
✍️ ज्ञानप्रसाद भट्टराई
समाजमा परिवर्तन हुन्छ । परिवर्तनका पछि कुनै कारण हुन्छ । कारण विना कार्य हुँदैन । समाजमा व्याप्त यथास्थितिवाद र दमननै परिवर्तनका कारक तत्व हुन् । कुनै राम्रो कार्यले पनि समाजमा द्वन्द्व निम्त्याउँछ । जुन व्यक्तिको हेराइ र बुझाइमा भर पर्छ । पुराना मृत भाव र विचारलाई बोकेर नयाँ घटनालाई हेर्दा सत्य असत्य र राम्रो नराम्रो बन्छ । यो समाजको यथास्थिति वर्गीय सोच हो । यस वर्गले परिवर्तनलाई मृत्युको रूपमा देख्छ । परिवर्तनकामी सोच इतिहास बन्छ ।
कानुनतः बिर्ता उन्मूलन भए पनि विर्तावाल विर्ता क्षेत्रभित्र रहेका भौतिक सम्पत्तिमाथि कायम रहेको आफ्नो हक छाड्न मानिरहेका थिएनन् । त्यसबेला विर्ता क्षेत्रभित्रका सार्वजनिक जमिन, वनजंगल, चरिचरणका ठाउँहरूमा केही विर्तावालकै कब्जामा थिए । सार्वजनिक सम्पत्ति संरक्षणका लागि गाउँमा आन्दोलन भयो । सार्वजनिक जग्गा सामुहिक रूपमा खर काट्ने, वस्तुभाउ चराउने आन्दोलन भयो । यो त्यस समयमा निक्कै चुनौतीपूर्ण आन्दोलन थियो ।
पूर्वसांसद देवशंकर पौडेलले २०७९/११/१६ गतेका दिन फेसबुकमार्फत पोष्ट गर्नुभएको आलेखले मलाई झस्कायो र ओझेलमा परेको इतिहासलाई खोज्न बाध्य बनायो । चासो बढ्यो । खोजलाई अगाडि बढाएँ । युगकवि सिद्धिचरण उमाविको स्वर्ण महोत्सव विशेषांकमा पूर्वमाननीय देवशंकर पौडेलको ‘उचाइतिर गाम्नाङ मनभरी शुभकामना’ लेख पढेँ । सोही विशेषांकमा विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद भट्टराईको ‘ग्रामोदयको गरिमायुक्त इतिहास र वर्तमान’ जस्ता अनुसन्धानात्मक लेखमा विगतको गाम्नाङको सामाजिक, सांस्कृतिक एवं शैक्षिक इतिहासलाई लिपिबद्ध गरेको पाएँ । ओखलढुंगा जिल्लाका पूर्वजिल्ला सभापति पदमबहादुर कार्कीद्वारा प्रदान सन्मान पत्र २०२९ पनि फेला पारेँ । त्यस्तै, इडियू खबरमा प्रकाशित, लुकेको शिक्षा भन्ने लेख पढेँ । लेखहरू अध्ययन गर्दा आधा शताब्दी अगाडि नै गाम्नाङटार सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक विकासमा र सामन्तवादको विरुद्धमा जुरमुराई सकेको रहेछ । लिखु क्षेत्रमानै नौलो बिहानी बनेर । परिवर्तनका लागि ऐतिहासिक अगुवाहरू डिल्लीप्रसाद भट्टराई, मनोरथ पोख्रेल, रविलाल भट्टराई रहनु भएको पाएँ । यस सम्बन्धमा बुबासँग र लोककृष्ण भट्टराईसँग पनि केही कुरा गरेँ र बुझेँ । आलेखमा उल्लेखित विषय सत्य तथ्य रहेछन् । खोजलाई अगाडि बढाएँ ।
सामन्तवाद विरुद्धको आन्दोलन (२०२०)
ओखलढुंगा जिल्लाको सुदूरपश्चिममा रहेको गाम्नाङ्टार आफैँमा सामाजिक, साँस्कृतिक र भौगोलिक रूपमा विविधतापूर्ण छ । गाउँको पुछार भागमा मगर जाति, मध्यभागमा भने ब्राहृमण, क्षेत्री र नेवार जातिको बसोवास रहेको छ । गाउँको माथिल्लो भागमा क्षेत्रीलगायत अन्य धेरै जातिको छ्यासमिसे रूपमा बसोवास छ । ब्राहृमणमा भट्टराईको बाहुल्यता थियो । देवहरि भट्टराईले मकवानपुरे राजा मानिक सेनबाट गाम्नाङ विर्ता पाएका थिए । पछि रत्नेश्वर र नन्दिकेश्वरसमेत गाम्नाङ्ममा थप विर्ता पाए । भट्टराई बिर्तावाल भए । गाउँमा बिर्तावालको शासन चल्यो । जुन अनुदार थियो । विसं २०१६ सालमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले बिर्ता उन्मूलन गरे । तर पनि गाउँमा भने यसको धङ्धङ्गी गएको रहेनछ । राजाका रैती भनेजस्तै गाउँका निमुखाहरू विर्तावालका रैती समान थिए । कानुनतः बिर्ता उन्मूलन भए पनि विर्तावाल विर्ता क्षेत्रभित्र रहेका भौतिक सम्पत्तिमाथि कायम रहेको आफ्नो हक छाड्न मानिरहेका थिएनन् । त्यसबेला विर्ता क्षेत्रभित्रका सार्वजनिक जमिन, वनजंगल, चरिचरणका ठाउँहरूमा केही विर्तावालकै कब्जामा थिए । सार्वजनिक सम्पत्ति संरक्षणका लागि गाउँमा आन्दोलन भयो । सार्वजनिक जग्गा सामुहिक रूपमा खर काट्ने, वस्तुभाउ चराउने आन्दोलन भयो । यो त्यस समयमा निक्कै चुनौतीपूर्ण आन्दोलन थियो । यसको नेतृत्व डिल्लीप्रसाद भट्टराई र स्व.मनोरथ पोख्रेल गर्नुभएको रहेछ । उक्त सामन्तवाद विरूद्धको आन्दोलनमा रविलाल भट्टराई, नरबहादुर मगर, दलबहादुर पुलामी मगर, पञ्चवीर मंग्राती, जीतबहादुर स्वराली र मेघबहादुर मंग्रान्तीको अविस्मरणीय योगदान रहेको छ । जुन आन्दोलनलाई २०२० को आन्दोलन भनिन्छ । यस आन्दोलनले सामन्तवादको अवशेषलाई सदाको लागि अन्त्य गर्यो ।
बुथो उन्मूलन आन्दोलनः
विर्ताभित्र बस्ने अन्य जातिहरूले भने गाउँका विर्तावाललाई कुत र बुथो तिर्नुपथ्र्यो । प्रत्येक वर्ष विर्तावालका घरमा पाकेको बाली पुर्याउनु पथ्र्यो । यो पुस्तौनी रोग थियो । यसबाट मुक्ति पाउनु निमुखा वर्गका लागि धेरै कठिन थियो । विर्तावालहरूको विरोध गर्नु निमुखाहरूका लागि चुनौतीमात्र थिएन हातमुख जोर्न कठिन पथ्र्यो । यस प्रकारको शोषणको विरुद्धमा सामन्तलाई कुत र बुथो नतिर्ने आन्दोलन चल्यो । त्यसको नेतृत्व डिल्लीप्रसाद भट्टराईले र मनोरथ पोख्रेलले गर्नु भएको थियो ।
रविलाल भट्टराई, नरबहादुर मगर, दलबहादुर पुलामीमगर, पञ्चवीर मंग्राती, जीतबहादुर स्वराली र मेघबहादुर मंग्रान्तीको आन्दोलनमा अविस्मरणीय योगदान छ । आन्दोलन उत्कर्षमा पुग्यो । यसको प्रभाव जिल्लाभरि पर्यो । जिल्लाप्रसासन कार्यालयको समेत दवादमा विर्तावाललाई कुत र बुथो तिर्नुपर्ने बाध्यता सदाको लागि अन्त्य भयो । यसले पुस्तौनी साम्न्तवादलाई अन्त्य गर्यो ।
हलि प्रथाः
बुबाले भन्नुभयो, ‘मनोरथ पोख्रेल सामन्तवादका कट्टरविरोधी थिए ।’ त्यसबेला गाउँमा नौलो चलन थियो । गाउँमा एकजना मिर्गे सार्कीकी श्रीमती थिइन् । उनको आवाज पनि निकै ठूलो थियो रे । उनको काम भनेको भिरकुने र साउने डाँडामा गएर उर्दी गर्नु थियो । उर्दीलगत्तै गाउँका दुःखी रैतीहरू ठूलाठालु कहाँ हाजिर हुनु पथ्र्यो । खेती लगाउने बेलामा समेत उर्दी हुन्थ्यो । उर्दी गरेपछि गाउँका रैतिहरू आफ्नो खेतीपाती गर्न छोडेर हल गोरूसहित विर्तावालको खेती गर्न जानुपथ्र्यो । नगए ढोकामाथि गोबर टाँसिदिन्थे, बास उट्थ्यो । यसको अन्त्यका लागि गाउँमा आन्दोलन भयो । यसको नेतृत्व डिल्लीप्रसाद भट्टराई, मनोरथ पोख्रलले गर्नुभएको थियो ।
सामाजिक क्रान्ति (२०१९)
समाजमा त्यसबेला छुवाछूत, ब्राहृमणवादी उग्रसोच र सामन्तवादी सोच हावी थियो । भने अर्कोतर्फ यसका विरुद्ध समाजमा परिवर्तन हुनुपर्ने आवाजहरू उठिरहेका थिए । जीवन निर्वाह गर्ने पेशालाई जात र धर्मसँग जोड्थे । जातले गर्ने भनेर तोकिएका कामभन्दा अरू काम गरे सामाजिक अपराध हुन्थ्यो । धर्मविपरीत हुन्थ्यो । यस्ता कार्य गर्नेलाई सामाजिक अपराधको रूपमा लिने र सामाजिक बहिष्कारको नाममा समाजबाट एक्ल्याउने, मानसिक रूपमा तट्पाउने गरिँदो रहेछ । तर, यसको पर्वाह नगरी विसं २०१९ मा डिल्लीप्रसाद भट्टराई र लालप्रसाद भट्टराई दाजुभाइले ब्रामणका लागि निषेद कार्यहरू गर्नु भएछ । समाजको नजरमा । त्यसबेला दमाई जातिलेमात्र लुगा सिउँथे । बुबा र काकाले जातीय कर्मलाई चुनौती दिँदै आफ्नै घरमा लुगासिउने मेसिन ल्याउनु र लुगा सिलाउनु थाल्नु भएछ । बाहुनले हलो जोत्नु हुदैनथ्यो हलो जोत्नु भएछ । हलो पनि आफैंले बनाउनुभएछ । डिल्लीप्रसाद भट्टराईले त झनै घरमानै आरन थापी, कृषिका लागि आवश्यक हसिँया, फाली, कुटो, कोदालो बनाउनु अर्जाप्नु भएछ र पाइन हाल्नु भएछ । घरमा चाहिने डोको, डालो, नाम्लो बुन्ने, आफैंले घरको गाह्रो लगाउने, झ्यालढोका आफैंले बनाउने, दर्जनौं गरिब दुःखीका भाँचिएका हात र खुट्टामा काम्रो बाँध्ने, मलमपट्टि लगाउने काम गर्नु भएछ । बाटाका गौँडा सजिलो बनाउने र धारा, पाटी, मन्दिर बनाउनमा शौखको विषय रहेछ । ठूलाठालुका नजरमा समाज सुधारका यी कार्य जात, वर्ण, धर्म र वर्गविरोधी थिए । उही यथार्थवादीका नजरमा । परिवर्तनका विरोधीले हाम्रो स-परिवारलाई सामाजिक बहिष्कार गरेछ । तर, उहाँहरूले हरेस खानुभएनछ । बुबा भन्नुहुन्छ, ‘झन् उत्साह बढ्यो, पीडा शक्तिमा परिवर्तन भयो ।’ माथिका कार्य गरिरहनुभयो । आजसम्म पनि त्यही लुगा सिउने मेसिन घरमा छँदैछ । आरान भने पछि बेचिदिनुभएछ ।
युवामा नयाँ रक्त सञ्चार भयो । विस्तारै कुत तिर्ने प्रथा बन्द भयो । उर्दी प्रथा बन्द भयो । यिनै मोफसलमा चलेका आन्दोलनका झिल्काहरू नै विर्ता उन्मूलनका खास आधार बने । आज पेशालाई जात र धर्मबाट अलग रूपमा हेर्न थालियो । आन्दोलन जनताको थियो समतामूलक समाज निर्माणको लागि ।
यथास्थितिवादी समाजमा परिवर्तनको ज्वारभाटा उठाउनु सामान्य कुरा थिएन । परिवर्तन गर्न चाहाने सोचपूर्ण दूरदर्शिता र चुनौतीको सामना गर्नसक्ने तागत नै समाज परिवर्तन गर्नसक्ने आधार थियो । बुबा भन्नुहुन्छ, ‘समाजले धर्म, वर्ण र कर्मलाई एउटै डालोमा राख्यो । धर्म विश्वास हो, वर्ण नश्लको निरन्तरता हो र कर्म पेशा वा आर्थिक उपार्जनका आधार हुन् ।’ पूर्वसांसद देवशंकर पौडेलले युगकवि सिद्धिचरण उमाविको स्वर्ण महोत्सव प्रकाशित स्वर्ण स्मारिका २०६९ मा प्रकाशित उचाइतिर गाम्नाङ मनभरी शुभकामना लेखमा लेख्नुभएको छ- ‘धार्मिक कट्टरताले ग्रस्त समाजमा डिल्लीप्रसाद भट्टराई र लालप्रसाद भट्टराई परिवर्तनको पुल्ठो झोसिरहेका थिए । बाहुनले घरमा लुगा सिउने कल र फलाम अर्जाप्ने आरान राखेर आफैँले कपडा सिए, फलामे औजार अर्जापे अनि पाइन पनि हाले । आफ्नै हातले चिटिक्क परेका डोका बुनेर आधुनिक झोलाको रूपमा प्रयोग गर्दै सदरमुकामसम्म आउने जाने गरे ।
