
काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली हिमाल र पहाडमा हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार काठमाडौंसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आपसमा रंग र अबिर दलेर होली मनाइएको हो । तराईमा भने आज (मंगलबार) होली मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।
यस वर्षको होली सौहार्दपूर्ण वातावरणमा मनाइएको छ । ऐतिहासिक हनुमानढोका क्षेत्रस्थित वसन्तपुर क्षेत्रमा होली खेल्न युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको उत्साहजनक सहभागिता थियो । उनीहरूले एक–अर्कालाई विभिन्न रङ र अबिर लगाएर आत्मीयता साटासाट गरेका हुन् । वसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य थियो । वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइएको थियो । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाएका छन् विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक पनि रङ्गै-रङ्गको पर्व होलीको उमंगमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा त्यसैगरी पोखराको लेकसाइडमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रंग, अबिर लगाएर नाच गान गरेर होली मनाएका छन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन् । ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं महानगरपालिका-२६ सञ्चयकोष अगाडि सडकमा सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ । उता, पोखरा घुम्न आएका पर्यटकलाई रंगीन पल बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको थियो । रङहरूको पर्वमा झुम्न पाएका पर्यटकले होलीलाई यादगार बनाउँदै मनाएका छन् । नेपाल घुम्न आएको बेला संयोगले होली पर्व मनाउन पाएपछि पर्यटक दंगदास देखिन्थे । पर्यटक मात्रै होइन, आइतबार पोखरा लेकसाइड पुगेका हरकोहीको मुहार रंगीचंगी थियो । एक-अर्कालाई रङ दल्दै विदेशी र नेपाली पर्यटकले लेकसाइडको अम्बोटदेखि खहरेसम्म रमाउँदै पैदलयात्रा गरेका थिए ।
प्रहरीको सक्रियताले सभ्य बन्दै होली
पछिल्लो समय होली मर्यादित बन्दै गएको छ । प्रहरीको सक्रियताले पछिल्लो समय होली सभ्य बन्दै गएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने फागु पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । होली पर्वको मौका छोपी उच्छृंखल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गतिमा चलाउन, मादक पदार्थ सेवनगरी गाडी चलाउने र क्षमताभन्दा बढी मान्छे राख्नेलाई प्रहरीले कारबाही गरेको हो ।
होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको थियो । नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौं उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।
तराईं-मधेशमा आज
नेपालको तराईं मधेश क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होलीलाई तराई तथा मधेशका जिल्लामा विशेष रूपमा मनाउने गरिन्छ । हिमाली र पहाडी जिल्लामा आइतबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने प्रचलन नेपालमा छ । स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा फागु र तराईं मधेशमा होलीको रूपमा चिनिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच