
✍️ रेजिना मास्के व्यञ्जु
प्राध्यापक, केन्द्रीय पर्यावरण विज्ञान विभाग, त्रिवि
संयुक्त राष्ट्र संघका अनुसार विश्वमा मृत्युको एक प्रमुख कारक भनेको वायु प्रदूषण हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका कारण संसारभर करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ । विश्वमा हरेक दशमध्ये नौजनाले प्रदूषित हावामा सास फेर्ने गर्दछन् । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्समा मापन गरिन्छ । एयर क्वालिटी इन्डेक्स ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ । तर, १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । तीन पुग्नु भनेको जोखिमपूर्ण हो । तीन सयभन्दा माथि जानु भनेको स्वास्थ्यका लागि घातक हो ।
दक्षिण एसियामा वायु प्रदूषणको समस्या व्यापक रूपमा जटिल बन्दै गएको छ । बढ्दो शहरीकरणले शहरी जनजीवनमा वायु प्रदूषण झनै जटिल बन्दै गएकोछ । नेपालमा पनि वायु प्रदूषणले विकराल परिस्थिति लिने अनुमान गरिएको छ । वायु प्रदूषणका कारण नेपालमा वर्षेनी ४२ हजार एकसयको मृत्यु हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्टमा उल्लेख छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । त्यसैनुरुप वायु गुणस्तर मापक यन्त्रले पनि वायु गुणस्तर सूचकांक २०० भन्दा बढी पनि देखाइराखेका छन् । वायु प्रदूषण अधिकांश शहरी भागहरूमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा र राष्ट्रिय मापदण्डभन्दा तीन गुणा बढी रहेको तथ्यांकले देखाउँछ ।
काठमाडौंमा हरेक वर्षको हिउँद र मनसुन सुरु हुनु अगाडिको सुख्खा महिनाहरू, विशेषत फागुनदेखि वैशाखसम्म वायु प्रदूषण अत्याधिक बढ्ने गर्छ । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा इन्धनको प्रयोगले वायुमण्डलमा पिएम २.५लगायतका वायुमण्डल प्रदूषित गर्ने कण र ग्यासहरू बढ्दै गएको छ । हिउँद याममा चिसो मौसम बढेपछि सूर्यको ताप कम हुन गई त्यस्तो प्रदूषण जमिन नजिकैको वायुमण्डलीय तहमा रहने हुँदा वायु प्रदूषण अझ बढी देखिने गर्छ । चिसोको मौसम बढ्ने क्रमसँगै वायु प्रदूषणको मात्रा उच्च हुँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढ्ने गर्दछ ।
वातावरण विभागको प्रतिवेदन अनुसार काठमाडौं उपत्यकामा प्रदूषणको मुख्य स्रोत १० लाखभन्दा बढी सवारीसाधन नै हुन् । २०७९ मंसिरयता गरिएको ९३४ सवारीसाधनको छड्के जाँचमा एक तिहाइ सवारीसाधनहरूले मापदण्डभन्दा ज्यादा प्रदूषणहरू उत्सर्जन गरिराखेको पाइएको थियो । वन तथा भूसंरक्षण विभागको तथ्यांकमा नेपालमा वर्षेनी दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । २०७९ मा ३०१० स्थानमा आगलागी, ३७२३ घरपरिवार प्रभावित, ३९४ घाइते र १०९ जनाको ज्यान जाने गरेको तथा दुई अर्ब ५१ करोड रुपैयाँको क्षति भएको देखिन्छ ।
पछिल्लो समयमा काठमाडौंलगायत विश्वका धेरै ठूला शहरहरूमा प्रदूषण ठूलो समस्या बन्दै गएको छ । प्रदूषण बढ्नुमा धेरै कारण छन् । तिमध्ये एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो पनि हो । विभिन्न कलकारखाना एवं जंगलको डढेलोबाट निस्किने धुँवाका हानिकारक कणहरू हावामा मिसिन्छन् जसले पर्यावरणमा प्रदूषण फैलिरहन्छ । त्यस्तै जंगलमा आगो लागेर पनि हावामा प्रदूषण निम्त्याउँछ । खनिज इन्धनमा आधारित सवारीसाधनको उत्सर्जन एवं कलकारखानाको चिम्नीबाट निस्किरहेका धुवाँको मुस्लोले पनि हामीले फेर्ने हावालाई प्रदूषित गरिरहेका छन् ।
जाडोयाममा धूलोका कणहरू वायुमण्डलको तल्लो भागमै रहने, इँटाभट्टाले निकाल्ने धूवाँ, इँटा र बालुवा बोक्ने सवारीसाधन चौबीसै घण्टा गुड्ने, अत्यधिक ट्राफिक घनत्वका कारण छोटो दूरीमा समेत धेरै समय सडकमा बिताउनुपर्ने, सवारीसाधन विशेषगरी सेता र राता नम्बर प्लेटका वाहनद्वारा निस्कने विषाक्त कणहरू लामो समयसम्म वायुमण्डलमा रहन्छ । अनि वर्षामा पानीसँगै तल्लो सतहमा, पानीमा, जमिनमा, खोलानालामा घुल्छ ।
यस्तो प्रदूषणको असर सबैलाई एकसमान हुँदैन । वयस्क मानिसभन्दा केटाकेटीहरू र बूढापाकाहरू यस्ता प्रदूषणको बढी जोखिममा छन् । काठमाडौंमा दम, क्षयरोग, निमोनिया, छाती रोग, ब्रोङकाइटिस, रुघाखोकी, एलर्जीलगायत श्वास-प्रश्वासका रोगी र त्यसबाट हुने मृत्यु संख्या बढ्दो छ । त्यसमाथि भौगोलिक बनोटका कारण उपत्यकामा प्रदूषण लामो समयसम्म रहिरहन्छ । तसर्थ जहाँतहीँ फोहोर नफ्याँक्ने, जैविक फोहोर छुट्ट्याउने र फोहोरको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रणबाट बच्ने उपाय हरेक तहबाट अविलम्ब थालिनुपर्छ । वायु प्रदूषणको मूल समस्या यहाँको हावामा अत्यधिक मात्रामा रहने धूलाका मसिना कण (पिएम २.५) हुन् । उक्त कणले मानिसले सास फेर्दा शरीरभित्र प्रवेश गरी श्वास-प्रश्वाससम्बन्धी समस्याका साथै क्यान्सरसम्म निम्त्याउन सक्छ ।
चिकित्सकहरूका भनाइमा दूषित वायुका कारण फोक्सोसम्बन्धी मात्र होइन अरू अनेकौं स्वास्थ्य समस्या निम्तिन सक्छन् । प्रदूषित हावाका कारण क्यान्सर र मस्तिष्कघातजस्ता दीर्घरोग पनि लाग्न सक्छन् । प्रदूषित हावाले छाला र आँखामा पनि असर पार्छ भने मस्तिष्क तथा मुटुसम्बन्धी रोगहरू पनि लगाउन सक्ने विज्ञहरू बताउँछन् । मानवीय स्वास्थ्य त जोखिममा छँदै छ, यसले वातावरणमा पनि निकै नकारात्मक असर पारिरहेको छ । प्रदूषण यति बढ्दै गएको छ कि अहिले रातको समयमा खुला आकाशमा तारा हेर्न पनि मुस्किल हुन्छ ।
प्रदूषणको अर्को दोस्रो सबैभन्दा ठूलो कारण आवादी बढ्नु पनि हो । आवादी बढ्दै गएपछि मानिसलाई दैनिक आवतजावत गर्नका लागि सवारीसाधनको प्रयोग बढ्दै जान्छन् । कारणहरू सरल देखिए पनि वायु प्रदूषणले निम्त्याएका समस्याहरू विकराल छन् । काठमाडौं उपत्यकाको वायुमा १० माइक्रोनभन्दा साना धूलोका कण पिएम १०, २.५ माइक्रोनभन्दा साना धूलोका कण पिएम २.५, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनकाडाई तथा मोनो अक्साइड, लिड, ओजन जस्ता प्रदूषणहरू व्याप्त छन् । राजधानीको वायु प्रदूषणको झण्डै आधा हिस्सा सवारीसाधनको धुवाँले लिएको छ ।
धूलोमा मिसिएका सूक्ष्म कण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण उपत्यकामा श्वास-प्रश्वास, आँखा, छाला र क्यान्सरसम्बन्धी रोगका प्रमुख तीन कारक बनेका छन् । राजधानीको वायुमण्डलको धुलोधुवाँका कण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ५ देखि १५ गुणा बढी रहेको अमृत क्याम्पस, पुल्चोक इन्जिनियरिङ र त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागको खोजमा उल्लेख छ । जहाँतहीँ थुपारिएका फोहोरका डंगुरले गर्दा सूक्ष्मजीवका बीज बढेर श्वास–प्रश्वास, छालासम्बन्धी रोग लगाउने कीटाणु वायुमण्डलमा प्रशस्तै पाइएका छन्, प्रतिरोधी कीटाणु पनि पाइएका छन् । चिकित्सकहरूका भनाइमा दूषित वायुका कारण फोक्सोसम्बन्धी मात्र होइन अरू अनेकौं स्वास्थ्य समस्याहरू निम्तिन सक्छन् । प्रदूषित हावाले छाला र आँखामा पनि असर पार्छ भने मस्तिष्कसम्बन्धी रोग लगाउन सक्ने विज्ञहरू बताउँछन् ।
वायु प्रदूषणबाट कसरी बच्ने ?
वायू प्रदूषणका असरहरू विकराल छन् । तर, तिनलाई कम गर्ने उपायहरू नभएका भने होइनन् । प्रदूषित वायुमण्डलमा व्यक्तिगत तवरबाट जोगिन एउटा महत्वपूर्ण उपाय भनेको उपयुक्त मास्क लगाउनु हो । मास्क बिरामीले मात्र होइन, सबैले लगाउनुपर्छ, किनभने मास्कले मास्कले पिएम २.५ कणहरू रोक्न सक्छ । बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुने गर्दछ त्यसैले जब प्रदूषण बढी हुने बेला घरमा नै बसौं ।
यीबाहेक हामीले वायु प्रदूषण कम गर्ने उपायहरू अपनाउन सक्छौं । घरको आँगन करेसाबारीमा भएका झारपात सुकेका छन् भने बाल्नुहुँदैन, बरू त्यस्ता जैविक पदार्थबाट कम्पोष्ट मल बनाउन सकिन्छ । नियमित रूपमा आफ्ना सवारीसाधनको परीक्षण तथा मर्मत गरेर पनि यातायात क्षेत्रबाट हुने प्रदूषण कम गर्न सकिन्छ । यसका अलवा खनिज इन्धनमा आधारित सवारीको साँटो साइकलको प्रयोग गरेर पनि प्रदूषण नियन्त्रणमा योगदान गर्न सकिन्छ । सार्वजनिक यातायात सेवा उपयोग गरी निजी सवारीको चाप कम गर्न सकिन्छ । बालबालिकालाई निजी कारमा राखी स्कुल पु¥याउनुको साटो स्कुल बसमा जान प्रोत्साहित गर्न पनि सकिन्छ । यसका साथै आफ्नो घर वरिपरिका बोटबिरुवाको हेरचाह गरेर पनि प्रदूषण नियन्त्रणमा सघाउन सकिन्छ । पर्यावरणमा प्रदूषण हुने सबैखाले प्रदूषण न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैं सक्रिय सहभागी हौं र अरूलाई पनि अभिप्रेरित गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच