काठमाडौं । नेपालमै गाडी एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । दक्षिण कोरियाको हुण्डाई कम्पनीले शुक्रबार एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा सञ्चालनमा ल्याएको हो । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा स्थापना गरेको एसेम्बल प्लान्ट शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै नयाँ उद्योग सञ्चालनपछि नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारले रोजगारी प्राप्त गर्ने उहाँको भनाइ थियो । स्वदेशमै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत् खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने उल्लेख गर्दै उहाँले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसर सिर्जना हुन सक्दैनन्, देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीका क्षेत्रको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’
भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको, लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्वपूर्ण ऐनहरू संशोधन गरेको भन्दै उहाँले लगानीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाहृय लगानीलाई प्रोत्साहित र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको जिकिरसमेत गर्नुभयो ।
लक्ष्मी मोटर कर्पोरेसन व्यावसायिक घराना लक्ष्मी ग्रुपको हो । कर्पोरेसनले २०७६ सालमा पाँच अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएसँगै कर्पोरेसनले प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याएको हो । प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने कोरियाली कम्पनी मोट्रेक्सको योजना छ ।
प्लान्ट पूर्ण क्षमतामा सञ्चालनपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन हुने बताइएको छ । सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने र क्रमिकरूपमा नेपालमै पार्ट्स पनि उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । प्लान्ट स्थापना गरेर हुण्डाई भेन्युको परीक्षण उत्पादन गरिसकेको कम्पनीले प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण उपकरणसमेत जडान गरिसकेको छ । कम्पनीका अनुसार उक्त प्लान्टमा दुर्ई सयजनाले रोजगारी पाएका छन् ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुण्डाई कम्पनीका गाडी नेपालको डिलरका रूपमा बिक्री गर्न थालेको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका १२ मोडेलका कार बिक्री गर्दै आएको छ । सुरुवातमा पुष्टकारी व्यवसायमार्फत् व्यवसायमा हात हालेको लक्ष्मी ग्रुपले हाल अटोमोबाइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आएकोे छ । लक्ष्मी ग्रुपअन्तर्गतका देशभरका २० भन्दा धेरै कम्पनीमा करिब दुई हजारले रोजगारी पाइरहेका छन् । लक्ष्मी ग्रुुपअन्तर्गत सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुण्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत रहेका छन् ।
१९६७ डिसेम्बर १९ का दिन चाङ जु युङले दक्षिण कोरियामा ‘हुण्डाई मोटर्स’ स्थापना गर्नुभएको थियो । हुण्डाई गाडी विश्वभर बिक्री हुँदै आएको छ । हुण्डाई मोटर समूह दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हुण्डाई मोटर कम्पनीको स्वामित्वमा रहेको छ । हुण्डाई कार दुई सयभन्दा बढी देशमा बिक्री हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच