्ता भयो,’ उहाँले लेख्नुभएको छ, ‘हामीले द्विपक्षीय चासोका विषय, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान-प्रदानबारे छलफल गर्यौं । यो भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धलाई थप सुदृढ बनाउनेमा म विश्वस्त छु ।’
सामाजिक सञ्जाल एक्समै भेटवार्ताबारे पोस्ट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले ऊर्जा, व्यापार, यातायात र पूर्वाधारसहित दुवै देशका अन्य धेरै बहुआयामिक विषयमा सहकार्यबारे छलफल भएको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ्, ‘नेपालकी परराष्ट्रमन्त्री आरजु देउवालाई पहिलो आधिकारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी छु । ऊर्जा, व्यापार, यातायात र पूर्वाधार विकाससहित नेपाल–भारतको बहुआयामिक सहकार्यबारे छलफल गर्यौं ।’ उहाँले नेपालले करिब एक हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने तयारी गरेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ, ‘छिमेकी पहिले नीति र जनस्तरको विशेष सांस्कृतिक सम्बन्धले हाम्रो सम्बन्धलाई अझ अघि बढाइरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच