
यही साउन ६ गते वेदव्यास जयन्ती अर्थात् गुरुपूर्णिमा थियो । त्यही दिन जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस थियो भने भोलिपल्ट साउन ७ गते कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस । त्यसैले साउन ६ गतेका आसपासका दिनहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिए । विद्यार्थीहरूले गुरु पूजनको कार्यक्रम गरे भने कांग्रेसी र प्रजातन्त्रवादीहरूले विश्वेश्वरप्रसादलाई सम्झने काम गरे । आफूलाई कम्युनिष्ट भन्नेहरूले पुष्पलालका सम्मानमा उनलाई सम्झँदै विभिन्न थरिका कार्यक्रमहरू सम्पन्न गरे । कम्युनिष्ट पार्टीका अनेक घटक भएका कारण आफंैलाई पुष्पलालको असली अनुयायी भएको सिद्ध गर्ने प्रयासहरू भए ।
यो आलेखमा राजनीतिक महापुरुषहरूको चर्चा गर्ने ध्येय राखिएको छैन । हाम्रै संस्कृति र परम्परामा आधारित गुरुपूजनका बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । गुरु पूर्णिमा गइसकेको हुँदा गुरु पूर्णिमाको महत्व, गुरुको स्थान, विद्यार्थीको कर्तव्य आदिका बारेमा समेत केही उल्लेख गरिने छैन तर गुरुपूजनकै क्रममा देखिएका केही सकारात्मक र केही नकारात्मक दृश्यहरूका सन्दर्भमा उल्लेख गर्न आवश्यक देखिएकाले राजधानीमा सम्पन्न दुई कार्यक्रमहरूका बारेमा संक्षेपमा चर्चा गरिनेछ । वाल्मीकि विद्यापीठमा सम्पन्न कार्यक्रम चर्चित हुनुपर्ने थियो तर त्यसै बिलायो । संस्कृत केन्द्रीय विभाग, त्रिविमा सम्पन्न कार्यक्रम लुकाइनुपर्ने थियो तर ज्यादै चर्चित बनेको छ । दुवै कार्यक्रमहरूको उद्देश्य सफा थियो, आयोजकहरूको मन पवित्र थियो तर सानो त्रुटिले गर्दा एउटा कार्यक्रमका बारेमा निकै टीकाटिप्पणी भइरहेको छ । आवश्यकभन्दा पनि बढी त्यो कार्यक्रमका सन्दर्भमा तिललाई पहाड बनाउने काम भइरहेको अनुभूति हुनपुगेको छ ।
हाम्रा परम्परा बमोजिम गुरु पूजन गरिँदा शिष्यहरूको कर्तव्य त पूरा भयो तर सचेत नागरिकको दायित्व भने बाँकी नै रहेजस्तो लागेको छ । यो कार्यक्रम जसरी गरियो, त्यो हेर्दा आधुनिक भनिएका निजी विद्यालयका विद्यार्थीहरूका माझमा लगेर यिनै गुरुहरूलाई सम्मान गरेको भए फलदायी हुन्थ्यो जस्तो लागेको छ ।
गुरु पूर्णिमाका दिनमा देशभरका विद्यालय र क्याम्पसहरूमा गुरु पूर्णिमा सम्बद्ध कार्यक्रमहरू सम्पन्न भए । सामुदायिक र सरकारी विद्यालय तथा क्याम्पसहरूमा सामान्य रूपमा विद्यार्थीका गच्छे अनुसार कार्यक्रमहरू गरे । कतिपय निजी विद्यालयहरूमा विद्यालयले नै उर्दी जारी गरेर विद्यार्थीका अभिभावकहरूबाट पैसा उठाई भव्य कार्यक्रमहरू भए भने कतिपय विद्यालयहरूमा स्वेच्छाले भए । अरू कुनै कार्यक्रमको चर्चा परिचर्चा छैन तर त्रिभुवन विश्वविद्यायको केन्द्रीय संस्कृत विभागमा सम्पन्न कार्यक्रम भने व्यानरमा लेखिएको हिज्जेका कारण ज्यादै विवादित बन्नपुगेको छ ।
कार्यक्रम १
वाल्मीकि विद्यापीठको न्याय विभागले गुरु पूजनको कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ९० वर्ष नाघेका प्रा.चेतनाथ आचार्य एवं उमेरले ८० कटेका प्रा.विद्यानाथ उपाध्याय, प्रा.डा.दीर्घराज घिमिरे र प्रा.शिवहरि मरहट्टालाई सम्मान गरियो । सम्मान प्राप्त गर्नेहरूमा न्याय विभागले आयोजना गरेको कार्यक्रम भएको हुँदा सबै न्यायकै विद्वान्हरू हुनुहुन्थ्यो । पदेन नैयायिक भए पनि उल्लिखित सबै विद्वान्हरूलाई प्राच्यदर्शनका साधक भन्न मिल्दछ । न्यायका अतिरिक्ति संस्कृतका अनेकन विधामा उहाँहरूको दक्षता भेट्न सकिन्छ । साथै कार्यक्रमका प्रमुख अतिथि महासमालोचक उपाधिले विभूषित प्रा.डा.वासुदेव त्रिपाठीलाई समेत सम्मान गरिएको थियो ।
महर्षि वेदव्यास जयन्ती तथा गुरु पूर्णिमा २०८१ का उपलक्ष्यमा आयोजित गुरु अभिनन्दन समारोह नाम दिएर आयोजित उक्त कार्यक्रम साँच्चिकै सुन्न र हेर्न लायक थियो । कार्यक्रम वाल्मीकि विद्यापीठकै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूका माझमा सम्पन्न गरियो तर उक्त कार्यक्रममा सहभागी भएपश्चात् प्रायः सबैलाई यो कार्यक्रम सार्वजनिक स्थानमा गरिनु पर्दथ्यो भन्ने अनुभूति भएको हुनसक्दछ । जसलाई धेरथोर गुरु पूजनका बारेमा जानकारी छ, उनीहरूकै माझमा हाम्रा परम्परा बमोजिम गुरु पूजन गरिँदा शिष्यहरूको कर्तव्य त पूरा भयो तर सचेत नागरिकको दायित्व भने बाँकी नै रहे जस्तो लागेको छ । यो कार्यक्रम जसरी गरियो, त्यो हेर्दा आधुनिक भनिएका निजी विद्यालयका विद्यार्थीहरूका माझमा लगेर यिनै गुरुहरूलाई सम्मान गरेको भए फलदायी हुन्थ्यो जस्तो लागेको छ ।
गुरुहरूप्रति श्रद्धा अर्पण गर्ने क्रममा वेदका ऋचा घन्किए । गुरुहरूलाई माला र टीकाले पूजा गरियो । गुरुहरूका सामुन्ने मिठाई र फलफूल राखेर गुरुहरूमा प्रसाद अर्पण गरियो । थोरै नै भए पनि खाममा केही न केही दक्षिणा राखेर गुरुहरूमा गुरुदक्षिणा अर्पण गरियो । अभिनन्दन पत्र वाचन गरेर गुरुहरूका कीर्तिगान गरियो । गुरुलाई ब्रहृमा, विष्णु र महेश्वरका अवतार मान्ने स्तुतिगान गर्दै वैदिक परम्परा अनुसार नै पूजा गरियो भन्दा हुन्छ । समग्रमा भन्नुपर्दा यो गुरुपूजन उदाहरणीय थियो र सञ्चारमाध्यमहरूद्वारा प्रचारप्रसार गर्न योग्य थियो तर यसले पाउनुपर्ने चर्चा पाउनै सकेन । नेपालमा मात्र नभई विश्वमै नकारात्मक घटना परिघटनाहरू आगोसरी फैलिने र सकारात्मक क्रियाकलापहरूले चर्चा पाउन मुस्किल पर्ने गरेको छ ।
न्याय विभागका अध्यक्ष प्रा.जगत् उपाध्याय संस्कृत विश्वविद्यालयको कुलसचिव र प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव भइसकेका ऊर्जावान् प्राध्यापक हुन् । उमेरले ५० काटेका भए पनि उनमा २५ को सक्रियता देखिन्छ । रचनात्मक कार्यक्रमका योजना उनी पस्किन्छन् र यो विभागका सदस्यहरू वाल्मीकि विद्यापीठको प्राध्यापक संघका सभापति घनश्याम भण्डारी, सहायक प्राचार्यहरू अच्युत लामिछाने र रमा भट्टराई, डा.रामप्रसाद पौडेल जस्ताले उनलाई साथ दिएको देखिन्छ । सबैको नाम उल्लेख गर्न सम्भव भएन, सम्पूर्ण न्याय विभागका साथै विकास, कार्यक्रम र उन्नयनमा सक्रिय प्राचार्य प्रा.डा.भागवत ढकालसमेतको सहयोगमा सम्पन्न यो कार्यक्रमका लागि न्याय विभाग स्तुत्य छ । यसका लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्तो कार्यक्रम पुनः आयोजना गरियोस् र सञ्चारमाध्यमहरू समेतको सहभागितामा हाम्रा पारम्परिक पद्धति सिकाउन पर्ने स्थानमा आयोजना गर्न अनुरोध गर्दछु ।
कार्यक्रम २
संस्कृत केन्द्रीय विभाग, त्रिविका विद्यार्थीहरूले पनि गुरुहरूको सम्मानमा पवित्र कार्यक्रमको आयोजना गरे तर व्यानरमा लेख्दा भएको सामान्य त्रुटिका कारण ज्यादै विवादित हुनपुग्यो । ‘गुरु पूर्णिमा’ लेखिनुपर्नेमा ‘गुरु पुर्णीमा’ लेखिएका कारण संस्कृत विभागका शिक्षकहरूदेखि लिएर विद्यार्थीहरूको समेत हुर्मत लिने काम भइरहेको छ । यतिसम्म कि जसले त्यसैगरी गुरु पूर्णिमासम्म लेख्न जान्दैन उसैले पनि उक्त ब्यानर बनाउनेहरूलाई उडाइरहेको छ । ‘क’ देखि ‘ज्ञ’ सम्म कण्ठस्थ सुनाउन नसक्नेहरूले समेत खिल्ली उडाइरहेका छन् । आफूले पढेको विषयमा एकपृष्ठ शुद्ध लेख्न नसक्ने प्राध्यापक तथा शिक्षकहरूले पनि ती विद्यार्थीहरूमाथि आरोपको वाण तेस्र्याइरहेका छन् ।
संस्कृतबाट सृजित नेपाली भाषालाई मूलबाट विच्छेद हुन नदिई नेपाली भाषाको मानक तयार हुन पुनः जरुरी देखिन्छ । नेपाली लेख्न र बोल्न नै नजान्नेहरूको रजगज जताततै हुने परिस्थितिबाट मुलुकलाई मुक्त बनाउँदै नेपाली भाषाको सम्मान राज्यले गर्ने अवस्था सिर्जना गर्नै पर्दछ ।
उक्त कार्यक्रमलाई उडाउने क्रममा फेसबुकमा विचित्रका टिप्पणीहरू देख्न पाइन्छ । व्यंग्य गर्दै पोष्ट गरिएका सामग्रीहरूका प्रत्येक शब्द अशुद्ध छन् र पनि जान्नेसुन्ने बनेर अर्काको बेइज्जत गर्न मान्छेहरू अघि सरिरहेका छन् । स्नातक तह पार गरेकाहरूको लेखाइ अवश्यै शुद्ध हुनुपर्दछ । त्यसमाथि संस्कृत पढ्नेहरूको लेखाइ, बोलाइ र पढाइ अब्बल हुनै पर्दछ भन्नेमा कुनै विवाद छैन तर त्यसप्रकारको गल्ती कसरी हुनपुग्यो भन्ने कुराको जगमा नपुगी हल्लैहल्लाका भरमा संस्कृतका शिक्षकहरू र विद्यार्थीहरूको दोहोलो काढ्ने काम भइरहेको छ ।
विगतमा स्नातक उत्तीर्णहरूले माध्यमिक तहसम्म पढाउने अनुमति पाउने गर्दथे भने अहिले स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने नियम छ । यस्तो योग्यता हासिल गरेकाहरूको योग्यता हल्काफुल्का भयो भने ती विद्यार्थीको स्नातक तहको उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरूमाथि पनि प्रश्न उठ्छ नै । विद्यार्थी स्वयं परीक्षणको कठघरामा त पर्दछ नै साथसाथै उसलाई उत्तीर्णको उपाधि दिने सबै सम्बद्ध व्यक्ति र संस्थाहरूसमेत सहजै उम्कन मिल्दैन । अहिलेसम्म भएका कमी कमजोरीहरूको मूल्यांकन गर्दै आगामी दिनमा त्यस्ता गल्ती हुनै नहुने योजना बनाउन सक्नुपर्दछ ।
यस्तो परिस्थिति कसरी निर्माण भयो त ? राज्यले ने नेपाली भाषालाई अपहेलना गर्दै आउँदा अहिलेको परिस्थितिमा नब्बे प्रतिशत शुद्ध लेख्ने स्नातकहरूको त कुरै छाडौं नेपाली भाषामै विद्यावारिधि गरेकाहरू पनि पाउन कठिन भइसकेको छ । लोक सेवा आयोगले परीक्षामा नेपाली हटाउनु एक मुख्य कारण हो । लाखौंका बीचबाट छानिएका भनिएका अधिकृतहरू र सचिव भइसकेका ठूलाठालुहरूको लेखाइ हेर्न अन्त जानै पर्दैन, आजभोलिको सामाजिक सञ्जालले देखाइरहेकै छ । यस्तो अवस्थामा अध्ययन गर्दै गरेका विद्यार्थीहरूमात्रै तारो बनाइनुले कुनै सकारात्मक परिणाम दिन सक्दैन । बरू नेपाली कसरी शुद्ध लेख्न लगाउने भन्ने नीति नै राज्यले अवलम्बन गर्नुपर्ने देखिन्छ ।
विद्यावारिधि गरेर वर्षौं प्राध्यापन गरेका र दर्जनौं विद्यार्थीहरूलाई विद्यावारिधि गराइसकेकाहरू मध्ये कसैले ‘माधवप्रसाद’ लेख भन्छन् भने कसैले ‘माधव प्रसाद’ लेख्न उर्दी जारी गर्दछन् । ‘शुरु’ लेख्दै आएका हामीहरू आजभोलि ‘सुरु’ लेख्न बाध्य भएका छौं । तत्सम र तद्भव आदिको व्याख्या गर्दै सामान्य लेखपढ गर्न जान्नेले बुझ्नै नसक्ने गरी नेपाली लेखाइलाई विकृत बनाइएको छ । नेपाली भाषाको जननी संस्कृतको जरो नै नेपाली भाषाबाट उखेल्ने प्रयासस्वरूप के के गरिएको हो बुझ्नै नसक्ने भएको छ ।
त्यसैले संस्कृतबाट सृजित नेपाली भाषालाई मूलबाट विच्छेद हुन नदिई नेपाली भाषाको मानक तयार हुन पुनः जरुरी देखिन्छ । नेपाली लेख्न र बोल्न नै नजान्नेहरूको रजगज जताततै हुने परिस्थितिबाट मुलुकलाई मुक्त बनाउँदै नेपाली भाषाको सम्मान राज्यले गर्ने अवस्था सिर्जना गर्नैपर्दछ । अंग्रेजी शुद्ध हुनैपर्दछ तर नेपाली बुझे पुग्छ भन्ने मान्यताबाट नेपाली समाज र राज्य दुबै मुक्त हुनु नै अहिलेको आवश्यकता हो ।
नेपाली लेख्न र बोल्न नै नजान्नेहरूको रजगज जताततै हुने परिस्थितिबाट मुलुकलाई मुक्त बनाउँदै नेपाली भाषाको सम्मान राज्यले गर्ने अवस्था सिर्जना गर्नैपर्दछ । अंग्रेजी शुद्ध हुनैपर्दछ तर नेपाली बुझे पुग्छ भन्ने मान्यताबाट नेपाली समाज र राज्य दुबै मुक्त हुनु नै अहिलेको आवश्यकता हो ।