बीस वर्ष नपुगेका लालप्रसाद र तीस वर्षमुनिका युवा डिल्लीप्रसादले २०२० सालतिर चलाएको यो साहसिक अभियान नेपालकै कट्टर ब्राहृमण समाजमा पहिलो कदम थियो । मान्छेले कर्मशील पसिना जहाँ पनि बगाउन हुन्छ भनेर समाजमा रहेको श्रमप्रतिको गलत धारणा र कुरीतिविरुद्ध यस खालको चुनौती दिनु कम जोखिमपूर्ण थिएन ।’ त्यस्तै प्राचार्य प्रेमप्रसाद भट्टराई ‘ग्रामोदयको गरिमायुक्त इतिहास र वर्तमान लेखमा’ उल्लेख गर्नु भएको छ । विसं २०१६ सालमा स्थापित विष्णुप्राइमरी स्कुलको स्थापना कालका गुरुहरूमा ज्यो यक्षप्रसाद भट्टराई, डिल्लीप्रसाद भट्टराई र कोमलप्रसाद भट्टराई रहनु भएको कुरा उल्लेख गर्नु भएको छ । सोही लेखमा भट्टराईले मनोरथ पोख्रेल, डिल्लीप्रसाद भट्टराई र रविलाल भट्टराईको सहयोगमा साउने पाखाको पँधेरानेर २०२० साल चैत १ गते ग्रामोदय राष्ट्रिय प्राइमरी स्कुलको स्थापना गरेको इतिहासलाई उजागर गर्नुभएको छ । बुबाले भन्नुभयो, ‘विष्णु प्राइमरी स्कुलको स्थापनाभन्दा पहिला झगरेको पिपलको बोटमुनि पाँचजना विद्यार्थीलाई जम्मा गरेर पढाउन थालेको थिएँ ।’ ओखलढुंगाका पूर्वजिल्ला सभापति पदमबहादुर कार्कीले किसानलाई चाहिने कुटो, कोदालो, हँसिया, हलो, फालीसमेत बनाउनु र अरूलाई समेत संलग्नता गराएको कुरा सन्मान पत्र ( २०२९) मा उल्लेख गरेका छन् ।
बुबा भन्नुहुन्छ, ‘मोफसलमा २०२० को दशकमै समाजमा रहेको पेशाप्रतिको भेदभाव हेराइ शोषण र सामाजिक अन्धविश्वासका विरुद्ध भएको आन्दोलनले सबैमा आशा र भरोसा बढेको थियो । यसले प्रत्येक विषयमा वादविवाद र संवाद गर्ने कार्यको सुरु भयो । युवामा नयाँ रक्त सञ्चार भयो । विस्तारै कुत तिर्ने प्रथा बन्द भयो । उर्दी प्रथा बन्द भयो । यिनै मोफसलमा चलेका आन्दोलनका झिल्काहरू नै विर्ता उन्मूलनका खास आधार बने । आज पेशालाई जात र धर्मबाट अलग रूपमा हेर्न थालियो । आन्दोलन जनताको थियो समतामूलक समाज निर्माणको लागि । समाज सुधारको त्यस आन्दोलनलाई तत्कालीन सरकारले समेत सहयोग भने गरेन । उल्टै गाउँका सामन्तलाई साथ दिएर सामाजिक बहिष्कार साथ दियो ।’
आज सामाजिक विभेद र असमानताका हटाउने नाममा बिभिन्न एनजिओ र आईएनजिओ, राजनीतिक दल, विभिन्न आयोग र नेपाल सरकारले समेतले अर्बाैं बजेट खर्च गरेका छन् । समाजमा चाहिँ परिवर्तन महसुस भएको छैन । सामाजिक सुधारका नाममा भएको खर्च बालुवामा पानी हालेसरह भएको छ । समाज सुधार राजनीति गर्ने एजेण्डा भएको छ । समाज भने परिवर्तन भयो तर समाजमा भने परिवर्तन हुन सकेन । राजनीतिमा परिवर्तन भयो । देशमा संघीय गणतन्त्र आयो । कानुनमा सुधार भए पनि व्यवहारमा भने परिवर्तनको हुनसकेन । सामाजिक सुधारको लागि भएको आन्दोलनलाई सरकारका तर्फबाट उपेक्षा भए पनि सामाजिक परिवर्तनका लागि भने २०२० को आन्दोलन कोशेढुंगा भएको छ । आन्दोलनप्रति हाम्रो पनि सम्मान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच