काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण निर्माण उद्योगलगायतका अन्य उद्योगमा समस्या देखिएको बताउनुभएको छ । नेपाली युवा निर्माण व्यवसायीको छाता संस्था युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसिएनसी) को १०औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
निर्माण व्यवसायीको भुक्तानी रोकिएको स्वीकार गर्दै उपप्रधानमन्त्री महासेठले यही असार मसान्तसम्म जसरी पनि रकम भुक्तानी गरिने प्रतिबद्धता जनाउनुभयो । व्यवसायीले पाउनुपर्ने रकमको यकिन तथ्यांक नहुँदा पनि भुक्तानीमा केही समस्या देखिएको उहाँको भनाइ थियो ।
निर्माण उद्योगको विकासका लागि समयानुकूल ऐन कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपप्रधानमन्त्री महासेठले अब निर्माणसम्बन्धी ऐन कानुन संशोधन गर्दा निर्माण व्यवसायीलाई अनिवार्य संलग्न गराइने आश्वासन दिनुभयो । नेपाली निर्माण व्यवसायी विगतमा भन्दा पेशागतरूपमा सक्षम हुँदै गएको भन्दै उहाँले विदेशी निर्माण व्यवसायीलाई स्वदेशी व्यवसायीले विस्थापित गर्नैपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डेले ‘सिस्टम’ मा बसेर मुलुकमा केही गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण उद्योगसहित सबै क्षेत्रमा उस्तै विकराल समस्या रहेको बताउनुभयो । आम्दानीको तुलनामा मुलुकको खर्च बढ्दै गएकाले निजी क्षेत्र मारमा परेको उहाँको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हितमा काम गर्न राजनीतिक नेतृत्व चुकेको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगको समस्या समाधान नभएको भन्दै उहाँले निर्माण उद्योग चलायमान नभएकाले आर्थिक समस्या चुलिएको जिकिर गर्नुभयो । निर्माणमैत्री ऐन कानुन नआएसम्म निर्माण उद्योगको विकास हुन नसक्ने सिंहको भनाइ थियो ।
महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योग शिथिल भएकाले नै मुलुकको समग्र अर्थतन्त्र बिग्रिएको भन्दै निर्माण उद्योगको विकासका लागि राज्यका निकाय सकारात्मकरूपमा प्रस्तुत हुन नसकेको गुनासो गर्नुभयो । महासंघका अर्का सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले ‘प्रशासनतन्त्र’ असहयोगी हुँदा निर्माण व्यवसायीमाथि चुनौतीका चाङ थपिएको आरोप लगाउनुभयो ।
वाइसिएनसीका अध्यक्ष सुशीलकुमार श्रेष्ठले निर्माण उद्योगलाई मर्यादित एवं व्यवस्थित बनाउन युवा व्यवसायी कटिबद्ध रहेको बताउनुभयो । वाइसिएनसी सदस्य सौरभ शर्माले निर्माण उद्योगलाई राज्यले उपेक्षा गरेको गुनासो गर्नुभयो । कार्यक्रममा वाइसिएनसीका पूर्वअध्यक्ष निकोलस पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नायब महालेखा परीक्षक घनश्याम पराजुली, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी र वाइसिएनसीका पूर्वअध्यक्ष आनन्दप्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।
वाइसिएनसीले हालै नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक महावाणिज्यदूत नियुक्त महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष शर्मालाई सम्मान थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा