
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपालको राजकीय भ्रमणमा आउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आउनुभएका उहाँ मंगलबार अपराहृन काठमाडौं ओर्लनुभएको हो । राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउनुभएको हो । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमेत विमानस्थल पुग्नुभएको थियो । यसैगरी, कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो । कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट भएको हालसम्मकै उच्च हो । कतारबाट अहिलेसम्म नेपालमा राष्ट्र प्रमुखको भ्रमण हुन सकेको थिएन । नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । नेपालका तर्फबाट कतारको बारम्बार उच्चस्तरीय भ्रमण हुँदै आए पनि कतारी राज्य प्रमुख नेपाल आएको यो पहिलोपटक हो । नेपालबाट सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गर्नुभएको थियो । त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गर्नुभएको थियो । यस्तै, वर्तमान प्रधानमन्त्री प्रचण्डले सन् २०१४ मा अनौपचारिक रूपमा कतारको भ्रमण गर्नुभएको थियो ।
कतारमा राज्य प्रमुखलाई ‘अमिर’ भनिन्छ । ४३ वर्षीय थानी सन् २०१३ को जुनदेखि कतारको अमिर हुनुहुन्छ । कतार मध्यपश्चिम एसियाको एक सानो देश हो । कतार विश्वका पाँच उच्च प्रतिव्यक्ति आय भएका देशमध्ये एक हो । सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर कतार विश्वभर विशेष चर्चामा आएको थियो । उहाँको सम्मानमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको थियो । काठमाडौं ओर्लेलगत्तै शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएका अमिर राति राष्ट्रपति पौडेलले आयोजना गरेको राजकीय भोजमा सरिक हुनुभएको थियो ।
अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृत रथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन गरिएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । उहाँ आज (बुधबार) दिउँसो काठमाडौंबाट प्रस्थान गर्नुहुने छ ।
डेढ सय जनाको भ्रमण दल, ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै
कतारका अमिर अल थानी ठूलो दलबलसहित नेपाल भ्रमणमा आउनुभएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उहाँसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको मन्त्रालय स्रोतले जनाएको छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखी रहनुभएको छ । यसैगरी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्युआइए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल-हजरी भ्रमण दलमा हुनुहुन्छ ।
विपिन जोशी रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी राजासँग आग्रह गर्नुभएको छ । नेपालको राजकीय भ्रमणका क्रममा रहनुभएका कतारी राजा अल थानीसँग शीतल निवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो । जवाफमा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताउनुभएको थियो । राष्ट्रपति पौडेलले युद्धको अन्त्य र शान्तिको पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको थियो । त्यस्तै, कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताउनुभएको थियो ।
राष्ट्रपतिको सचिवालयका अनुसार कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । अमिरले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको भन्दै त्यसको प्रशंसा गर्नुभयो । राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको जानकारी गराउनुभयो । भेटवार्तामा कतारका अमिरले नेपालका लागि गर्न सकिने थप सहयोगमा चासो राख्नुभएको थियो ।
आज प्रधानमन्त्रीसँग भेटवार्ता, के-के विषयमा हुँदै छ समझदारी र सम्झौता ?
कतारका अमिर शेख थानीले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारी पत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको थियो । भ्रमणका क्रममा नेपाल र कतार बीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै, दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारी पत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहारस्वरूप दिइने तयारी गरिएको हो ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुंगो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्युज एजेन्सी’बीच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । कार्यक्रमपछि मध्याहृन १२ बजे प्रधानमन्त्री प्रचण्डले उहाँको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नु हुनेछ ।
कतारबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्छ : पूर्वराजदूत उपाध्याय
करिब ५ लाख नेपालीलाई रोजगारी दिएको कतारका अमिरको नेपाल भ्रमण उच्च राजनीतिक तहमा मात्र होइन, आम सर्वसाधारणबीच पनि चर्चाको विषय बनेको छ । परराष्ट्र र श्रमिक मामिलाका जानकारहरूले कतारका अमिरको भ्रमण अविस्मरणीय रहेको र नेपालले यसलाई दीर्घकालीन हितका रूपमा सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् । कतारका अमिर एउटा राष्ट्राध्यक्ष मात्र नभएर मध्यपूर्वको प्रभावशाली शक्ति पनि रहेकोले उहाँको भ्रमण महत्वपूर्ण रहेको विश्लेषण भइरहेको छ । कतार इजरायल-हमास द्वन्द्वको मध्यस्थकर्ता पनि रहेकाले बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे पनि नेपालले कुरा गर्नुपर्ने विज्ञको सुझाव छ ।
भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले कतारी राजाको नेपाल भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो । कतारी अमिर पूर्वी एसियाका महत्वपूर्ण व्यक्तित्व भएको उहाँले बताउनुभयो । कतारसँग भएको श्रम सम्झौतालाई अझ नेपालीको हकहितमा अद्यावधिक गरेर नयाँ तहको समझदारी बनाउन सके नेपाली श्रमिकले थप फाइदा लिनसक्ने उहाँको भनाइ छ । ‘श्रमिकलाई थप सुविधाहरू उपलब्ध गराउने गरी सम्झौता हुनसके आम जनताकै जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सक्थ्यो, उहाँले भन्नुभयो ।’ कतार लगानीकर्ता देश पनि भएकाले त्यहाँबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्ने उहाँको भनाइ छ ।
श्रमिकको हितअनुकूल श्रम सम्झौता परिमार्जन गर्न आवश्यक : पूर्व-परराष्ट्रमन्त्री डा. खड्का
नेपाली कांग्रेसका नेता तथा पूर्व-परराष्ट्रमन्त्री डा. नारायण खड्काले कतारी अमिरको भ्रमण बहुउपयोगी हुने बताउनुभएको छ । भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको हितअनुकूल हुनेगरी श्रम सम्झौतालाई परिमार्जन गर्न सकिने उहाँको भनाइ छ । साथै चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्व समुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको उहाँको जिकिर छ । यस्तै, परराष्ट्रविद् जयराज आचार्यले कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताउनुभयो । उहाँले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर, कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच