
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै रोष प्रकट गर्नुभएको छ । सोमबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै प्रतिवाद गर्नुभएको हो । त्यसअघि शून्य समयमा विपक्षी दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले डेडिकेटेड र टं«कलाइन विवादमा प्रधानमन्त्रीले झुट बोलेको आरोप लगाउनुभएको थियो । अदालतले समेत विद्युत् महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै सांसद दाहालले भन्नुभयो, ‘प्रधानमन्त्रीले रोष्ट्रमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र बिचौलियाको भाषामा विद्युत् लाइन जोड्ने ?’ शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्ट्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीले संसद्मा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गर्नुभयो । ६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी गरिमामय संसद्मा छौँ । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक प्रकारको फोटाहरू छपाएको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन । भ्रष्टाचारका विरुद्धमा कुरा बोलौँ, भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारका लाञ्छना लगाउने काम नगरौँ ।’ आफू प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुनसक्ने टिप्पणी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘कसैलाई मर्का पनि परेको हुनसक्छ, यो त दलीय व्यवस्था हो । राजनीतिक प्रश्नहरू राजनीतिक हिसाबले अगाडि बढाउनुपर्छ । संसद्लाई हल्काफुल्का नबनाउनुस् । सभामुख महोदय, हावादारी कुरा संसदमा नबोलियोस् ।’
‘भारतसँग वार्ता र कूटनीतिमार्फत सीमा समस्या समाधान गर्छौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने बताउनुभएको हो । चुच्चे नक्सामा समेटिएको दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमिमा नेपालको भोगचलन कहिले हुन्छ भनेर सांसद सिंहले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको छ । सोहीअनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।’ नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सरकार स्पष्ट छ ।
मिटरब्याज, सहकारीलगायत ठगीका दोषीलाई कारबाही गरिने
प्रधानमन्त्री ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुण्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नाका साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन, छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइनेछ ।’
एमसिसी परियोजना तोकिएकै समयमा सम्पन्न हुने दाबी
प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरू तोकिएको समयमै सम्पन्न हुनेगरी अगाडि बढेको जानकारी दिनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्झौताअनुरूप ट्रान्समिसन लाइन, सबस्टेसन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडि बढेको उल्लेख गर्दै भन्नुभयो, ‘आयोजनाको सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौतासमेत भइसकेको छ । ट्रान्समिसन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ । बाँकी काम तीव्र रूपमा अगाडि बढेको छ । एमसिसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ ।’
प्रधानमन्त्री र वर्षमानबीच सवालजवाफ
प्रतिनिधि सभामा सोमबार भएको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोल्नुभयो । आफूले उद्योगीले विद्युत् महसुल तिर्नुपर्दैन नभनेको तर संसद्मा यस विषयमा प्रश्न उठाएको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले संसद्मा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न भन्नुभयो । प्रधानमन्त्री त्यतिमै रोकिनुभएन, आफूमाथि झुटा लाञ्छना लगाइएको जिकिर गर्नुभएका प्रधानमन्त्री ओलीले संसद्मा हल्काफुल्का विषय, झुटा र पूर्वाग्रहीपूर्ण कुरा उठेकोप्रति सभामुखको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘सभामुख महोदय, मेरो निवेदन यो गरिमामय सदन सदनजस्तै होस्, हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन । हावादारी कुरा यस गरिमामय संसद्मा नगरियोस् ।’ प्रधानमन्त्रीले यति भनेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति जनाउँदै सोध्नुभयो, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला,उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ ।’ त्यसपछि सभामुखले भन्नुभयो, ‘माननीयज्यू आसनग्रहण गरौँ, मैले त्यतै लान कोसिस गरिरहेको छु ।’ त्यसपछि संसद्मा केही बेर होहल्ला पनि भयो । एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय माग गरे पनि पाउनुभएन । सभामुखले माओवादी सांसद पुनलाई बस्न आग्रह गर्दै प्रधानमन्त्रीलाई भन्नुभयो, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’ लगत्तै प्रधानमन्त्री ओलीले भने आफू विषयमा नै केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो, ‘सभामुख महोदय म विल्कुल विषय केन्द्रित छु । संसद्मा उठेका प्रश्नहरूको लिखितको जवाफ दिनुपर्ने त्योभन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो । त्यसकारण यसो नगरौँ भन्ने मात्र मेरो आग्रह हो ।’
सात बुँदे मध्यरातमा किन ? भन्ने प्रश्नमा ओलीको जवाफ
प्रधानमन्त्री ओलीले राजनीतिक दलबीचको सहमतिका लागि निश्चित समय नतोकिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा माओवादीकी सांसद दुर्गा राईले कांग्रेस र एमालेबीचको सहमति उज्यालोसमेत नकुरी मध्यरातमा किन गरेको ? भनेर प्रश्न सोध्नुभयो । जवाफमा प्रधानमन्त्री ओलीले कुन समयमा सहमति भयो भनेर टाउको नदुःखाउन सुझाव दिँदै भन्नुभयो, ‘पार्टीहरू बीचको सहमति एम (मध्याहृन अघि बिहानको समय) भित्र हुनुपर्छ कि पिएम (साँझदेखि राति) भित्र हुनुपर्छ ? कति बजेर कति मिनेटमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ कतै ? थकाइ लागेका सुत्छन् । दिउँसो पनि सुत्छन् नि, थकाइ नलागेकाहरू बस्छन् ।’
ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : बर्तौला
सत्तारूढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उहाँले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत सहितको समर्थन पाएको तर चुनौतीहरू आउन सक्ने बताउनुभयो । चुनौतीहरूलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उल्लेख गर्दै बर्तौलाले भन्नुभयो, ‘यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुनेगरी यो सरकार अगाडि बढ्नेछ । देशवासीले यही अपेक्षा गरेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच