पाल्पा । पुरातत्व विभागअन्तर्गत तानसेन नगरपालिकाले निर्माण थालेको पाल्पा दरबार परिसरको शीतलपाटीदेखि जिल्ला प्रशासन गेट सम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यतिबेला विवादित बनेको छ । नेपाली सेनाले उक्त क्षेत्रमा मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो । नगरपालिकाले जग्गा मिचेर निर्माण कार्य अगाडि बढाएको भन्दै सेनाले निर्माण कार्य रोक्न भनेपछि उक्त कार्यले विवादको रूप लिएको छ । अहिले नगरपालिका काम अगाडि बढाउने नबढाउने भन्ने विषयमा अलमलमा परेको स्रोतले जनाएको छ ।
सो विषयलाई लिएर नेपाली सेना र जिल्लाका राजनीतिक दलहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् । यहाँ सबै राजनीतिक दलहरूले निर्माणाधीन पर्खाल नेपाली सेनाको ठाडो आदेशमा रोकिएको बताएका छन् भने सेनाले अवरोध नगरिएको तर दलहरूको बुझाइमा भ्रम रहेको बताएको छ । दलहरूले सो विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई भेटेर आपत्ति नै जनाएका छन् । निर्माण कार्य रोकिएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई भेटी स्थानीय सरकारले मापदण्डअनुसार नेपाली सेनाले सहजीकरण गर्नुपर्नेमा उल्टै निर्माण कार्यमा रोक लगाएको भन्दै आपत्ति जनाएका हुन् ।
शीतलपार्टीको घुम्ती साँघुरो हुँदा पटक-पटक ठूला दुर्घटना हुने गरेको सर्वदलीय सहमतिमा तानसेनको शहरी सडकको मापदण्डअनुसार दरबारको पर्खाल निर्माणको क्रममा मोड सुधार मात्र गरेकोमा सेनाले अवरोध गर्नु जनभावनाविपरीत काम भएको दलहरूको गुनासो छ । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली सेना पनि सरकारको एउटा अंग भएको र उसले पनि जनताको लागि गरिने काममा स्थानीय सरकारको नीति नियमलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । सभापति श्रेष्ठले निर्माण कार्यलाई तत्काल सुचारु गर्ने वातावरण सिर्जना गरिदिन प्रजिअलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने भनेर विभिन्न किसिमबाट पुरातत्व विभागदेखि केन्द्र प्रदेश सरकारबाट विभिन्न काम भइरहेको अवस्थामा सेनाले निर्माण कार्य प्रभावित गर्न खोज्नु पाल्पाली जनताको भावनाविपरीत भएको बताउनुभयो । अध्यक्ष घिमिरेले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई फोन गरेर जनताका टहरा भत्काउने, तर अन्य पक्षसँग निरीह हुनेगरी असमान व्यवहार नगर्न अनुरोधसमेत गरेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विकले दलहरूको असहमतिमै दरबार परिसरमा राष्ट्रिय अनुसन्धान, निशान भगवती मन्दिर लगायतका संरचना बने तापनि दरबार परिसरको पर्खाल निर्माणले जगाएको आशामा नेपाली सेनाले अवरोध गरेर जनताको भावनाविपरीत काम गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरेले दरबारको पर्खाल निर्माणमा भएको अवरोधको समाधान जिल्ला सुरक्षा निकायको प्रमुखको हिसाबले प्रमुख जिल्ला अधिकारीले गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले दरबार संग्रहालयलाई गुरुयोजनाअनुसार कार्यान्वयन गर्नको लागि हामीले लालपुर्जा भएको, जिल्ला समन्वय समिति, जिल्ला बालसंगठन, जिल्ला विद्युत् प्राधिकरण, राष्ट्रिय अनुसन्धान कार्यालयहरूलाई पूर्णरूपमा हटाउन लागिरहेको समयमा नेपाली सेनाले बाटो निर्माणमा अवरोध गर्नु राम्रो काम नभएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष विशाल दर्लामीले पाल्पा दरबार संग्रहालय देशकै गहना भएकाले गुरुयोजनाअनुसार दरबारको विकास गर्नुपर्ने समयमा सेनाले स्थानीय सरकारको मापदण्डअनुसार बाटो कायम गर्न अवरोध गर्नु गलत भएको बताउनुभयो ।
तानसेन नगरपालिकाका नगर प्रवक्ता यादव सिंह कार्कीले दरबार क्षेत्रको बाटोको मापदण्ड आठ मिटर भएकाले सोहीअनुसार सबैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । पुरानो संरचना रहँदासम्म नगरपालिकाले कोही कसैलाई जबरजस्ती नगर्ने तर नयाँ संरचना बनाउँदा नगरपालिकाको मापदण्डअनुसार सबैले संरचना बनाउनुपर्नेमा उहाँको जोड छ । संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष देखाएका समस्या समाधानमा गम्भीर बन्न आग्रह गर्नुभयो । स–साना कुरामा सेना र दलहरूबीच द्वन्द्व सिर्जना हुनु राम्रो नभएको भन्दै प्रजिअले समन्वय गरेर चाँडोभन्दा चाँडो निकास निकाल्नुुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यथार्थ कुराहरू बुझेर देखिएको समस्या समाधानको लागि आफूले पहल गर्ने बताउनुभयो ।
नेपाली सेना दि फिशेस महिन्द्र दल गण पाल्पाका गणपति भुपेन्द्र गुरुङले सो क्षेत्रमा नेपाली सेनाको तीन रोपनी जग्गा भएकोमा नगर सरकार तथा प्रमुख जिल्ला अधिकारीको सल्लाहमा पुरानो बाटोभन्दा भित्र पर्खाल लगाउनेगरी भएको सहमतिअनुसार नै पर्खालको संरचना निर्माणको लागि अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकासँग भएको सहमतिभन्दा बढी नै भित्र गएर पर्खाल निर्माणको काम भएको छ । यसले नेपाली सेनाको सुरक्षा गार्ड र मन्दिरको पूजारी बस्ने भवनमै ठूलो क्षति हुने अवस्था आएकाले सहमति अनुसारको पर्खाल निर्माण गर्न निर्माण व्यवसायीलाई अनुरोध मात्र गरेका हौँ ।’
निर्माण कार्यमा सेनाले अवरोध गरेको कुरा दलहरूको बुझाईमा भ्रम परेको गणपति गुरुङको भनाइ छ । दलहरूको भावना अनुसारको जग्गाको विषयमा आफूले निर्णय दिनसक्ने अवस्था नभएकाले माथिल्लो तहमा समन्वय गर्ने उहाँले बताउनुभयो । दरबार संग्रहालय निर्माणको पक्षमा विगतदेखि नेपाली सेनाले सहयोग गर्दै आएको र भोलिका दिनमा पनि आवश्यकताअनुसार सहयोग गर्दै जाने गणपति गुरुङको भनाइ छ ।
अहिले दरबार क्षेत्रमा छुट्टाछुट्टै काम भइरहेको छ । दरबार गेटदेखि जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुंगाको पर्खालको काम लुम्बिनी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरबार गेटदेखि शीतलपाटी तर्फको ७० मिटर ढुंगाको पर्खाल निर्माणको काम शहरी विकास तथा संघीय कार्यान्वयन इकाइ भैरहवाबाट भइरहेको छ । दरबारको मूलढोकाको पुनर्निर्माणको काम भने पुरातत्व विभागबाट भइरहेको छ । काम भए पनि पुरातात्विक शैलीलाई बिर्सेको स्थानीयको गुनासो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच