
सुर्खेत । हाल राउटेहरू दैलेखको गुराँस गाउँपालिका-१ को टिमिले खोलाको किनारमा बसेका छन् । यो बस्ती भौगोलिक हिसाबले पहिरोको जोखिममा छ । मनसुन सुरु भएसँगै भारी वर्षाका कारण राउटेको जनजीवन प्रभावित बनेको छ । त्यसैमा झन् राउटे समुदायलाई च्यातिएका त्रिपालभित्र रात बिताउन सकस छ । बस्तीमा खानेपानीको समेत उचित प्रबन्ध छैन । शौचालयको प्रबन्धसमेत गरिएको छैन । जसले बर्खाको समयमा फैलन सक्ने पानीजन्य र सरसफाइजन्य संक्रमण फैलने डर उत्तिकै छ । ‘च्यातिएका त्रिपालबाट आकाशे पानी सिधै ओछ्यानमा पुग्छ, पानी परेको रात जाग्राम बस्नुपर्छ’ राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘त्रिपालभित्र बस्न लायक छैन, प्लाष्टिक तथा कपडाले बनेका पालहरू पुराना तथा झुत्रा भइसकेका छन् । तैपनि जसोतसो घामपानीबाट जोगिन झुत्रिएकै पाल गाँसगुँस गरेर गुजारा चलाइरहेका छौँ ।’
यसपालिको साउन महिनामा झरी र घामबाट आफ्ना जनतालाई जोगाउन सकस पर्नेमा उहाँ चिन्तित हुुनुहुन्छ । राउटे समुदायले पाल र चामल माग गरे पनि सुनुवाइ भएको छैन । साथै साउने संक्रान्ति नजिकिँदै गरेकाले राउटेलाई पर्व मनाउन पनि सकस परेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनसँग जुध्ने खालका आवास नहुँदा विशेष गरी साउन र खडेरी पर्ने महिनामा राउटे समुदायलाई सकस पर्ने गर्दछ ।
तत्काललाई राउटेहरूका लागि खाद्यान्नभन्दा पनि आवासका लागि पाल आवश्यक रहेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्री बताउनुहुन्छ । पालहरू पुराना भएर काम नलाग्ने अवस्थामा पुगेपछि आफूले सामाजिक विकास मन्त्रालयका मन्त्री वीरबहादुर शाहीसँग अनुरोध गरेको उहाँले सुनाउनुभयो । तर, हालसम्म पाल राउटे बस्तीमा पुगेको छैन ।
यता, सामाजिक विकास मन्त्रालय भने नयाँ आर्थिक वर्षमा मात्रै राउटेलाई पाल दिने योजनामा छ । चालु आर्थिक वर्ष २०८०/०८१ को सबै कारोबार बन्द भइसकेको भन्दै नयाँ आर्थिक वर्ष अर्थात् साउनपछि मात्रै पालको व्यवस्थापन हुने मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली बताउनुहुन्छ । आधुनिक मानव भनिएकाहरूको हस्तक्षेपमा परेको यो समुदाय लगभग पूर्णरूपमा परनिर्भरको बाटोमा छ । झण्डै दशक अघिसम्म आफ्ना परम्परागत काठका सामग्री निर्माणबाट आत्मनिर्भर रहेको यो समुदाय विस्तारै परनिर्भर बन्दै गएको हो ।
यो समुदाय अहिले मूल प्रवाहीकरणको गलत अभ्यासका कारण गलत संस्कृतिमा फसेको छ । विगत एक वर्षदेखि यो समुदायको सूक्ष्म अध्ययन गरिरहेका मानवशास्त्री अनुप पौडेलका अनुसार राउटेहरूलाई संरक्षणका नाममा गरिएको हस्तक्षेपभन्दा पनि उनीहरूको अपेक्षा, चाहना र परम्पराअनुसार संरक्षणको नीति बनाउन आवश्यक छ ।
ठूला उमेरका मात्र नभई साना बालबालिकासमेत आफ्नो परम्पराभन्दा बाहिर जान नचाहेको अध्ययनको क्रममा आफूले पाएको पौडेल बताउनुहुन्छ । पढ्न नमान्नु, बिरामी हुँदा औषधी उपचार गर्न नमान्नु लगायतका आनीबानीहरूले यसको पुष्टि गरेको उहाँको भनाइ छ । पछिल्ला पाँच वर्षको अवधिमा राउटेहरू ७८ स्थानमा बसाइँ सरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांकअनुसार असार २०७५ देखि असार २०७९ मसान्तसम्म अर्थात् पाँच वर्षको अवधिमा राउटेहरू ७८ स्थानमा बसाइँ सरेका छन्, जसमा सबैभन्दा धेरै सुर्खेतमा ४६ स्थानमा राउटेहरू स्थानान्तरण भएका छन् ।
यस्तै, २१ स्थानमा दैलेख, ६ स्थानमा सल्यान र पाँच स्थानमा जाजरकोटमा बसाइँ सरेका छन् । राउटेहरूको बसाइँसराइको अवस्थाअनुसार सुर्खेत र दैलेख जिल्लाका विभिन्न स्थानहरू रुचाएको देखिन्छ । जहाँ राउटेहरू पटक–पटक स्थानान्तरण भएका छन् ।
जन्मदरभन्दा मृत्युदर बढी
नेपालमा लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षहरूमा तीव्र गतिमा घट्दै गइरहेको छ । घुमन्ते–फिरन्ते राउटेको मानव अधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसंख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको छ ।
पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढी रहेको पाइएको छ । २०७५ सालमा १४९ रहेको राउटेको जनसंख्या हालसम्म आइपुग्दा घटेर १३७ मा झरेको छ । यस अवधिमा राउटे समुदायका १२ जनाको मृत्यु भएको तथ्यांकले पुष्टि गर्छ । २०७५ सालमा १४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा १४८ भयो । २०७७ मा पुनः तीन जना घटेर १४५ मा झर्यो । यस्तै, २०७८ मा एकजना घटेर १४४ भएको राउटेको संख्या २०७९ मा फेरि एक जनाको मृत्यु भएर १४३ मा सीमित भयो । २०७९ देखि १५ माघ २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या ६ जनाले घटेर १३७ भएको छ, जसमा महिला ७४ र पुरुष ६३ रहेका छन् । यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ, जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा दुई शिशु (बालिका) को जन्म भएको छ ।
राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको आयोगको अध्ययनमा उल्लेख छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ अनुसार राज्यले कुनै पनि अवस्थामा कुनै पनि नागरिकलाई आफ्नो जीवन धान्ने उपायबाट वञ्चित गराउन पाइँदैन । आदिवासी जनजातिसम्बन्धी महासन्धि, १९८९ (अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९) ले पनि फिरन्ते नागरिक र घुमन्ते किसानहरूको अवस्थाउपर विशेष ध्यान दिनुपर्ने राज्यको दायित्वको रूपमा व्याख्या गरेको छ ।
यी व्यवस्था राउटेको हकमा कार्यान्वयन हुन नसक्नु पनि उनीहरूको संख्या घट्नुको कारक बनिरहेको छ । नेपाल सरकारले लोपोन्मुख आदिवासी जनजातिमा सूचीकृत यो समुदायप्रति राज्यको जिम्मेवारी थप सुदृढ नहुने हो भने एउटा प्रथाजनित परम्परा सहितको पृथक् समुदाय पृथ्वीबाटै लोप हुने प्रवल सम्भावना रहेको आयोगले गरेको अध्ययनको निष्कर्ष छ । नेपालको घुमन्ते-फिरन्ते लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति राउटेहरू अक्सर कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमफिर गर्दै बसोबास गर्दै आएको छ । राउटे सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङ जिल्लासम्म पुग्ने गर्छन् ।
राउटे समुदायमा ४७ प्रतिशत नागरिक १८ वर्ष मुनिका छन् । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ अनुसार बालबालिकाको हेरचाह र शिक्षाको दायित्व राज्यको हुने हुँदा सम्भव भएसम्म व्यापक सुरक्षा र सहायता दिनुपर्ने व्यवस्था न्यूनतम पनि कार्यान्वयनमा आउन सकेका छैनन् । घुमन्ते-फिरन्ते राउटे समुदायमा तीनजना अपांगता लिएर बाँचिरहेका छन् भने १६ जना एकल महिला (श्रीमान् गुमाएका) छन् । यो संख्या कुल महिलाको १८ प्रतिशत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच