काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आज (सोमबार)देखि सुरु हुँदै छ । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराहृन ४ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आहृवान गर्नुभएको हो । यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षबाट स्वागतसहितको शुभकामना तथा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिनेछ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको विद्युत् व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबल गरिनेछ । यस्तै, आर्थिक कार्यविधि र वित्तीय दायित्व अध्यादेश, २०८० सदनमा पेस गर्ने सम्भावित कार्यसूची छ । हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । नियमित रूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएको उहाँले बताउनुभयो ।
विधेयक अधिवेशनका रूपमा रहने हिउँदे अधिवेशनका लागि हाल संघीय संसद्मा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा भने छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ । अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन क्यालेण्डर नै बनाएर जाने दुवै सदनको तयारी छ । हरेक १५-१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गर्ने दुवै सदनको तयारी छ ।
अधिवेशनमा प्री-बजेट छलफलसमेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो । सरकारले यस पटक प्री-बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो । अघिल्ला अधिवेशनमा प्री-बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो । संघीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकस्थलको अवलोकन गर्नुभएको छ । आइतबार सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे संसद् सचिवालयका कर्मचारीसँग जानकारी दिनुभएको हो । संविधानअनुसार नेपालमा स्थायी रूपमा माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था छ । संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समयमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ । कतिपय अवस्थामा सांसदले सरकारका काम कारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्व, जरुरी, सार्वजनिक, स्थगन, संकल्प, संशोधन, खर्च कटौतीजस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ ।
अहिले प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८८, नेकपा (एमाले) का सभामुुखसहित ७८, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुखसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसदको प्रतिनिधित्व छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आमजनता पार्टीका एक-एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ । ५९ सदस्यीय राष्ट्रियसभा भने प्रदेशगत रूपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन तीनजना रहने व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते प्रस्ताव
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रिय सभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदै छ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो । प्रस्तावित कार्यतालिका अनुसार २२ गते संघीय संसद्को अधिवेशन बोलाएपछि माघ महिनामा चारवटा बैठक बस्नेछ । माघमा २२, २४, २८ र २९ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा नौवटा बैठक बस्नेछ । फागुन ६, ११, १४, १७, १८, २१, २७, २९ र ३० गते बैठक बस्नेछ । फागुन ३० गते समितिका सभापतिहरू चयन गर्ने कार्यसूची रहेको छ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आउँदो फागुन २१ गते हुने भएको छ । रिक्त रहने सदस्य पदका निम्ति निर्वाचन भइसकेको छ । यही माघ ११ गते निर्वाचन भएको थियो । त्यसबाट १९ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन् । रिक्त रहने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।
विधेयक कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्छ ः सभामुख
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्बाट विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । आइतबार संघीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्बाट विधेयक पारित गर्नुपर्ने बताउनुभएको हो । राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्नुपर्ने उहाँले बताउनुभयो । पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरू कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । संसद्को सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको उहाँले बताउनुभयो । संसद् क्यालेण्डरअनुसार चलाउनुपर्नेमा आफूले जोड दिइरहेको उहाँले बताउनुभयो । उहाँले प्री-बजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताउनुभयो । ‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्ने । कार्यान्वयन गर्नेगरी विधेयकहरू धेरैभन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसद्को त्यही सौन्दर्यतासाथ जाने हो,’ उहाँले भन्नुभयो, ‘यसपालि क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ । सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ । दुईटा संसद् सचिवालयमा दर्ता भएको छ ।’
एमाले सांसदलाई ओलीको निर्देशन- गलत बोल्नेको आलोचना गर्नुस्
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । संसद्मा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भन्दै उहाँले यस्ता शब्दावली हटाउन लगाउनु जरुरी नभएको बताउनुभयो । आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै अध्यक्ष ओलीले संसद्मा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि सांसदहरूको ध्यानाकर्षण गराउनुभयो । गल्ती बोल्नेका कुरा संसद्मा विरोध गरे पुग्ने भएकाले रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले संसद्मा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाइपाऊँ भन्नु स्वाभाविक हुने उल्लेख गर्नुभयो । अरूले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने उहाँको भनाइ थियो । ‘रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि, त्योचाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाइपाऊँ भनेर निजले भन्दाखेरि एउटा कुरा हो,’ उहाँले भन्नुभयो, ‘अर्काले उसको गल्ती किन सच्याइदिने ?’ सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिने व्यवस्था छ । त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले हटाउन माग गर्नु उपयुक्त हुने ओलीले स्पष्ट पार्नुभयो ।
के छ दलहरूको तयारी ?
संसद्को हिउँदे अधिवेशनअघि दलहरूले आन्तरिक तयारीसमेत पूरा गरेका छन् । दलहरूले संसद्को यस अधिवेशनमा गर्ने कामहरू, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदहरूले राख्ने विषयहरूको सम्बन्धमा आ–आफ्नो तयारी गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो । आगामी अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा कांग्रेसको जोड छ । आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने तयारी माओवादीको छ ।
सुशासन अब हाम्रो पहिलो मुद्दा : गिरी
एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो मुद्दा बनाउने बताउनुभयो । उहाँले देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले निरन्तर रूपमा सशक्त ढंगले आवाज उठाउने बताउनुभयो । ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ । जनतामा व्यापक निराशा बढेको छ । युवा पुस्ताले नेपालमा आफ्नो भविष्य देख्न छोडिसकेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो सबै सरकारको अकर्मण्यताको कारणले भएको हो । सरकार जनताप्रति जवाफदेही नभएको कारणले समस्याहरू आएका हुन् । यो विषय पनि अब सदनभित्र एकदम सघन ढंगले उठाउँछौँ । सुशासनको मुद्दा अब हाम्रो पहिलो मुद्दा हुन्छ ।’
कानुन निर्माणको काम पहिलो प्राथमिकता : परियार
नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै ऐन, कानुनहरू अझै नबनेका भन्दै ती कानुनहरू बनाउन ध्यान पुर्याइने बताउनुभयो । ‘अघिल्लो संसद्मा जति कानुनहरू पारित गर्नुपथ्र्यो त्यो गर्न सकेनौँ । अबको संसद्को मुख्य भूमिका भनेको कानुन निर्माणको कामलाई विशेष प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘कतिपय विधेयकहरू समितिमा छलफलका क्रममा छन् । ती कानुनहरू यथाशीघ्र संसद्बाट पारित गर्नुपर्छ । हामीले यो अधिवेशनलाई विशेष गरी कानुन निर्माणको काममा नै बढी समय खर्चिनुपर्छ भन्ने लाग्छ ।’
जनताका समस्याहरू सदनमा उठाउँछौँ : पाण्डे
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताउनुभयो । कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । आगामी अधिवेशनमा सक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडि बढाइने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेटलाई नयाँ तरिकाले लैजानका लागि पनि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ । ‘यो अधिवेशनलाई व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरेर सोचिरहेका छौँ । कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गर्नेबारे हामी सोचिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘बजेटलाई नयाँ तरिकाले लैजाने भन्ने बारेमा पनि छलफललाई केन्द्रित गर्नेछौँ । जनताका समस्याहरूलाई सदनमा उठाउँछौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा