काठमाडौं । नेपालको पहाडी भेगमा हुर्कनुभएका २३ वर्षीय आयुष पोखरेल प्रविधिको क्षेत्रमा संसारकै उत्कृष्ट मानिने अमेरिकाको सान फ्रान्सीस्को स्थित सिलिकन भ्यालीलई आफ्नो कर्मथलो बनाउनुभएको छ । प्रविधिप्रतिको उच्चतम लगाव, निरन्तरता र अथक प्रयासका कारण उहाँ यस क्षेत्रमा अब्बल सावित भइरहनुभएको छ ।
उहाँ जन्मे हुर्केको ठाउँमा इन्टरनेटको पहुँच त टाढाको कुरा विद्युत् सेवासमेत भरपर्दो थिएन । सानैदेखि प्रविधिप्रति जिज्ञासु हुनुहुन्थ्यो उहाँ । करिब सात-आठ वर्षको उमेरदेखि नै पुराना रेडियो वा घडी पाएको खण्डमा खोल्ने, अवलोकन गर्ने र मर्मत गर्ने उहाँको कोशिस हुन्थ्यो । आफू ११ वर्षको हुँदा आफ्नो मामाको साइबर पसलमा बस्दा उहाँलाई कम्प्युटरप्रति आकर्षण बढेको थियो । मामासँग सिकेर आफूभन्दा धेरै पाका उमेरका व्यक्तिहरूलाई कम्प्युटर चलाउन उहाँले सिकाउनुहुन्थ्यो ।
एक पटक आफ्नो मातापितासँग बुढानीलकण्ठ स्कुल घुम्न जाँदा त्यहाँ कम्प्युटर ल्याब देखेकाले त्यहाँ अध्ययन गर्न उहाँले मन गर्नुभयो । प्रवेश परीक्षा उत्तीर्ण गरी कक्षा ५ देखि ७ सम्म सोही विद्यालयमा आयुषले अध्ययन गर्नुभयो । त्यसपछि नवलपरासीको गैँडाकोटमा रहेको बालविकास स्कुलबाट माध्यमिक शिक्षा पूरा गर्नुभएका उहाँले तत्पश्चात् पहिलो पटक एचटिएमएल कोडको बारेमा जानकारी पाउनुभयो र त्यसमा काम गर्न थाल्नुभयो । यसबाट उहाँलाई कम्प्युटरमा नवीनतम् सिर्जना गर्न सकिन्छ भन्ने आत्म विश्वास पैदा भयो ।
सन् २०१८ मा मातापितासँग क्यानडा पुग्नुभएका उहाँलाई नयाँ संस्कृति एवं भाषा अनुकूलन गर्न चुनौती अवश्य थियो । यसका बाबजुद उहाँले टिएल केनेडी स्कुलमा कक्षा ११ र १२ अध्ययन गर्नुभयो र उत्कृष्ट नतिजा हासिल गर्नुभयो । पढ्ने क्रममा उहाँले आफ्नो सबल पक्ष ‘कम्प्युटर प्रोगामिङ’ हो भन्ने निर्णय गरिसक्नुभएको थियो । विद्यालय पढ्दै गर्दा वेयरहाउसमा काम गरी आएको पारिश्रमिकबाट पहिलो ल्यापटप किन्नुभयोे । त्यसपछि उहाँले कैयौं रातहरू र बिदाका दिनहरू आफ्नो रुचिका कारण कम्प्युटर कोडिङमा समर्पण गर्नुभयो ।
सन् २०२० मा योर्क युनिभर्सिटी क्यानडामा कम्प्युटर विज्ञानमा स्नातक अध्ययनका लागि भर्ना उहाँ भन्नुहुनुभयो । युनिभर्सिटीमा रहँदासमेत ग्राहक सेवामा पार्ट टाइम काम गरी आर्जित रकमबाट पहिलो म्याक बुक कम्प्युटर किन्नुभयो । त्यसपछि उहाँका सम्भावनाका ढोकाहरू खुल्दै जान थाले । आयुषले ‘फोन एमएल, रिडर, खुला, योर्क युनि’ नामका दर्जनौं एपहरू तयार गरी एप्पल स्टोरमा प्रकाशन गर्नुभयो । सःशुल्क एवं निःशुल्क रहेका यी एपहरूको प्रयोगकर्ताले तारिफ एवं पृष्ठपोषण दिइरहे । स्नातक अन्तिम वर्षमा पढ्दै गर्दा उहाँका एपहरूबाट प्रभावित भएर अमेरिकास्थित सान फ्रान्सीस्कोबाट राम्रो पारिश्रमिक एवं सुविधासहित काम गर्नका लागि आग्रह गरियो । त्यहाँ पुगेपछि उहाँले आफूभित्रको रुचिलाई उत्कर्ष पुर्याउने अथाह सम्भावना देख्नुभयो र कर्मथलो बनाउने सोच बनाउनुभयो ।
अहिले उहाँ एनओएक्स कम्पनीका संस्थापक सफ्टवेयर इञ्जिनियरको रूपमा कार्यरत हुनुहुनछ । उहाँको कम्पनीले कृत्रिम बुद्धि (एआई)को उपयोगमा व्यक्तिगत सहयोगीको काम गर्ने सफ्टवेयर एनओएक्स उत्पादन गर्दैछ । जसबाट अत्यन्त व्यस्त व्यक्तिहरूको जीवनमा सहजता ल्याउन मद्दत पुग्नेछ । उदाहरणका लागि यसले दिनभरिको कामको नोट तयार गर्छ, होटेल बुक गर्न मद्दत गर्दछ, आदि । यसरी आफ्नो लगन, कडा मिहिनेत र समर्पण गरेको खण्डमा जुनसुकै कुरा सम्भव हुनसक्छ भन्ने उदाहरण बन्नुभएको छ, आयुष । उहाँको यस यात्राबाट अन्य युवाहरूलाई समेत अभिप्रेरित गर्न मद्दत पुग्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच