काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रियसभा बैठकमा निर्वाचन भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रियसभा अध्यक्ष निर्वाचित हुनुभएको हो । दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत खस्यो भने विपक्षमा सत्र मत परेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गर्नुभयो । त्यस्तै शर्माले १७ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको आठ र जसपाको तीन मत पाउनुभयो । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभएको छ ।
त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको एक मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा भने तटस्थ रहनुभयोे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ । चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत हुनुभएको थियो ।
अध्यक्ष दाहालले मंगलबार पदभार समेत ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ । पदभार ग्रहणअघि शितलनिवासमा दाहालले शपथ लिनुभएको थियो । मंगलबार राष्ट्रपति निवासमा एक समारोहबीच दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।
विद्यार्थी राजनीतिदेखि राष्ट्रियसभा अध्यक्षसम्म
रााष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको जन्म कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद र आमा देउरुपाका जेठो सन्तानका रूपमा २०१२ साल चैत १६ गते भएको हो । २०१९ सलामा उहाँ सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो ।
माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियुमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभयो । तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बन्नुभयो ।
राजनीतिक गतिविधिमा २०३६ सालयता पूर्णकालीन कार्यकर्ताका रूपमा उहाँले काम गरेको संसद् सचिवालयमा उहाँले बुझाएको विवरणमा उल्लेख छ । त्यसको झण्डै एक दशकअघि अनेरास्वियूको सदस्य भएको उक्त विवरणमा उल्लेख छ ।
उहाँ २०५७ देखि माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बन्नुभएको थियो । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन-३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले संघीय संसदको लेखा समितिमा चार वर्ष काम गर्नुभएको छ । यसअघि दाहाल प्रधानमन्त्री हुँदा उहाँ सल्लाहकार हुनुहुन्थ्यो ।
नाताले उहाँ प्रधानमन्त्री पुष्पकमल दाहालका काकाका छोरा हुनुहुन्छ । सोमवार उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग बोल्ने क्रममा उहाँले अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए देखि नै ‘पार्टीको कुनै पनि जिम्मेवारी लिनुपर्दा’ आफूलाई त्यस्तो आरोप लाग्नेगरेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘यो बेला यदि दाजुभाइको हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दा दाइ हिडिँरहेकोले हिँड्नु पर्दैन भनेर कसैले भनेन ।’ राष्ट्रियसभामा चाहिँ उहाँ मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने मनोनयन अन्तर्गत नियुक्त हुनुभएको हो ।
राष्ट्रियसभालाई देशको अति आवश्यक संस्था बनाउने प्रयत्न गर्छु : दाहाल
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ । मंगलवार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माणलगायत हरेक कामलाई गम्भिरताका साथ लिएर अगाडी बढ्ने बताउनु भयो । उहाँले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताउनुभयो । अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षको रुपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताउनुभयो ।
प्राविधक रूपमा मात्र राष्ट्रियसभा अघि बढ्न सक्दैन : सिटौला
राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभालाई सामान्य प्राविधिक रूपमा मात्रै राखेर अगाडि जान नसकिने बताउनुभएको छ । मंगलवार राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रियसभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रबुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रूपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रियसभा अगाडि जान नसक्ने बताउनुभएको हो । उहाँले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षका रूपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने बताउनुभयो । उहाँले कांग्रेस संविधानभित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रूपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको आवाज उठाइने उहाँले बताउनुभयो । उहाँले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रियसभामा आवाज उठाउने बताउनुभयो

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा