काठमाडौं । वर्षायामसँगै खोला तथा नदीमा पानीको बहाव क्रमिकरूपमा बढेर देशभित्रका जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबारदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरिएको जनाएको छ ।
यस वर्षको हिउँदमा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात भएको छ भने १३ अर्ब ४७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
खोला तथा नदीमा पानी बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल दैनिकरूपमा चार सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोला तथा नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुर्ई हजार मेगावाट पुगेको छ, विगत सात/आठ वर्षअघि दैनिकरूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर चार/साढे चार करोड युनिट पुगेको छ । आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुर्ई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ, निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौँ ।’
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब दुर्ई सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि(एनभिभिएन) सँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकिएको घिसिङको भनाइ छ । केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित छ सय ५६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको छ । छ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुन-अक्टोबरसम्म पाँच वर्षका लागि एक सय १० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिदबिक्रीको पनि अनुमति पाएको छ ।
छ सय ५६ मेगावाटमध्ये ढल्केबर-मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट पाँच सय ८६ र ७० मेगावाट महेन्द्रनगर-टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गर्नुभयो ।
हिउँदमा १५ अर्बको विद्युत् आयात
प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । सो अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ । प्राधिकरणले गत वर्षको जेठदेखि यस वर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा एक अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । सो अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । आयात गरिएको विद्युत््को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत््को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ सय रुपैयाँ ३८ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालु आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘छ÷सात वर्षअघिसम्म विद्युत््को आयातकर्ताको मात्र अवस्था थियो, दुई/तीन वर्षअघिबाट विद्युत््को निर्यात सुरु गरे तापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ । चालु आवमा निर्यातभन्दा आयात एक अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ, अबको बाँकी अवधिमा निर्यात हुने विद्युत््को परिणामले यो ग्याप पूरा गरी खुद निर्यातकर्ताका रूपमा रहनेछौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा