
काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आइकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नेसहित पाँचवटा निर्देशन दिएको हो । नेपालको हवाई सुरक्षा, आइकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आइकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिनुभएको हो ।
अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिनुभयो । बैठकमा आइकाओको सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र समितिमा बुझाउन निर्देशन दिँदै सभापति यादवले प्राधिकरण टुक्र्याउने विधेयक कहाँ कस्तो अवस्थामा छ जानकारी उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ । बैठकमा नेपालका एयरलाइन्सले बिजनेस किन नपाउने भन्नेसमेत सरकारलाई समितिले प्रश्न गरेको छ । इयुको कालोसूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क-कसको चलखेल भएको हो स्पष्ट तथ्य पेस गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।
सरकारलाई निर्देशन दिँदै समिति सभापति यादवले भन्नुभयो, ‘आइकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । इयु सेफ्टी लिष्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा इयु सेफ्टी लिष्टमा कति दिनमा हामी च्यानपेन हुन्छौँ । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु ।’
कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिँदै सभापति यादवले भन्नुभयो, ‘कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलान्इस नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान के-के गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्योसम्बन्धी के-के गर्नुपर्छ र मैले यसरी काम गर्दै छु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु ।’ समितिले पोखरामा भएको यती एयरलाइन्स दुर्घटनाको छानविन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
सांसद जबराको महाप्रबन्धकलाई प्रश्न : ‘जहाज दुर्घटनाको जिम्मेवारी लिनुपर्दैन ?’
सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाउनुभएको छ । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेयता मात्र सातवटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै सांसद जबराले भन्नुभयो, ‘नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका छन् । सन् १९९६ यता साना ठूला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाजसमेत आठवटा परे । आन्तरिक त सबैजसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन् । प्राधिकरणमा तपाईँकै नेतृत्व आएयता मात्र सातवटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’ प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराको भनाइ छ । सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानविन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने मागसमेत जबराले राख्नुभएको छ । सांसद जबराले अध्यादेशबाट भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा अलग्याउनुपर्ने सुझाव दिनुभयो । सत्तारूढ दल नेकपा एमालेका सांसद एकनाथ ढकालले बुधबार दुर्घटना भएको सौर्य एयरलायन्सको विमानमा अनधिकृत व्यक्तिहरूको प्रवेशबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । पूर्व-पर्यटनमन्त्रीसमेत रहनुभएका सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स दुर्घटनाको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभयो ।
संसदीय समितिको प्रश्नमा पन्छिए प्राधिकरणका महानिर्देशक
सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले प्रश्न गरेपछि नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिनुभएको छ । १८ जनाको मृत्यु हुनेगरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चा सहितका बाहिरी व्यक्तिहरू कसरी परे ? भन्दै पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले प्रश्न गर्नुभएको थियो । तर, महानिर्देशक अधिकारीले घटनाको सम्बन्धमा छानविन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काउँदै भन्नुभयो, ‘घटना घटिसकेको छ, सरकारले पाँच सदस्यीय छानविन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै (प्राधिकरणसमेत) अनुसन्धानको दायरामा छौँ । आयोगले सत्यतथ्य छानविन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’ तर, बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजले नियमित चेकजाँच (सी-चेक) का लागि पुनः फ्लाइट गरेको दाबी गरिएको छ । त्यो खालको फ्लाइटमा बाहिरका व्यक्तिहरू कसरी परे ? भन्ने प्रश्न समितिले गरेको छ । यसमा थप स्पष्ट पार्ने प्रयास गर्नुभएका प्राधिकरणका प्राविधिक मुकुल मिश्रले बुधबारको सौर्य फ्लाइट ‘फेरि फ्लाइट’ नै भए पनि कम्पनी फ्लाइटको रूपमा रहेकाले यसलाई सामान्य मानिने दाबी गर्दै भन्नुभयो, ‘अन्तर्राष्ट्रिय हवाई नियमअनुसार कम्पनीले फ्लाइट गर्न पाउँछ । सौर्य एयरलाइन्सको पनि यही हो, स्वीकृति र अरू प्राविधिक पक्षको मुद्दामा छानविन आयोगले स्पष्ट छानविन गर्ला नै ।’
सभापति यादव र सांसद किराँतीबीच भनाभन
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व–पर्यटनमन्त्री सुदन किराँतीबीच चर्काचर्की भएको छ । बिहीबार बसेको समितिको बैठकमा समिति सभापति यादवले समय कम रहेकाले सांसद किराँतीलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गर्दै भन्नुभयो, ‘विषयमा केन्द्रित भएर राख्नुहोस् ।’ लगत्तै विषयभन्दा बाहिर नगएको भन्दै किराँतीले भन्नुभयो, ‘तपाईंले बुझ्न समस्या भयो ।’ लगत्तै सभापति यादवले भन्नुभयो, ‘माननीयज्यूले हद पार गर्नुहुन्छ ।’ किराँतीले चार÷चारवटा विषयमा बोल्नुपर्दा लामो भएको र आफूले छोट्याएको समेत जिकिर गर्दै भन्नुभयो, ‘तपाईं दोहोरो संवाद गरेर समय नष्ट गर्ने, एजेण्डा राखेपछि हामीले बोल्न नपाउने ?’ नयाँ मन्त्रीसँग चारवटा विषयमा किन छलफल राखेको भन्दै प्रश्न गर्नुभएका सांसद किराँती आफू नबोल्ने भन्दै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच