
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रिन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ । सम्झौताअनुसार ग्रिन हाइड्रोजन उत्पादन गर्न केयुका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्ययनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताअनुसार उत्पादन सुरु गर्नेछन् ।
उक्त परियोजनाले हाल तीन हजार दुर्ई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतामा केयुका स्कुल अफ इञ्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इण्डष्ट्रीका संयोजक डा. राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।
आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रिन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले सुरक्षितरूपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याइने गरी उत्पादन गरिने केयुले जनाएको छ । त्यस्तै, हाइड्रोजन उत्पादनको दायरा बढाउन अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न सकिने केयुले पनि जनाएको छ ।
कम्पनीका अध्यक्ष श्रेष्ठले जापान गएर ग्रिन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर सोप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताउनुभयो । प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रिन हाइड्रोजन उत्पादन गर्न सके उत्पादन बढाउँदै लैजाने उहाँको भनाइ थियो ।
उत्पादित हाइड्रोजन सोही अवस्थामा ग्याँस, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिने बताइएको छ । विगत दुर्ई वर्षदेखि ग्रिन हाइड्रोजन उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयुले २०७९ चैत १९ गते औपचारिकरूपमा ग्रिन हाइड्रोजन उत्पादन गरेको थियो । केयुलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गर्दै आएको छ ।
निगमकै सहयोगमा कोरियाबाट हुण्डाईको नेक्सो कार भित्र्याउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ । जसका लागि निगमले केयुलाई पाँच करोड सहयोग उपलब्ध गराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच