
काठमाडौं । देशभर मनसुन फैलिएसँगै बाढीपहिरो जस्ता विपद्का घटना हुन थालेका छन् । नेपालमा जेठ २८ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए पनि देशभर नफैलिँदा पानी भने पर्न सकेको थिएन । मनसुन देशैभर फैलिएपछि मंगलबार राति र बुधबार मुलुकका केही ठाउँमा भारी वर्षासमेत भएको छ । सुदूरपश्चिम, गण्डकी, बागमती, मधेश र कोशीका केही ठाउँमा बुधबार भारी वर्षा भएको थियो । मंगलबार बिहानदेखि बुधबार अपराहृनसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्याङका घटनाबाट एक दर्जनबढी व्यक्तिको ज्यान गएको छ । विपद्का घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् ।
नेपाल प्रहरीका अनुसार २४ घण्टामा देशभर ४५ वटा विपद्का घटना भएका छन् । चट्याङ, बाढी, पहिरो र आगलागीका घटनाले मानवीय तथा भौतिक भएको छ । बुधबार अपराहृनसम्म सार्वजनिक रिपोर्टअनुसार २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १८ जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् भने नौजना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा पहिरोका घटनाबाट आठजना, चट्याङ लागेर नौजना र बाढीमा परी एकजनाको मृत्यु भएको हो । बाढीका घटनामा परी दुईजना बेपत्ता भएका छन् । पाँचजना पहिरो, तीनजना चट्याङ लागेर र एकजना बाढीमा परेर घाइते भएका छन् । पहिरोका घटनामा परी ओखलढुंगामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका-३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने दुईजना बालिका बेपत्ता भएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिकामा पहिरोमा परी ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उहाँहरू बेपत्ता हुनुभएको थियो । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर शव निकालेका हुन् ।
बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका-५ चितेपानीमा पहिरोले घर नै बगाएको छ । घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो । पोखरा महानगरपालिका-२७ आरुपाटामा पनि पहिरोले घर भत्काउँदा तीन वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ । पहिरोमा परेर नौवटा चौपायसमेत मरेका छन् ।
यसैगरी, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उहाँकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो । यसैगरी, चितवनको माडीमा खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । बुधबार दिउँसो माडी नगरपालिका-५ छरछरेस्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चार जनालाई बगाएको थियो । जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुईजना अझै बेपत्ता छन् ।
चट्याङको कहर
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कवीन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका-३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको जानकारी दिनुभयो । आफ्नै घरनजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर अन्य पाँचजना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका-९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एक/एकजना घाइते भएका हुन् । चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी घोडाघोडी-९ की नौ वर्षीया सरस्वती भुल, सात वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातको बाँकेस्थित कोहलपुरमा उपचार भइरहेको छ । टीकापुर र जानकीका घाइतेहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका-८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुवैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । चट्याङ लागेर झापामा दुईजना, रोल्पामा दुईजना र सुनसरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । देशभर बुधबार मात्रै चट्याङका १३ वटा घटना भएका छन् । देशभर आगलागीका चार वटा घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा घरमा भने क्षति पुगेको छ । बुधबार अपराहृनसम्मको सार्वजनिक तथ्यांकअनुसार देशभर १८ ठाउँमा पहिरो गएको छ ।
विराटनगर जलमग्न
अविरल परेको पानीले निकास नपाउँदा बुधबार विराटनगर जलमग्न भएको छ । मंगलबार रातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भए । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ । महानगर-३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका थिए । यसक्षेत्रका अधिकांश घरको भुइँतलामा दुई फिटसम्म पानी जमेको थियो । वडा ३ कै पीपल चोकको प्रताप मार्गको सडक निर्माण गर्नेक्रममा सडकभन्दा माथि नाली निर्माण गरिँदा त्यहाँका सयभन्दा बढी घर डुबानमा परेका थिए । विराटनगर-४ अन्तर्गत एयरपोर्ट क्षेत्रसहित रामजानकी टोल, रेग्मी समाज टोल र कुमारी राइसमिल आसपासको बस्ती डुबानमा परेका थिए । वडा नं ६ को वरमपुराका पाँच सयभन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष अक्षय सहनीले जानकारी दिनुभयो । वडा नं ११ को जनपथ र मडी टोलका अधिकांश घर डुबानले प्रभावित बनेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताउनुभयो । महानगरको वडा नं १५, १६, १७ र १८ का मिल्स एरिया, लंका, दरैया, दामागिरी र स्लामपुर सहितका अधिकांश बस्ती डुबानले प्रभावित भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका ३६ परिवार विस्थापित भएका छन् । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि बुधबार विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका-४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको थियो । बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो । २०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थलभित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।
चार जिल्लामा भारी वर्षा
देशका चार जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो । महाशाखाको बुधबार साढे ३ बजेको अद्यावधिक विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा १२६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । यस्तै, कल्याणपुर स्टेसनमा १६० दशमलव ६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५ दशमलव ८ र १२४ मिलिमिटर वर्ष भएको छ । यस्तै, झापाको केचनकबलमा १२६ दशमलव ४ र कास्कीको लामापाटनमा ६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा चेतावनी जारी गर्दै सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।
विभिन्न सडक अवरुद्ध
अविरल वर्षापछि देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध बन्न पुगेका छन् । बुधबार बिहान पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीका सडक अवरुद्ध भएका हुन् । जाजरकोटको भेरी नगरपालिका-१ रिम्नास्थित डोल्पा-जाजरकोट सडक खण्ड,कालिकोटको खाँडाचक्र नगरपालिका-७ पिलीस्थित कर्णाली राजमार्ग, लमजुङको बेसीशहर नगरपालिका-६ खरखरेस्थित बेसीशहर-मनाङ सडक खण्ड अवरुद्ध बनेको थियो । यस्तै, अछामको साँफेबगर नगरपालिका-१३ बुढाबगरस्थित साँफे-मार्तडी सडक खण्ड र म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न स्थानका ग्रामीण सडकहरू पनि वर्षासँगै अबरुद्ध बनेका छन् ।
बिजुली उत्पादन प्रभावित
वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी पहिराले जलविद्युत् आयोजनाको उत्पादन प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार साढे ५०० मेगावाट क्षमताका आयोजनाको उत्पादन प्रभावित बनेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भन्नुभयो, ‘बाढी र लेदोका कारण देशैभरका साढे ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन् ।’ यसबाट विद्युत् उत्पादनमा ठूलो क्षति भएको प्राधिकरणले जनाएको छ । चालु वर्षमा थपिएको आयोजनासहित गरी कुल जडित क्षमता ३१ सय ६३ मेगावाट पुगेको छ । तर, साढे पाँच सय मेगावाट क्षमताका कैयौँ आयोजनाको उत्पादन प्रभावित बन्दा भारततर्फको निर्यातसँगै आन्तरिक वितरण नै प्रभावित बनेको प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच