
काठमाडौं । नेकपा एमालेले गुहृयेश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । भोलि (शनिबार) गुहृयेश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो । यात्रामा एमाले अध्यक्ष केपी ओलीसमेत सहभागी हुने एमाले काठमाडौं जिल्ला कमिटीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजकका अनुसार यात्रा बिहान १० बजे पशुपति गुहृयेश्वरीबाट सुरू हुनेछ ।
‘बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जानेछौँ, करिडोर, सुन्दरीजल हुँदै ड्याम जाने छाैँ र त्यहाँबाट आलापोटमा आएर सभामा परिणत हुनेछौं । त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ,’ नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले भन्नुभयो । उहाँले धाप ड्याम जस्ता निमार्णका कामहरू सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउनको लागि यस्ता ड्यामहरू उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उहाँको भनाइ थियो । आयोजनाहरू उपत्यकाका स्थानीय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।
‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राभन्दा अगाडि नै हामीले योजना बनाएका थियौं,’ एमाले केन्द्रीय सदस्य कृष्ण राईले भन्नुभयो ‘यात्रा बागमती सभ्यताको जगेर्ना, नदी क्षेत्रको सौन्दर्यीकरण र शुद्धीकरण मात्र नभई काठमाडौं क्षेत्र नम्बर ३ को समृद्धिको अभियान पनि हो ।’
राईले धाप बाँध पूर्वराष्ट्रपति विद्या भण्डारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पहिलो अध्यक्ष भएका बेला परिकल्पना गरिएको योजना भएको जानकारी गराउनुभयो ।
धाप बाँधलाई व्यवस्थित गर्न सके काठमाडौंको खानेपानीको स्रोत संरक्षण, पानी पुनःभरणलगायत प्रक्रियामा पनि टेवा पुग्ने उहाँको भनाइ थियो ।
त्यसका अलावा गुहृयेश्वरी नजिकै १८८ रोपनी जग्गा विवाद रहेकाले बागमती सौन्दर्यीकरण योजना प्रभावित बनेको राईले बताउनुभयो । यात्राका क्रममा त्यो समस्या पनि सम्बोधनका लागि पहल गरिने उहाँले बताउनुभयो । ‘गोकर्णमा रहेको फोहोर प्रशोधन केन्द्र निर्माण, निकुञ्जका कारण गोकर्ण क्षेत्रमा रोकिएको करिडोर निर्माण सुरू गर्न पनि यात्रा आवश्यक देखियो,’ उहाँले भन्नुभयो ।
काठमाडौं उपत्यकाको उत्तरपूर्वी चुचुरो, शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानीमा रहेको धाप जलाशय बागमती नदी बेसिन परियोजनाको एक महत्वपूर्ण भाग हो । धाप बाँध नेपालको पहिलो कंक्रिट फेस रक भरिएको बाँध हो । यसको मुख्य उद्देश्य सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउनु र नदीको पानीको गुणस्तर बढाउनु हो । १५८ रोपनी क्षेत्रफल ओगटेको धाप जलाशयले मनसुनको पानी भण्डार गर्दछ र सुख्खा मौसममा बागमती नदीमा पानी आपूर्ति गर्दछ ।
तथ्यांकअनुसार बाँधमा आठ करोड ६१ लाख लिटरसम्म पानी भण्डारण गर्न सकिन्छ । सुख्खायाममा बाँधबाट ४० लिटर प्रतिसेकेन्डको दरले पानी बागमती नदीमा आठ महिनासम्म पठाउन सकिन्छ ।
सन् २०१५ मा ४५ करोड रुपैयाँ लागत अनुमानमा यो बाँध निर्माण सुरु भएको थियो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सुरु भएको थियो ।
ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच