
काठमाडौं । महिला सुरक्षा दबाब समूहले सरोकारवालाहरूसँग राष्ट्रिय संवाद गरेको छ । महिला हिंसा अन्त्य गर्नका लागि बनेका कानुनहरूमा भएका कमी कमजोरीबारे सुझाव संकलन गर्ने उद्देश्यले शुक्रबार समूहले सरोकारवालाहरूसँग राष्ट्रिय संवाद गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न संवाद कार्यक्रममा संस्थाकी उपाध्यक्ष इरादा गौतमको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रा.डा. शशी अधिकारीले महिला हिंसा सम्बन्धमा बनेका कानुनहरूमा भएका कमी कमजोरी सम्बन्धमा गर्नुभएको अनुसन्धान पत्रको निचोड प्रस्तुत गर्नुभएको थियो । महिला सुरक्षा दबाब समूहले सञ्चालन गरेको यो अन्तिम तथा राष्ट्रियस्तरको संवाद हो ।
कार्यक्रमकी प्रमुख अतिथि महिला बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले भन्नुभयो, ‘नागरिकतामा बाबु नहुँदा पनि बाबुकै नाम उल्लेख गर्नुपर्ने बाध्यता अहिलेसम्म छ । यो संशोधन हुनुपर्छ ।’ विदेशबाट गर्भवती भएर आउने महिलाका बालबच्चाका लागि पनि कानुनमा लेखिदिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले महिलाले अंश र वंश दुवैमा अधिकार पाउनुपर्नेमा जोड दिनुभयो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अन्य देशका महिलाका तुलनामा नेपालका महिलाहरूको हकमा कानुन राम्रो बने पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । देशको शिक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले कानुनका कमजोरी एवं कार्यान्वयनको कमीबारे न्यायालयले पनि आँखा देख्न सुझाव दिनुभयो । सांसद रुपारोशी चौधरीले महिला सुरक्षा दबाब समूह र सरकारबीच कार्यान्वयनमा साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । कांग्रेसकी उपसचेतक सीताकुमारी रानाले महिलाको नेतृत्व महिलाले नै नस्वीकार्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्यनीति बनाउनु छ भने महलकालाई होइन झुपडीका महिलालाई हेर्नुपर्छ ।’ संस्थाकी अध्यक्ष इरादा पराजुली गौतमले धन्यवाद तथा कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी महासचिव विजया श्रेष्ठ केसीले अतिथिहरूको स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम पत्रकार आरती चटौतले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच