काठमाडौं । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको हो । बिहीबार सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ४१२ स्थानमा जित हासिल गरेको थियो ।
लेबरको जित अघिल्लो आम निर्वाचनको तुलनामा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टयामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताउनुभएको छ । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् । पूर्व-रक्षामन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व-प्रधानमन्त्री लिज ट्रस लगायतले पराजय व्यहोर्नुपरेको छ ।
कन्जर्भेटिभका १२ जना बहालवाला क्याबिनेट मन्त्री निर्वाचनमा पराजित भएका छन् । वेल्स राज्यमा कन्जरभेटिभ शून्यमा सीमित भएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहनुभएका सुनक भने रिचमण्ड र नर्थालर्टन सिटबाट विजयी हुनुभएको छ । उहाँले आफूले हारको जिम्मा लिँदै मतदाता र सहयोगीसमक्ष क्षमा माग्नुभएको छ । उहाँले स्टयामरलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना दिनुभयो । निर्वाचनमा तेस्रो ठूलो दलको रूपमा उदाएको लिवरल डेमोक्याट्रिक पार्टीले सन् १९२३ पछि पहिलोपटक ऐतिहासिक सफलता हात पार्दै ७१ सिटमा विजयी भएको छ ।
दक्षिणपन्थी दल रिफर्म पार्टीले पनि संसद्मा केही सिट जितेको छ । यसका नेता नाइजर फराज पहिलोपटक निर्वाचित हुनुभएको छ । स्कटल्याण्डको प्रभावशाली पार्टी स्कटिश नेसनलिष्ट पार्टीले अत्यधिक सिट गुमाएको छ ।
बेलायतको पुनर्निर्माण गर्ने प्रतिबद्धता
बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका सर किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गर्नुभएको छ । बेलायतमा घट्दो सार्वजनिक सेवा, उच्च मूल्य र दलहरूका वाचा पूरा नहुँदा निराशा बढ्दै गएको अवस्थामा स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको र नागरिकका अपेक्षा पूरा गर्नुपर्ने जिम्मेवारी रहेको विश्लेषक बताउँछन् ।
को हुन् नयाँ प्रधानमन्त्री स्टारमर ?
स्टारमर २ सेप्टेम्बर १९६२ मा दक्षिण लण्डनको साउथवार्कमा जन्मिनुभएको हो । लेबर पार्टीका संस्थापक किअर हार्डीबाट प्रभावित भएर उहाँको नाम राखिएको बताइन्छ । तीन सहोदरका साथ उहाँ सर्रीस्थित अक्सटेड नामक सानो सहरमा हुर्किनुभयो । जहाँ उहाँका पिता रड्नी औजार बनाउने काम गर्नुहुन्थ्यो भने आमा जोसेफाइन सरकारी नर्स हुनुहुन्थ्यो । उहाँकी आमा एउटा दुर्लभ किसिमको बाथका कारण हिँड्न, बोल्न र खान नसक्ने हुनुभएको थियो । २०१५ मा उहाँको निधन भएको थियो । किशोरावस्थामै उहाँ आमाबुवाबाट प्रभावित भएर लेबर पार्टीमा लाग्नुभयो ।
राइगेट ग्रामर स्कुल पास भएपछि उहाँले लिड्स युनिभर्सिटीमा कानुन पढ्नुभयो । उहाँ विश्वविद्यालय जाने परिवारको पहिलो सदस्य हुनुहुन्थ्यो । त्यसपछि अक्सफोर्डबाट उहाँले पोष्ट ग्रयाजुएट गर्नुभएको थियो । उहाँको पिताको २०१८ मा निधन भएको थियो ।
युनिभर्सिटीबाट निस्केपछि स्टार्मर वामपन्थीहरूमाझ वैचारिक वकिलका रूपमा उदाउनुभयो । उहाँले कट्टर वामपन्थी जर्नल सोसलिस्ट अल्टरनेटिभ्सको स्थापना र सम्पादनमा सघाउनुभयो । सो जर्नललाई त्रोत्स्कीपन्थी भन्ने गरिन्थ्यो, जसको पाँचप्रति मात्र बिकेको भन्दै उहाँले मजाक गर्नुभएको थियो ।
१९८७ मा उहाँले ब्यारिस्टरका रूपमा काम गर्न थाल्नुभयो । १९९० सम्ममा उहाँ चर्चित मानव अधिकार वकिल बनिसक्नु भएको थियो, जसले म्याकडोनाल्ड्स र सेलजस्ता कम्पनीविरुद्ध मुद्दा लडनुभएको थियो भने मृत्युदण्डको विरोध गर्नुभएको थियो । त्यसपछि उहाँ सरकारी वकिल बन्नुभयो । तर, २००८ मा उहाँ बेलायतको सरकारी वकिल कार्यालयको प्रमुख नियुक्त भएपछि उहाँका समर्थहरू छक्क परेका थिए । किनकि तिनको नजरमा उहाँ जसका विरुद्ध लडिरहनु भएको थियो, तिनैको सहयोगी हुन पुग्नुभएको थियो । २०१३ सम्म उहाँ सो पदमा रहनुभयो ।
सन् २०१४ मा उहाँलाई आपराधिक न्यायको क्षेत्रमा गरेको कामका लागि नाइटको उपाधि दिइयो । सन् २०१५ मा उहाँ सांसद हुनुभयो । २०२० मा जेरेमी कोर्बिनलाई विस्थापित गरी उहाँ लेबर पार्टीको नेता बन्नुभएको थियो । उहाँको विवाह सन् २००७ मा भएको थियो । उहाँकी पत्नी भिक्टोरिया एनएचएसमा काम गर्नुहुन्छ । उहाँहरूका दुई सन्तान छन् । स्टारमर फुटबल क्लब आर्सनलका समर्थक हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा