
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । लामाले कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
प्रदेश प्रमुख शर्माले मंगलबार ५ बजेभित्र संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आहृवान गर्नुभएको हो । नुवाकोटका लामा बागमतीको पाँचौँ मुख्यमन्त्री हुुनुहुन्छ । उहाँको आज (बुधबार) ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले आजै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रिपरिषद्लाई एकैपटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।
एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ । एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ । त्यस्तै, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ । कांग्रेसका मन्त्रीहरूको नाम आज बिहानसम्म टुंग्याइसक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।
लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलोपटक नेतृत्व गर्ने अवसर पाएको छ । यसअघि एमालेले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।
को हुनुहुन्छ लामा ?
गाविस अध्यक्षदेखि मुख्यमन्त्री सम्मको यात्रा
२०२७ कात्तिक ८ गते बुवा दीपबहादुर र माता पूर्णिमायाको कोखबाट नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिनुभएका बहादुरसिं लामा कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा लाग्नुभएको हो । हाल उहाँ कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा हुनुहुन्छ । सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गर्नुभयो भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गर्नुभयो । यस्तै, काठमाडौंको शंकरदेव क्याम्पसबाट उहाँको स्नातक सम्मको उच्च शिक्षा पूरा भयो । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उहाँ पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति हुनुभयो । २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुनुभएको थियो ।
यस्तै, १४औँ महाधिवेशनमा पनि उहाँले केन्द्रीय सदस्यमा निरन्तरता पाउनुभयो । २०६४ सालमा नुवाकोट क्षेत्र नम्बर-३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भए पनि उहाँ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी बन्नुभयो । २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नु भएका उहाँ अहिले मुख्यमन्त्री बन्न सफल बन्नुभएको हो । लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री बन्नुभएको छ । उहाँ निर्माण व्यावसायीका रूपमा समेत चिनिनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच