नेपाली गायन क्षेत्रमा फरक पहिचानका साथ आफ्नै राजमार्ग निर्माण गरेर हिँडिरहेको नाम हो युवराज चौलागाईं । उहाँको स्वरमा रहेका तीन सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘तिमीलाई के भनुँ, लैजा चरी, तिम्रा डोलाडोला हातमा, तिम्रो माया पाउनलाई, हरेक शब्द, छुटेपछि छुट्यो, तिमी साथमा, पल पल, चोट हुँदा नी, हारेँ हारेँ, छ एकान छ, लटरपटर, बधाई तिमीलाई, टुङ्नाको धुनमा (रिमेक)’ जस्ता कयौं गीत उहाँका श्रोता/दर्शकको अत्यधिक रोजाइमा रहेका गीत हुन् । सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुने उहाँ यो क्षेत्रमा होमिनुभएको दुई दशकभन्दा बढी भइसकेको छ । पाश्र्व गायनमा धेरैको रोजाइमा पर्ने यी गायक रोमान्टिकदेखि सेन्टिमेन्टल गीतमा उत्तिकै चर्चित हुनुहुन्छ । आफूमा गाउने कला भगवान्को वरदान भएको बताउनुहुने गायक युवराज चौलागाईंसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
कहिलेदेखि हुनुहुन्छ गीत संगीतको क्षेत्रमा ?
यो क्षेत्रको लगाव सानैदेखि भए पनि औपचारिक रूपमा होमिएको दुई दशकभन्दा बढी भयो ।
युवराज चौलागाईं को हो ?
युवराज चौलागाईं संगीतलाई मनैदेखि माया र पूजा गरेर गीत संगीतमा नै रमाउने गायक हो भन्न रुचाउँछु । साथै म आध्यात्मिक व्यक्ति पनि हुँ । म सबैको राम्रो चाहने व्यक्ति हुँ ।
यहाँका थुप्रै गीत श्रोता/दर्शकको मनमस्तिष्कमा बस्न सफल छन् । तपाईंलाई युवराज भनेर चिनाउने गीत कुन हो जस्तो लाग्छ ?
यहाँले भने जस्तै मेरो स्वरमा रहेका गीतलाई श्रोता/दर्शकले मन पराइदिनुभएको छ । खुसी लाग्छ । आफ्ना सबै गीत उत्तिकै प्रिय लाग्छन् । एउटा सर्जकका लागि आफ्ना हरेक सिर्जना उत्तिकै प्रिय हुन्छन् । तपाईंले भने जस्तै मलाई चिनाउने गीतमा ‘तिमीलाई के भनुँ, तिम्रा डोलाडोला हातमा, हारेँ हारेँ , तिम्रो माया पाउनलाई, हरेक शब्द’ लगायत धेरै छन् ।
गीत संगीतमा लामो समयदेखि छु । अबको दिन पनि यसमा नै हुनेछु । ममा भएको भगवान्को वरदान भनेको गाउने कला हो । यो उपयोग गरेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्छ । राम्रो गीत नचलेका पनि छन् । निरन्तरता दिनुपर्छ ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
विशेष गरी म मेरा प्यारा श्रोता/दर्शकका लागि गीत गाउँछु । र, गीत संगीतमै मेरो आत्मसन्तुष्टि हुने हुँदा म आफैं पनि संगीतमा रमाउँछु र आफ्नै लागि पनि गाउँछु ।
गीत संगीतमा लागेर व्यावसायिक सफलता पाउन सकिँदैन भन्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
संगीतमा लागेर बाँच्न समयअनुसार पनि भर पर्छ । सधैं एकैनास आम्दानी नहुन सक्छ, कहिले बढी त कहिले घटी हुन्छ । आत्मसन्तुष्ट बन्न पनि सक्नुपर्छ । व्यावसायिक सफलतामा हामीले कस्तो सामग्री श्रोता/दर्शकमाझ पस्किरहेका छौँ त्यसमा भर पर्छ ।
गीत संगीतको लगानी उठ्दैन भन्ने गरिन्छ, तैपनि यहाँका लगातार गीत आइरहेका हुन्छन् नि ?
गीत संगीतमा लामो समय बिताइयो । अबका दिन पनि यसैमा लाग्ने हो । ममा भएको भगवान्को वरदान भनेको गाउने कला हो । यो उपयोग गरेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्छ । राम्रा गीत नचलेका पनि छन् । निरन्तरता दिनुपर्छ । संगीतको राम्रो दिन अवश्य फर्किन्छ ।
यहाँको सांगीतिक गुरुहरूमा ?
मेरा सांगीतिक गुरुहरूमा आदरणीय राम सिटौला र श्यामसुन्दर आचार्य हुनुहुन्छ ।
नेपाली गीत संगीतको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ ?
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको विस्तार व्यापक भएको छ । यो क्षेत्र जति विस्तृत भएको छ तर त्यस अनुरूपमा क्वालिटीमा भने ह्रास आएको गुनासो पाइन्छ । यो यथार्थ पनि हो । राम्रा-राम्रा गीतहरू कममात्रामा बनिरहेको देखिन्छ । पहिलेको दाँजोमा गीतहरूले न्याय नपाइराखे जस्तो महसुस हुन्छ ।
यो क्षेत्रमा आफ्नो सफलताको श्रेय कसलाई मान्नुहुन्छ ?
मेरी पुजनीय आमाको आशीर्वादबाट म यो क्षेत्रमा जम्न सफल भएको छु । जबसम्म मेरो श्वास चलिरहन्छ तबसम्म संगीत मेरो रगतमा बगिरहन्छ । घरपरिवारबाट मलाई यो क्षेत्रमा धेरै नै सपोर्ट मिलेको छ ।
यहाँलाई गायनसँगसँगै अभियनमा पनि त्यत्तिकै देखिन्छ नि । अभिनयचाहिँ यहाँको रहर कि बाध्यता ?
अहिले अभिनय गर्नुपर्ने बाध्यता छ । किनभने स्वर र गीत चिनिन्छ, मानिस चिनिँदैन । सबैले आफ्नो गीतको भिडियोमा आफैंले अभिनय गर्नु राम्रो हुन्छ र चिनिन्छ पनि भनेर सुझाव दिनुभयो । त्यसैले पनि अभिनय गर्न थालेको हो । मैले पाश्र्व गायनमा धेरै गीत गाएँ, स्वर सबैले चिने । तर, म चिनिइनँ । नचिनेको कारणले पनि फरक पर्दोरहेछ भनेर अभिनय थालेको हो । अहिले आफ्नो गीतमा गायक–गायिका आफैंले मोडलिङ गर्ने परम्परासमेत देखिएको छ ।
गाउन सजिलो कि अभिनय ?
गाउने मेरो पेशा र धेरै पहिलेदेखिको काम भएकाले अभिनय गाह्रो लाग्यो । गायन आफूले सिकेको विषय पनि भएकाले मेरा लागि सजिलो छ ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
यो क्षेत्रमा आउन चाहनेहरूलाई पहिला आफ्नो खुबी चिनेर संगीतलाई मनैबाट अपनाउनुहोस् अनि संगीतको ज्ञान एउटा राम्रो गुरुसँग लिनुहोस् र यसमै निरन्तरता दिएर अगाडि बढ्नुहोस् भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच