
चैत्र पूर्णिमा अर्थात् हनुमानजयन्ती आज । प्रायः हामी सधैं हनुमानचालिसा पढ्ने गर्छौं, हनुमानजीको पूजा गर्ने गर्छौं तर के हामीले हनुमानजीबाट शिक्षा ग्रहण गर्न सकेका छौं ? के यो व्यवस्थाको विरुद्ध लाग्नेहरूले हनुमानजीबाट शिक्षा प्राप्त गरेका छन् ? यदि हनुमानजीबाट शिक्षा प्राप्त गरेको भए आज दुष्टहरूको यो व्यवस्था ढलिसक्ने थियो । ऋग्वेदको प्रारम्भमै भनिएको छ, ‘दुुष्ट र चोरहरू तपाईंको भाग्यविधाता (शासक) नबनून्, तपाईंलाई श्रेष्ठ संरक्षण मिलोस्, तपाईंहरू दुष्टहरूबाट टाढा बस्नुहोस्, परमेश्वरले तपाईंहरूको रक्षा गर्नुहोस् ।’ तर, आज नेपालीहरू दुष्टहरूको व्यवस्थामा बसेर यिनै दुष्टहरूलाई आफ्नो भाग्यविधाता बनाएर वेदविरोधी र सनातन धर्मविरोधी कार्य गरिरहेका छन् ।
हनुमानको साथ नपाएको भए रामले दुष्ट रावणको वध गरी राक्षसी शासनव्यवस्थाको अन्त्य गर्न सक्ने थिएनन् । यहाँ चूप लागेर बस्ने राम त छन् तर हनुमानजी छैनन् । न त उनीबाट सिक्न चाहनेहरू छन् । यो दुष्टहरूको व्यवस्था परिवर्तन गर्न परिवर्तनकारी शक्तिहरूले हनुमानजीबाट शिक्षा लिनुपर्छ । हनुमानजी असंख्य प्रेरणाहरूका स्रोत हुन् । उनी बुद्धि, शक्ति र सरलताको भण्डार हुन् । उनीबाट प्रेरणा लिनुपर्ने कुराहरूमा प्रभु श्रीरामप्रति भक्तिभावना, जीवनमा सरलता, कुनै पनि कामलाई हतारमा नगर्नु र आफ्नो ध्यान एकाग्र राख्नु । लक्ष्य प्राप्तिका लागि एकाग्रता अत्यन्त जरुरी छ । परिवर्तनकारी शक्तिहरूले देश तथा राजसंस्थालाई आफ्नो एकमात्र आस्थाको केन्द्र मान्छन् र मान्नु पनि पर्छ ।
हनुमानजीबाट हामी दुरुदर्शिताको पाठ सिक्न सक्छौं । उनले सहज र सरल वार्तालापबाट सुग्रीवलाई सम्झाएर राम निकट ल्याए र विभीषणको खोजी गरी सत्य तथा धर्मलाई साथ दिन भनी रामसँग मिलन गराए । सुग्रीवको सहयोगले बालिको र विभीषणको सहयोगले रावणको बध गरे ।
तर, यहाँ बाहृय रूपमा त्यस्तो देखिए पनि भित्री रूपमा यो भावना उनीहरूमा छैन । नत्र अहिलेसम्म आन्दोलनले एउटा मोड लिने थियो र लक्ष्यको नजिक पुग्ने थियो । यसलाई आफ्नो चुनावी नाफाको माध्यम बनाए लक्ष्य कुनै पनि अवस्थामा प्राप्त हुन सक्दैन् । त्यसैले सबै परिवर्तनकारी शक्तिले हनुमानजीबाट शिक्षा लिनुपर्छ । हनुमानजी एउटा कुशल तथा सफल प्रबन्धक थिए । उनीबाट मन, कर्म र वाणीमा सन्तुुलन गर्नुपर्छ भन्ने सिक्न सकिन्छ । ज्ञान, बुद्धि, बल र विद्या उनमा अपरम्पार भए तापनि उनमा विनम्रता थियो । सही समयमा सही काम गर्नु र उक्त कामलाई सफलतामा पुर्याउनु उनमा चमात्कारिक गुण थियो ।
उनमा कार्यमा कुशलता तथा निपुणता थियो । उनमा सिकिरहने गुण सदैव रहिरहन्थ्यो । माता अञ्जनी, पिता केसरी र आध्यात्मिक पिता पवनबाट बाल्यकालमा शिक्षा पाएका थिए । उनले गुरु मतंगबाट शिक्षा लिए र सूर्य भगवानबाट पूरै विद्या ग्रहण गरे । उनको कार्यकुशलता तथा निपुणता उनको काममा देखिन्छ । उनले सुग्रीवलाई रामसँग भेट गराए । सुग्रीवलाई बालिसँग प्रतिशोध लिनु थियो तर आफ्नो क्षमताले भ्याइरहेका थिएनन् र रामलाई वनबासीहरूको साथ र सैन्य संगठन चाहिएको थियो । हनुमानले दुवैको स्वार्थ पूरा गर्न सुग्रीव र रामको मिलन गराए । सही योजना, मूल्य र प्रतिबद्धताको सम्मिश्रण थियो हनुमानजीमा । हनुमानजीलाई रामले कुनै काम सुम्पिए पहिले त्यसको योजना बनाउँथे अनिमात्र कार्यान्वयन गर्थे ।
श्रीरामले आफ्नो औंठी दिएर लंकामा गएर सीतालाई दिन र उनी चाँडै नै आउँदैछन् भन्ने सन्देश दिन हनुमानलाई आदेश दिएका थिए । तर, हनुमानले लंका जानदेखि त्यहाँ पुगेपछि के के बाधा आउँछन् त्यसको आकलन गरे र त्यस अनुरूप योजना बनाए । उनलाई थाहा थियो लंका पुगेपछि बाधा अड्चनहरू आउनेछन् । उनले कडारूपमा रावणलाई रामको सन्देश दिए, लंकामा रावणको विरोधी को छन् भनेर पत्ता लगाए र विभीषणलाई भेटेर रामका पक्षमा ल्याए, अक्षयकुमारको बध गरे, सीतालाई औंठी दिएर रामको सन्देश पनि सुनाए, लंका दहन गरे र सुरक्षित रूपमा रामकहाँ फर्केर पनि आए । यो उनको सफल कार्ययोजनाको परिणाम हो । के यस्तो योजना परिवर्तनकारी शक्तिहरूले बनाउन सक्छन् । हनुमानजीले सिकाउँछन् कि कुनै पनि लक्ष्यलाई प्राप्त गर्नु छ भने त्यसमा समर्पण, प्रतिबद्धता र ध्यानको आवश्यकता हुन्छ ।
कुनै पनि लक्ष्यमा पुग्न दूरदर्शिता आवश्यक छ, हनुमानजीबाट हामी दूरुदर्शिताको पाठ सिक्न सक्छौं । उनले सहज र सरल वार्तालापबाट सुग्रीवलाई समझाएर राम निकट ल्याए र विभीषणको खोजी गरी सत्य तथा धर्मलाई साथ दिन भनी रामसँग मिलन गराए । सुग्रीवको सहयोगले दुष्ट बालिको बध गरे भने विभीषणको सहयोगले दुष्ट रावणको बध गरे । आफ्ना सहयोगी सुग्रीव र रामलाई राजा बनाएर रामको अधीनस्थ पार्न हनुमान सफल पनि भए । शत्रुको शत्रु मित्र हुन्छ भन्ने सन्देश हनुमानले दिएका छन् । के कहिल्यै आफूलाई परिवर्तनकारी शक्ति भन्नेहरूले शत्रु खेमाभित्र आफ्नो मित्र खोज्ने कष्ट गरे ?
मित्र खेमाकै मित्रशक्तिहरूलाई आफ्नो बनाउन नसक्नेले शत्रु खेमाका शत्रुभित्रका मित्रलाई मित्र कसरी बनाउन सक्छन् ? हनुमानजीले साम, दाम, दण्ड र भेद नीति अपनाई रामलाई सफल बनाएका थिए । हनुमानजीबाट हामी यही शिक्षा पाउँछौं कि लक्ष्य महान् छ र त्यसलाई प्राप्त गर्नु देश तथा जनता सबैको हितमा छ । कुनै पनि लक्ष्यमा पुग्न अदम्य साहसको आवश्यकता पर्छ । जस्तोसुकै परिस्थितिमा पनि विचलित नभईकन अदम्य साहसले र दृढ इच्छाशक्तिले अगाडि बढ्नुपर्छ भन्ने शिक्षा हामी हनुमानजीबाट पाउँछौं । रावणलाई चेतावनी दिनुमा उनको निर्भीकता, दृढता, स्पष्टता र निश्चिन्तता अनुपम थियो । उनलाई छलकपट आउँदैनथ्यो न त अनावश्यक प्रदर्शन । व्यवहारमा पारदर्शिता थियो तर कुटिलता थिएन ।
नेतृत्वमा विनम्रता अत्यावश्यक छ । हनुमानजी महाबलशाली थिए तर उनी अत्यन्त विनम्र थिए । उनले लंका दहन गरे, कैयौं असुरहरूको बध गरे, शनिदेवको घमण्ड चूर गरे, पौण्डकको शहरलाई उजाड बनाए, भीमको घमण्ड तोडे, अर्जुनको घमण्ड नाश गरे, बलरामको घमण्ड चूर चूर गरे ।
उनमा आफ्नो कुरा भन्न नैतिक साहस थियो । जसलाई रावणले पनि प्रशंसा गरेका थिए । उनको बुद्धि, कौशल र नीतिको प्रशंसा गर्न रावण पछि परेका थिएनन् । एउटा सफल नेतृत्वले योजनालाई सफलतामा पुर्याउँछ । हनुमानजी रामको आज्ञाको पालन गर्दथे तर उनी वानर सेनापति भएकोले आफ्नो योजनामा चल्थे । सबैलाई साथ लिएर हिँड्ने उनको बानीलाई रामले पनि चिनिसकेका थिए । तर, हाम्रा कथित परिवर्तनकारी शक्तिहरूले एक अर्कालाई एउटै लक्ष्यमा सँगै लिएर हिँड्न सिकेका छैनन् । अनि कसरी आन्दोलन सफल हुन्छ ? हाम्रा परिवर्तनकारी भनिने शक्तिहरूमा केवल आफ्नै डम्फु बजाउने गुणमात्रै छ । सबैलाई सम्मान गर्नु, सक्रिय र ऊर्जावान भएर कार्य सम्पन्न गर्ने क्षमता भएका व्यक्ति नै नेता बन्न सक्छन्, बाँकी सबै तमाशे हुन् ।
जस्तोसुकै परिस्थितमा प्रसन्न रहनु, ऊर्जावान रहनु सफल नेताको पहिचान हो । यो गुण हनुमानजीमा थियो । उनमा कहिले चिन्ता, शोक र निराशा देखिएन् । आफ्नो कार्य गर्दा कहिल्यै गम्भीर भएनन् । लंकामा गएपछि वृक्षहरू भाँचे, उखेले, फलफूल टिपेर खाए । लंकामा गएर रावणलाई रामको सन्देश पनि दिए । त्यस्तै द्वारिकामा गएर पनि त्यसै गरे र बलरामको घमण्ड तोडे । उता द्वारकाको राजमहलमा सत्यभामा र गरुडको घमण्ड पनि तोडे । उनमा जुनसुकै कार्र्य गर्दा सोच्ने र तुरुन्त कार्यान्वयन गरिहाल्ने क्षमता थियो ।
आज प्रायः मानिसहरूको मुखमा यो व्यवस्थाभन्दा त राजाकै व्यवस्था ठीक थियो भन्ने भावना छ । तर, उनीहरू सही नेतृत्वको अभावमा सडकमा आउन सकेका छैनन्, उनीहरू एउटा सही नेतृत्वको खोजीमा छन् । जब हनुमानजीलाई औंठी लिएर सीतालाई दिनजान रामले भने उनले आफ्नो असमर्थता व्यक्त गरे । जब जाम्बवानले उनलाई उनको शक्ति याद दिलाए तब हनुमानजी महाबलशाली भएर निस्के । जनता महाबली छन् । तर उनीहरूलाई उनीहरूको बल चिनाउने यहाँ एउटा जाम्बवान अचाहिएको छ ।
नेतृत्वमा विनम्रता अत्यावश्यक छ । हनुमानजी महाबलशाली थिए तर उनी अत्यन्त विनम्र पनि थिए । उनले लंका दहन गरे, कैयौं असुरहरूको बध गरे, शनिदेवको घमण्ड चूर गरे, पौण्डकको शहरलाई उजाड बनाए, भीमको घमण्ड तोडे, अर्जुनको घमण्ड नाश गरे, बलरामको घमण्ड चूर चूर गरे । उनले आफ्नो शक्तिको प्रदर्शन गरे पनि विनम्रतालाई कहिल्यै त्याग गरेनन् । उनी रावणसँग पनि विनम्र भए र अर्जुनसँग पनि । सुरुमा सबैलाई विनम्र भएर सम्झाए नमानेपछि उनले उग्र रूप धारण गरी आफ्नो शक्ति देखाए । उनमा रामप्रति भक्तिभाव थियो र रामको आज्ञाले सबै काम गरे तर हाम्रा कथित परिवर्तनकारी शक्तिहरू यस्तो कुनै कार्य गर्दैनन् ।
यजुर्वेद हुनु पर्नेमा ऋग्वेद भएकोले कृपया सच्चाएर पढ्न हुन ।