
काठमाडौं । नेपालले दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन चीनसँग प्रस्ताव गरेको छ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार काठमाडौंमा सुरु भएको १६औँ बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो । अहिले नेपाल र चीनबीच परराष्ट्र सचिव तह सम्मको मात्रै द्विपक्षीय कूटनीतिक संयन्त्र रहेको छ ।
भारतसँग भने पहिलेदेखि नै परराष्ट्र मन्त्रीस्तरीय आयोग रहेको छ । मन्त्रीस्तरीय संयन्त्रमा बसेर नै दुई देशबीच समस्या समाधान गर्न सहज हुने भन्दै नेपालले बैठकमा आयोगको प्रस्ताव गरेको गृहकार्यमा सहभागी स्रोतले बतायो । पछिल्लो समय चीनसँग नेपालको हरेक क्षेत्रमा सम्बन्ध र सम्पर्क बढ्दै गएकाले ती विविध विषयमा समग्र छलफल गरी निकास दिन सहज हुने भएकाले नेपालले मन्त्रीस्तरीय आयोगको आवश्यकता महसुस गरेको हो ।
नेपाल र चीनका परराष्ट्र मन्त्री बीचको छलफलमा दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त आयोग गठन गर्ने विषय पनि उठेको अधिकारीहरूले बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार दुई पक्षीय मुद्दामा बृहत् अवधारणा निर्माणमा लागि त्यस्तो संयन्त्र गठन गर्न नेपालले चीनसँग प्रस्ताव गरेको थियो । चीनका लागि नेपालका राजदूत श्रेष्ठले भन्नुभयो, ‘अहिले दुई पक्षीय छलफलको संयन्त्र सचिव स्तरमा रहेकै छ । हामीले सचिव स्तरलाई अलिकति स्तरोन्नति गरेर मन्त्रीस्तरीय बनाऔँ भन्ने प्रस्ताव गरेका हौँ । अलिक उच्चस्तरीय मन्त्री तहकै संयन्त्र भयो भने बैठकमा भएका निर्णयहरूको कार्यान्वयन छिटो हुन्छ । महत्वपूर्ण कुराहरू छलफल हुन्छन् । उहाँहरूले यो राम्रो प्रस्ताव हो भन्दै सोचेर जवाफ दिन्छौँ भन्नुभयो ।’
हाल नेपाल र चीनबीच कैयौँ दुई पक्षीय संयन्त्रहरू छन् जसमा नेपाल चीन संयुक्त परामर्श संयन्त्र पनि पर्छ । नेपालका तर्फबाट परराष्ट्र सचिव सहभागी हुने उक्त संयन्त्रमा चीनको विदेश मन्त्रालयका उपमन्त्रीले प्रतिनिधित्व गर्छन् ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो भने चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङले गर्नुभएको थियो । प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित भएको जनाइएको छ । बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री सुन तीन दिने भ्रमणका लागि सोमबार नेपाल आउनुभएको थियो ।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकमा नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेण्डा तय गरेको छ । यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुनः एकपटक छलफल भएको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एकपटक पनि बैठक बस्न सकिरहेको छैन । नेपाल-चीन व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने यसअघि नै भइसकेको सम्झौता भए पनि कार्यान्वयनको चरणमा गइनसकेकाले उक्त विषय कहाँ पुग्यो भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
मन्त्रालय स्रोतका अनुसार सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँँ लगानीका परियोजनालाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल भएको छ । यसअघि नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा भएको थियो । उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।
चिनियाँँ उपविदेशमन्त्री सुनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उहाँ आज (बुधबार) काठमाडौंबाट स्वदेश फर्किने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच