
काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए-२१) को तेस्रो परिपूरण बैठक सम्पन्न भएको छ । काठमाडौंमा चार दिनसम्म सञ्चालन भएको बैठक शुक्रबार समापन गर्दै अर्थमन्त्री वर्षमान पुनले विश्वव्यापी विकास चुनौती सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापक सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताउनुभयो । दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आइडिए मुलुकका लागि बैठक उपलब्धिमूलक भएको उहाँको भनाइ थियो ।
बैठकले संसारभरबाट गरिबी र अविकास अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेको छ ।
बैठकले संसारभरबाट गरिबी र अविकास अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकोे भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरूका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौं भेलाको सामूहिक निर्णयले अविकसित मुलुकका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने सुनिश्चितता बनेको अर्थमन्त्रीको भनाइ थियो । बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरू विकास साझेदारबाट विकास वित्त प्राप्त गर्दै आएका आइडिए मुलुक र ऋण दाता मुलुकका लागि खुसीको विषय भएको पनि उहाँले बताउनुभयो ।
धेरै आइडिए मुलुकहरूले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, स्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको भन्दै उहाँले उक्त अवस्थाको अन्त्यका लागि बाहृय सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । आइडिए मुलुकका जनताका लागि विद्युत् पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिँदै उहाँले जलवायु परिवर्तन, लंैगिक असमानता, गरिबी अन्त्यजस्ता एजेण्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।
विश्व बैंक समूहले नेपालमा आयोजना गरेको हालसम्मकै ठूलो कार्यक्रमले न्यून आय भएका मुलुकका लागि आगामी वर्षमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ । उद्घाटन सत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्द सत्रमा आगामी तीन वर्ष गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति, ढाँचा, नतिजा खाका र सोका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीबीच गहन छलफल भएकोे अर्थ मन्त्रालयले जनाएको छ ।
बैठक आयोजनाबाट नेपालले अन्तर्राष्ट्रियरूपमा चिनाउन, विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिनुका साथै नेपालका विकास प्राथमिकतालाई आइडिएको नीति प्राथमिकतासँग तादात्म्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रियस्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने नेपाली अधिकारीहरूले बताएका छन् । अर्थ मन्त्रालयका अनुसार बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए । यस्तै, ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुनका लागि आएका थिए ।
अर्थ मन्त्रालयका अनुसार आइडिए-२१ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यस स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । आइडिएले विकास साझेदारको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै विकासमा पछि परेका मुलुकका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दै आएको छ । आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच