
काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता भएको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काभा महिला भलिबल लिगमा सहभागी १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । यस्तै, बैठकले टोलीका मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले वार्षिक १०० जना श्रमिक वैदेशिक रोजगारीमा नपठाउने मेनपावर कम्पनीलाई अन्तिम एक पटकका लागि नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१/०८२ का लागि नवीकरण गर्न आए अन्तिम एक पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार यस्तो कम्पनीको संख्या ४१७ रहेको छ ।
यस्तै, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
त्यस्तै, बैठकले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने, राजस्व न्ययाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१-०८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृत स्तरका पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।
मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको बताउनुभयो ।
आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण तय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधि मण्डललाई भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आइतबार (भदौ २) बिहान साढे ११ बजे परराष्ट्रमन्त्री राणा भारत जाने कार्यक्रम तय भएको छ । उहाँ चार दिने भ्रमणका लागि भारत जान लाग्नुभएको हो । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले मंगलबार समकक्षी एस. जयशंकरसँग भेटवार्ता गर्नुहुने छ । उहाँको यो भेट नयाँदिल्लीमा हुनेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि परराष्ट्रमन्त्री राणाको भेटघाट गराउने तयारी भएको छ । यद्यपि, अहिलेसम्म मोदीसँगको भेटबारे कुनै औपचारिक कार्यक्रम भने तय भइसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै मोदीलाई नेपाल ल्याउने गरी तयारी भइरहेको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भ्रिगु ढुंगाना, उपसचिव सिर्जना अधिकारीलगायत भारत जानुहुने छ । आइतबार भारत प्रस्थान गरेर परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनु हुनेछ ।
५९ जना सहसचिवहरूको सरुवा
सरकारले ५९ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उहाँ यसअघि नै काजमा आएर प्रधानमन्त्रीको निजी सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएको छ ।
यसैगरी बागमतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा आउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहनुभएका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई पनि अर्थमा पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमै सरुवा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालयमा पुग्नुभएको छ ।
महावाणिज्य दूत बनाउने तयारीसहित चार सहसचिव परराष्ट्र मन्त्रालयमा पुगेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा पुग्नुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहनुभएका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा हुनुभएको छ । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुग्नुभएको छ ।
अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । भन्सार विभागका उपमहानिर्देशक रहनुभएका रामकुमार महतो पनि लोकसेवा आयोगमा पुग्नुभएको छ । सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ भने टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, भ्रष्टाचार मुद्दामा मुछिनुभएका अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आउनुभएको छ । रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नुभएको छ भने ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुग्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नभएको छ । सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । लामो समदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्नुभएका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ । बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुनुभएको छ । कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतमा ल्याइएको छ ।
बागमतीको प्रदेश लोकसेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा र सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा हुनुभएको छ ।
सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नुभएको छ । रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा हुनुभएको छ । सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।
यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा सरुवा हुनुभएको छ भने पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ ।
महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्रमा पुग्नुभएका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । उहाँसँगै परराष्ट्र जानुभएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा हुनुभएको छ भने सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुग्नुभएको छ ।
सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाउनुभएको छ । सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहनुभएका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा हुनुभएको छ भने गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ ।
सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा हुनुभएको छ भने भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा हुनुभएको छ । सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आउनुभएको छ ।
कोलकातामा महावाणिज्यदूतका रुपमा कार्यकाल पूरा गरेर फर्कनुभएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ । लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले राष्ट्रपति कार्यालयमा जिम्मेवारी पाउनुभएको छ ।
चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा हुनुभएको छ भने दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाउनुभएको छ भने ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच