पाल्पा । आकाशमा बादल लागेर गड्याङगुडुङ आवाज सुनिनेबित्तिकै गुल्मीदरबार गाउँपालिका-५ खज्याङ खोला किनारमा बसोवास गर्दै आएका स्थानीयको निद्रा हराउँछ । वर्षा भएपछि जुनसुकै बेला खोला बाढी आएर घरबार बगाएर लान्छ भन्ने पीरले उनीहरू दिक्क छन् । दुमै खोला खज्याङ र केदुवा खोलामा बाढी नियन्त्रणका लागि तटबन्ध बनाउन सरकारी निकायले चासो नदेखाउँदा खोला किनारका नागरिकलाई वर्षेनी बाढीले पिरोल्ने गरेको छ । बस्तीसँगै टाँसिएर बग्ने खोलामा स्थायी पक्की तटबन्ध नहुँदा वर्षेनी यहाँको बस्ती डुबानमा पर्ने गरेको छ । वर्षातको तीन महिना बस्तीका कोही पनि राम्ररी निदाउन पाउँदैनन् । बालबच्चा र वृद्धवृद्धा भएको परिवार त दिउँसै आकाशको भाव बुझेर पखेरातिर जानुपर्ने बाध्यता छ ।
आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने हो कि भन्ने चिन्ताले सताउने गरेको स्थानीय बबिता सोमरे बताउनुहुन्छ । ‘रात परेपछि ढुक्कले निदाउन सकिन्न, पानी पर्यो कि मन सिरिंग हुन्छ । बाँध बाँधिदिएदेखि ढुक्कले बस्न हुन्थ्यो । बर्खा लाग्न थाल्यो बाँध बनेन’ उहाँ भन्नुहुन्छ, ‘दिन त जसोतसो कटाइन्छ । रात परेपछि चिन्ताले निद्रा पर्दैन । राति बाढी आयो भने कसरी भाग्ने ?’ खोला हाम्रो घरमै पस्छ,’ सोमरेले भन्नुभयो । बाढी आउने चिन्ता त छँदै छ, खानेपानीको समस्या पनि उस्तै रहेको उहाँले बताउनुभयो । सोमरेले भन्नुहुन्छ ‘हामीलाई खानेपानीको समस्या छ । सबैतिर अनुरोध गरियो । हाम्रो गुनासो र मागलाई कसैले पनि सुनेनन् ।’
गत वर्षको बाढीले स्थानीय थानिश्वर भण्डारीको घरमा क्षति पुग्यो । घर छियाछिया बनाएको छ । तर, टालटुल गर्नेसम्म उहाँको सामथ्र्य छैन । तटबन्धको अभाव हुँदा घर नै डुबानमा पर्ने गरेको भण्डारीको गुनासो छ । ‘वर्षा सुरु हुने समय भयो, अब पानी परे घर छोडेर पखेरातिर दौडनुपर्छ’ भण्डारीले भन्नुभयो । उहाँले तटबन्धसँगै खानेपानीको पनि उस्तै समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । भण्डारीले भन्नुभयो ‘मान्छेलाई त पानी खान छैन, पशु चौपायालाई कहाँ हुनु ।’ उहाँले खेती गरेर पनि खाना पाइन्छ कि पाइदैन भन्ने चिन्तै चिन्तामा बस्नुपरेको बताउनुभयो । ‘पोहोर साल खेती राम्रै भएको थियो तर बस्ती नै डुबानमा पर्यो,’ उहाँले भन्नुभयो । खोला नजिकै भए पनि तटबन्धको सुविधा नहुँदा यो समस्याबाट गुज्रिनुपरेको उहाँको भनाइ छ । ‘हाम्रो दुःख सरकारलाई के थाहा ? अहिलेसम्म कसैले केही गरिदिएको छैन,’ भण्डारीले भन्नुभयो । उहाँ खोलामा स्थायी तटबन्ध र खानेपानीको सुविधा भए आफूहरूको धेरै समस्या समाधान भएर जाने दाबी गर्नुहुन्छ । ‘चुनावमा नेताहरू तटबन्ध गरिदिन्छौँ । गरिबलाई घर बनाइदिन्छौँ भन्दै आउँछन्,’ लक्ष्मी भण्डारीले भन्नुभयो ‘चुनाव सकिएपछि बस्तीमा फर्किएर आउँदैनन् । गरिबको कोही नहुने रहेछ ।’
उहाँले खोला भए पनि सिँचाई नहुँदा खेतीपाती समेत नहुने बताउनुुभयो । भण्डारीले भन्नुभयो, ‘केही वर्ष अघि बाढी आउँदा गाडीका गाडी नेता, सिडियो, पुलिस आए । त्यसपछि त फर्किएर पनि आएनन् । हामीलाई केही दिनुपर्दैन । यो बाँध मात्र बाँधिदिए हामी आफैँ जेनतेन गरेर खाने थियौँ ।’ भण्डारी र सोमरे त केही प्रतिनिधि पात्र मात्रै हुन । गुल्मी र सुदुरपुर्व अर्घाखाँचीको पुछारमा रहेको खज्याङ खोलाकिनारमा बसोवास र खेती गर्ने दुई सय मोही किसानहरूको समस्या पनि उस्तै छ ।
समस्याका विषयमा पटक-पटक सम्बन्धित निकायसँग बजेट विनियोजनका लागि आग्रह गर्दैै आएको पनि कही कतैबाट सम्बोधन नभएको स्थानीय समाजसेवी हरि कंडेलले बताउनुुभयो । स्थानीय गौरीशंकर टोल विकास समितिका अध्यक्ष अग्निधर कंडेलका अनुसार बस्ती अत्यन्त जोखिम रहेकाले तटबन्ध निर्माणमा सरकारी निकाय गम्भीर बन्नुपर्ने छ । गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले भने तटबन्धको लागि डिपिआर तयार गरेर प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरेको बताउनुभयो । स्थानीय सरकारको न्युन बजेटले छेउ टुप्पो पनि नलाग्ने भएका कारण प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म पनि सुनुवाई हुन नसेकको उहाँको गुनासो छ । अध्यक्ष थापाले भन्नुभयो ‘योपटक बजेट विनियोजन हुने कुरामा भने विश्वस्त छौँ ।’ पालिकाको तर्फबाट साना तिना काम गरे पनि ठूलो र महँगा कामका लागि संघ र प्रदेश नै ताक्नुपर्ने उहाँको भनाइ छ । वडा अध्यक्ष गुणनीधि पौडेलले पनि खोला किनारका नागरिकको समस्याप्रति आफू पनि निकै चिन्तित रहेको बताउनुभयो । तटबन्ध निर्माणका लागि केन्द्रीय सरकारले नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
भू-तथा जलाधार व्यवस्थापन कार्यालय अर्घाखाँचीका प्रमुख शम्भु झाले केन्द्रबाट आउने बजेटको सिलिङ सिमित क्षेत्र तोकेर आउने भएकाले गुल्मीतर्फको खज्र्याङ क्षेत्रमा तटबन्ध निर्माण गर्न नसकिको बताउनुभयो । उहाँले भन्नुभयो ‘केन्द्रबाट ठाउँ तोकेर आउने र प्रदेशबाट आउने बजेट अत्यन्त कम हुँदा तीन जिल्लाका लागि छुट्याउनुपर्दा केही महत्वपूर्ण क्षेत्रहरूमा काम हुन सकेको छैन ।’ आगामी बजेटमा तटबन्ध निर्माणका लागि पहल गर्ने झाको भनाइ छ । खानेपानीको व्यवस्थापनको जिम्मेवारी पाएको खानेपानी डिभिजन कार्यालय गुल्मी खज्याङ खानेपानी समस्याका बारेमा अनविज्ञ रहेको पाइन्छ । कार्यालय प्रमुख अनोज उपाध्यायले त्यहाँको वस्तुस्थितिका बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच