
धनगढी । सुदूरपश्चिम प्रदेशका तीन ठूला दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । उनीहरूले राजीनामा दिएर नयाँ सरकार गठनमा सघाउन मुख्यमन्त्रीसमक्ष माग गरेका हुन् । संसद् सचिवालयमा शनिबार नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेटमाथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व–मुख्यमन्त्री कमलबहादुर शाहले भन्नुभयो, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नु भएको छ । उहाँले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । उहाँकै कारण बजेटमाथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले केही ठूला निर्णयहरू पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ ।’
कानुनी प्रावधानी हेरेर ३० दिन कुर्सीमा बसिरहने होइन, उहाँले राजनीतिक परिस्थितिलाई हेर्नुपर्छ, शाहले भन्नुभयो, ‘उहाँले बहुमत गुमाइसक्नु भएको छ । र, बहुमत प्राप्त गर्नसक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’
यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोषी थापाले वर्तमान मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास नहुने हुँदा तत्काल राजीनामा दिन आग्रह गर्नुभयो । उहाँले अब नयाँ गठबन्धनको सरकार बन्ने भन्दै अल्पमतमा परेको सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो । अल्पमतमा परेको सरकारलाई टिकाइराखेर जनताको आत्मविश्वासमाथि खेलबाड गर्न नहुने उहाँको तर्क छ ।
यसैगरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले बिचौलियाले ल्याएको बजेट मान्य नहुने भन्दै वर्तमान सरकारले बजेटबारे छलफल नै नगरी अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले नयाँ गठबन्धनलाई सहयोग गरी अघि बढ्न नागरिक उन्मुक्ति तयार रहेको र नयाँ गठबन्धनकै पक्षमा रहेको बताउनुभयो ।
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एकजना स्वतन्त्र सांसद रहेका छन् ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री रामेश्वर चौधरीको पनि सहभागिता थियो । नयाँ गठबन्धन बनेपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन । बजेटमाथिको छलफल गर्न भन्दै सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीसहितको सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, बैठक अगाडि नै सरकार अल्पमतमा परेपछि कांग्रेस र एमालेले मुख्यमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका छन् । सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
यता, मुख्यमन्त्री सोडारीले भने तत्काल राजीनामा नदिने बताउनुभएको छ । अल्पमतमा पर्नुभएका सोडारी साउनमा विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । उहाँले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, अहिलेको अवस्थामा उहाँले विश्वासको मत पाउने आधार देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच