
काठमाडौं । संसदीय राजनीतिमा नेपाली कांग्रेसबारे एउटा भनाइ चर्चित छ- सरकारमा बसेको भन्दा प्रतिपक्षमा बसेको कांग्रेस खतरनाक हुन्छ । पछिल्लो तीन दशकका राजनीतिक घटनाक्रमले पनि यो भनाइलाई पुष्टि गर्छ । कुनैबेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एमाले नेतृत्वको सरकारलाई ‘फू गरेर ढाल्दिन्छु’ भनेको अभिव्यक्ति चर्चित र विवादित थियो । सत्तामा रहँदा पार्टीको आन्तरिक किचलो र मन्त्रीहरूको मनपरीले कांग्रेस असंगठित देखिन्छ । प्रतिपक्षमा हुँदा भने कांग्रेस व्यवस्थित र एकताबद्ध देखिन्छ । यसको उदाहरण बितेको तीन महिनामा देख्न सकिन्छ । महासमिति बैठकमा अनेक विषयमा विवाद गरेर ध्रुवीकृत भएका कांग्रेस नेताहरू सत्ता गुमेलगत्तै एकैस्वर गर्न थालेका छन् । कांंग्रेसले संसद् र सडकमा उपस्थिति देखाएको छ भने नेतृत्व तहमा ‘कार्यगत एकता’ पनि देख्न सकिन्छ ।
प्रतिपक्षीय राजनीतिमा ‘खतरनाक खेलाडी’ को संज्ञा पाएको कांग्रेस अहिले के गर्दै छ त ? जवाफ स्वाभाविक छ- कांग्रेस राजनीतिक कोर्स करेक्सनको प्रयत्नमा छ । सभापति शेरबहादुर देउवा बूढानीलकण्ठस्थित निवासमा बसेर सत्ता राजनीति उलटफेरको रणनीति बनाइरहनु भएको छ । यसमा उहाँलाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहितको दह्रो साथ छ । बुधबार देउवाले सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विपक्षमा रहेका जसपा र लोसपासँग छलफल गरेपछि राजनीति तरंगित भएको छ । कांग्रेस र जसपाकै नेताहरूले यसलाई नयाँ कोर्सको प्रयासका रूपमा व्याख्या गरिसकेका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त नयाँ समीकरणको सम्भावना बढेको बताइसक्नु भएको छ । अहिलेलाई मधेश सरकारबारे छलफल भए पनि भविष्यमा नयाँ गठबन्धन बन्नसक्ने उहाँको भनाइ छ । ‘मधेश सरकारमा वर्तमान सरकार जोगाउने विषयमा कांग्रेस, जसपा, एकीकृत समाजवादी र लोसपाबीच सहमति छ । यही सहमतिलाई निरन्तरता दिएर राजनीतिको कोर्स करेक्सन गर्ने हो’, यादवको भनाइ छ ।
नेपाली कांग्रेसका केही नेताहरू पनि सभापति देउवाको नेतृत्वमा नयाँ गठबन्धन निर्माणका लागि प्रयास भइरहेको बताउँछन् । ‘प्रतिपक्षी दलको नेताले सरकारबारे सधैँ केही न केही सोचेको हुन्छ । हाम्रो सभापतिले पनि केही सोच्नुभएको छ, केही गर्नुभएको छ । अहिलेको राजनीतिमा केही न केही फेरबदल गराउने प्रयास जारी छ’, कांग्रेसका एक नेताले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारहरूले विश्वासको मत लिने क्रम सुरु भएसँगै नयाँ गठबन्धन निर्माणको कुराले तीव्रता पाउँछ । मधेशमा जसपा नेतृत्वको सरकार र गण्डकीमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिन बाँकी छ ।
कांग्रेस के चाहन्छ ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कुनै पनि हालतमा वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ । यसो हुँदा केही प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार पुनःस्थापित हुन्छन् भने कम्युनिष्ट पार्टीहरूको विवाद कायमै रहँदा राजनीतिक लाभ लिन सकिन्छ । माओवादी-एमाले सहकार्य निरन्तर हुँदा वाम एकताको चरणसम्म पुग्नसक्ने कांग्रेसको आँकलन छ । यही कारण प्रचण्डलाई प्रधानमन्त्री राखेर वा नराखेर दुवै अवस्थामा गठबन्धन भत्काउने कांग्रेस रणनीति हो । ‘अहिलेको गठबन्धन कांग्रेसका लागि मात्रै होइन देशकै लागि हितकर छैन ।
प्रधानमन्त्रीले कांग्रेससँग अप्ठ्यारो मानेर काँध फेर्नुभयो तर अहिले उहाँको हालत अझै खराब भएको छ । अब नयाँ गठबन्धनबारे कांग्रेसले मात्रै होइन प्रधानमन्त्रीले पनि सोच्न थालिसक्नुभयो’, एक कांग्रेस नेताको भनाइ छ । कांग्रेस नेताहरूका अनुसार माओवादीले गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने परिस्थिति पहिले निर्माण गरेर पुरानै गठबन्धन ब्युताउँने छलफल दुवै पार्टीमा भइरहेका छन् ।
प्रचण्ड किन कन्फिडेण्ट ?
प्रतिपक्षले अनेक प्रयास जारी राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकार तत्काल तलमाथि नहुनेमा विश्वस्त देखिनुहुन्छ । उहाँले शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । छलफलमा विपक्षी दलको बैठकमा माधवको उपस्थितिबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले माओवादी संसदीय दलको बैठकमा सम्बोधन गर्दै सरकार समस्यामा नपर्ने दाबी गरिसक्नु भएको छ । उहाँले माधव नेपाललाई आफूसँग छलफल गरेरै विपक्षीको बैठकमा गएको भन्दै माओवादी नेतृत्वको सरकार समस्यामा नपर्ने बताउनुभयो । प्रचण्डको कन्फिडेण्टले दलहरूबीच वर्तमान सरकार जोगाएरै नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको आँकलनलाई बल पुगेको छ । ‘एमालेले अहिले साथ दिए पनि एमालेसँग काम गर्न प्रचण्ड कमरेडलाई सजिलो भइरहेको छैन । रास्वपाको व्यवस्थापनमा पनि बढी अलमलिनुपरेको छ । अहिलेको भन्दा पहिलेको ठीक थियो भन्ने अवस्था पनि आउन सक्छ’, माओवादीका एक पोलिटब्युरो सदस्यले बताउनुभयो ।
कतिपय प्रदेश सरकारहरूमा अस्थिरता कायमै रहे मध्यावधि चुनावको समेत सम्भावना बढेर गएको छ । कोशी, गण्डकी, मधेश लगायतका प्रदेशमा मध्यावधिको सम्भावना टार्न पनि सुदृढ गठबन्धनको महसुस प्रधानमन्त्री प्रचण्डले गर्नुभएको माओवादी नेताहरूकै दाबी छ । यस्तो अवस्थामा गण्डकी वा मधेश प्रदेश सरकारको विश्वासको मतसँगै केन्द्रीय राजनीति नयाँ शिरामा बग्न सक्छ ।
ओली अप्ठ्यारोमा ?
सत्ता गठबन्धनको मुख्य घटक भए पनि नेकपा एमाले चौतर्फी समस्यामा छ । गण्डकीमा एमाले नेतृत्वको सरकार सर्वोच्चको आदेशबाट विस्थापित भयो भने कोशीको विवाद पनि केही दिनमै सर्वोच्चले टुंग्याउनेछ । कुनैबेला नेकपा एकीकृत समाजवादीको राजनीतिक हैसियत अस्वीकार गरेको एमाले अहिले उसैसँग गठबन्धनमा छ । सदूरपश्चिममा एमाले अध्यक्ष केपी ओलीको अनिच्छाका वावजुद एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको छ । केन्द्रमा पनि ओली र माधव नेपालबीच सम्बन्ध सुध्रिएको छैन । माधव–देउवा भेटलाई लिएर ओलीले प्रचण्डसँग सिकायत गरिसकेका छन् । जसपा फुटाएर सत्ता राजनीतिमा एमालेलाई निर्णायक बनाउन ओलीले पहल गर्नुभएको थियो । तर, राजनीतिका पछिल्ला घटनाक्रमहरूले एमालेलाई गठबन्धनमा सुदृढ देखाएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच