
काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ । साथै त्यति नै रकम बिगो कायम गरी सोहीबमोजिम जरिवाना असुलउपर गर्नसमेत माग दाबी पेस गरेको छ ।
अख्तियारद्वारा दायर मुद्दामा पौडेलले राष्ट्र सेवकको हैसियतमा बहाल रहेकै अवस्थामा अमेरिकाको पिआर लिएको साथै पदावधि थपिएपछि पनि उक्त कुरा लुकाएर झुट्टा विवरण देखाएको उल्लेख छ । अख्तियारद्वारा दायर भएको आरोपपत्रमा उल्लेख छ, ‘सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफैँले स्वःघोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेस गरी राष्ट्रसेवकको हैसियतले बहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाइ छुपाइ झुट्टा विवरण बुझाई राष्ट्रसेवक पदमा बहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ ।’
नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा शुक्रबार मात्र दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनः अर्को मुद्दा विशेष अदालतमा पु¥याएको छ । अख्तियारले पौडेलसहित नौ जनाविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । पछिल्लोपटक २०८० माघ १० गते सुनील पौडेल र अर्का भ्रष्टाचार आरोपित विकल पौडेललाई अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो ।
पेमेण्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनः अर्को मुद्दा दायर गरेको हो । तीमध्ये विशेष अदालतले पौडेललाई मात्र दोषी ठहर गरेको हो । सुनील हाल अख्तियारकै हिरासतमा छन् ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको उल्लेख गरेको छ । त्यसमध्ये २०६२ देखि ०६५ सम्मको अवधिमा उनी सार्वजनिक पदमा थिएनन् । बाँकी अवधिमा उनी विभिन्न मितिमा सार्वजनिक पदमा बहाल थिए । खासगरी दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ ।
सुनीलसँगै पक्राउ परेका विकलका विषयमा भने अनुसन्धान जारी रहेको छ । विकल पनि १० माघमा सुनील पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो । अनुसन्धानका क्रममा अख्तियारले विकलले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र लिएको खुलेपछि आइतबार नै विकलविरुद्ध सो सम्बन्धी अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
नेपालमा ठेक्कापट्टा कमिसन सिंगापुरको बैंकमा
सुनीलको अहिलेसम्मको सबै प्रकारको वैधानिक आय हेर्दा जम्मा एक करोड १९ लाख २४ हजार रुपैयाँबराबर देखिन्छ । तर, वैधानिक आयभन्दा कैयौँ गुणा बढी सम्पत्ति रहेको फेला परेको छ । कतिसम्म भने उनले नेपालमा हुने प्रत्येक ठेक्कापट्टाको कमिसन सिंगापुरको बैंक खातामा जम्मा गर्न लगाउने गरेको पाइएको छ ।
उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैँले बोलपत्रहरूको कोटेसन बनाई योजनाबद्ध ढंगले आफैँले चाहेको आपूर्तिकर्ता डब्लुडिएन, ओबिसिआई, म्याक्स, नेक्स्ट जेन सोलुसनलगायत कम्पनीहरूसँग ठेक्का सम्झौता गरेको पाइएको छ ।
स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र बोनकोटेक पिटिई लिमिटेडजस्ता कम्पनीहरूसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरू आपूर्ति गर्ने र सो साझेदारीबापत विदेशी कम्पनीहरूले कमिसनबापत उनको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
यति मात्र होइन, अन्यत्रबाट संकलित घुस र कमिसन पनि उनले त्यही बैंकबाट ट्रान्सफर गरेको पाइएको छ । उनका सहोदर दाइ अनील पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा पनि उनले लगानी गरेको भेटिएको छ ।
महँगा गहना, उच्च जीवनस्तर यापन, स्वदेशी बैंकहरूमा रहेको बैंक मौज्दात, विभिन्न कम्पनीहरूको सेयर खरिद, सिंगापुरको प्रुन्डेन्सियल कम्पनीमा जीवन बीमाको प्रिमियमबापत तिरेको रकम, निजी तवरमा विभिन्न देशमा भ्रमण गर्दा हवाई यात्रा र अन्य किनमेल, सुन, चाँदी, हीरा, जवाहरत खरिद हेर्दा उनको कुल आम्दानी २४ करोड ९४ लाख ७१ हजार रुपैयाँ हुन आउँछ ।
यसमध्ये एक करोड १९ लाख २४ हजारको वैधानिक स्रोत खुले पनि बाँकी सबै अवैध तरिकाले आर्जन गरेको देखिन्छ । आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा गैरकानुनी रूपमा खाता खोली रकम जम्मा गर्ने, त्यस्तो गैरकानुनी रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच