
बाँच्नु आफैँमा जीवन होइन । बाँच्नुलाई जीवन मान्न पनि सकिँदैन । जीवन अरूका लागि समर्पित भएमा जीवनका हरेक पक्ष सफल भएको मानिन्छ । त्यसैले जीवनको खोज मानवीय भावना हो । मानवीय चेतना हो र मानवीय कर्म पनि । जीवनका हरेक क्षण अरूका लागि समर्पित गर्ने प्रवृत्तिलाई नै मानिसले सबल बनाएको हुन्छ । मानिसको जीवनका हरेक कर्म आफ्ना लागि नभएर अरूका लागि बाँचेमा जीवनलाई हाम्रा शास्त्र र परम्पराले धन्य मानेका छन् । अतः जीवनको भार र जीवनको महत्व उपकारमा विद्यमान् छ भन्ने भावलाई शास्त्रले बाहिर ल्याएका छन् । जीवन सङ्घर्ष हो । जीवनको खोजमा धेरै शास्त्रहरू पनि लेखिए । जीवनको मोड र त्यसलाई अभिव्यक्त गर्ने आधार भने दर्शनका अध्येताहरूले पनि भेट्न सकेका छैनन् ।
आजको संसार युद्धको डरलाग्दो अवस्थामा बाँचिरहेको छ । यही अवस्थामा बाँच्ने राज्यको अवस्था र युद्धले निम्तो दिने डर, त्रास, पलायनले राज्यलाई कहिले पनि हित गर्दैन । ती युद्धपीडित देशका नागरिकको पलायनले संसारको राजनीतिलाई मात्र होइन मानवीय चेतनालाई समेत धिक्कारेको हुन्छ ।
आज मानिसको जीवन युद्ध र मानवीय विभीषिकामा बाँचिरहेको छ । युद्ध आफैँमा समाधानको उत्तम उपाय होइन । युद्ध अन्तिम उपाय हो समस्या समाधानका निम्ति । सबै उपाय सकिएपछि युद्धमा होमिनुपर्ने बाध्यता मानिसका लागि हो । मानिस विवेकशील प्राणी भएकाले उसले युद्धलाई अन्तिम उपाय मानेको हुन्छ । त्यसैले युद्धलाई कुनै पनि राष्ट्रले अन्तिम अवस्था मानेको हुन्छ । राष्ट्रले युद्धलाई जीवनको आधार मान्नु पनि हुँदैन । हाम्रा पुराण र धर्मग्रन्थमा युद्धलाई अन्तिम अवस्थाको अस्त्र मानिएको छ । शासनमा त युद्धलाई अन्तिम उपायका रूपमा मानिएको छ । शासनमा रहुञ्जेल युद्धलाई सकेसम्म आधार बनाउनु हुँदैन । युद्धको डरलाग्दो अवस्था र त्यसबाट प्राप्त हुने त्रासको वर्णन गरेर सकिँदैन । युद्धलाई शासकले कहिल्यै पनि समाधानको उपाय मान्नुहुँदैन ।
शासनको आधार
शासन आफैँमा एक्लै चल्ने व्यवस्था होइन । शासनमा प्रधान सेवकले अन्यलाई सही र गलतमार्गमा डोहो¥याउने प्रयासमा लागेको हुन्छ । दैत्य गुरु शुक्राचार्यले शासकीय स्वरूप र देशको अवस्थालाई बाहिर ल्याउने सन्दर्भमा भनेका छन्
राज्यवृक्षस्य नृपतिर्मूलं स्कन्धाश्च मन्त्रिण
शाखाः सेनाधिपाः सेनाः पल्लवाः कुसुमानि च
प्रजाः फलानिभूभागाबीजं भूमिःप्रकल्पिता ।।
राज्यरूपी वृक्षको मूल जरो प्रधान सेवक हो । मन्त्रीहरू ठूला हाँगा हुन् । सेनापति र सेना हाँगाहरू हुन् । भूमिबाट पाइने सबै फल, अन्न आदि बीज मानिएका छन् । राज्यलाई भूमिका रूपमा मानेका शुक्राचार्यले यसरी राज्यलाई जीवनको आधार मानेका छन् । राज्यलाई वृक्षका रूपमा मानेका शुक्राचार्यले व्यवस्थाको उचित समायोजनमा ध्यान दिएका छन् । यसरी चल्ने राज्यव्यवस्थाले नै जनताका हरेक समस्याको समाधानका उपायलाई बाहिर ल्याउने तर्क शुक्राचार्यको देखिएको छ । शासनमा बस्ने शासकमा देशविकासको अठोट हुनु आवश्यक मानिएको छ । शासनमा बस्ने मानिसले सधैँ युद्धको राग अलापेर जनतालाई दुःख दिनु हुँदैन ।
विश्वका शक्तिशाली मुलुक आज शक्ति सञ्चय र क्षयीकरणमा लागेका छन् । शक्ति सञ्चयले राज्यलाई बलबान् बनाउने गरेको हुन्छ । शक्तिको क्षयीकरण व्यक्तिका लागि मात्र होइन देशका लागि पनि घातक मानिएको हुन्छ । आजको संसार युद्धको डरलाग्दो अवस्थामा बाँचिरहेको छ । यही अवस्थामा बाँच्ने राज्यको अवस्था र युद्धले निम्तो दिने डर, त्रास, पलायनले राज्यलाई कहिले पनि हित गर्दैन । ती युद्धपीडित देशका नागरिकको पलायनले संसारको राजनीतिलाई मात्र होइन मानवीय चेतनालाई समेत धिक्कारेको हुन्छ ।
शासनको मूलआधार कहिले पनि युद्ध हुन सक्दैन । युद्ध त शासक, देश र जनताका लागि घातक मानिएको हुन्छ । युद्धको डरलाग्दो अवस्थाका कारण शासकीय व्यवस्था, व्यापार, पर्यटन तथा आर्थिक समृद्धि नै समाप्त भएर जाने गर्दछ । आजको युद्ध वैज्ञानिक छ । मानवताविरोधी छ । मानिसलाई समाप्त पार्ने र उसको बाँच्ने अधिकारसमेत संरक्षण नगर्ने खालको छ । मानिसको चेतनालाई ध्वस्त र समाप्त पार्ने अवस्थाको छ । त्यसैले युद्धलाई प्राच्य परम्परामा कहिले पनि शासनको उत्तम उपाय मानिएको थिएन । तर, शासनमा युद्धलाई अन्तिम उपाय भने स्वीकार गरिएको थियो प्राच्य परम्परामा ।
आज विश्वले दुई युद्ध झेलिरहेको छ । थोरै समयमा समाप्त पार्ने अभिलाषा बोकेका रसियाका राष्ट्रपतिले २२ फेब्रुवरी २०२२ मा युक्रेनमाथि आक्रमण गरे । त्यो युद्धले अहिले पनि विश्राम पाएको छैन । लगभग दुई वर्ष भयो ती देशका जनता आज पनि युद्धको डरलाग्दो अवस्था भोगेर बाँचिरहेका छन् । एउटा युद्धको चपेटामा परेर उम्किन नसकेको अवस्थामा इज्रायलले हमास नामक आतङ्कवादी सङ्गठनलाई समाप्त पार्ने उद्देश्य अनुरूप २३ अक्टुबर २०२३ मा युद्धको शङ्खघोष गर्यो ।
अहिले युद्ध चलिरहेको छ । कहिलेसम्म चल्ने हो त्यसको आकलन कसैले पनि गर्न सकेको छैन । यी दुबै युद्धमा केही नेपालीले पनि मृत्युलाई वरण गरे । यस अवस्थामा आजको विश्व राजनीति चलिरहेको छ । राजनीति विकास, निर्माण र जनताको सुख सुविधाका लागि हुनुपर्ने हो । जनताले विकासका माध्यमबाट जीवनमा चाहिने आफ्ना आवश्यकतालाई पूर्ति गर्नु पनि हो ।
विश्व राजनीति
आज विश्वको राजनीति गतिलो तरिकाले चल्न सकेको छैन । राजनीति प्रत्येक देशको भिन्न होला र हुन्छ पनि तर राजनीतिले जनताका आवश्यकतालाई सम्बोधन गर्न सक्यो वा सकेन लेखाजोखा हुनु जरुरी छ । दैत्यगुरु शुक्राचार्यले राज्य सञ्चालनका लागि छ बलको आधारलाई स्वीकार गरेका छन् । उनी भन्छन् :
शारिरं हि बलं शौर्यबलं सैन्यबलं तथा
चतुर्थमास्त्रिकबलं पञ्चमं धीबलं स्मृतम्
षष्ठमायुर्बलं त्वेतैरूपेतो विष्णुरेव सः ।
शरीरको बल, शूरताको बल, सेनाको बल, अस्त्रको बल, बुद्धिको बल, आयुको बल । यी छ बल मानिसमा भए ऊ विष्णुको रूपमा मानिएको पाइन्छ । यी छ बलको चर्चालाई शुक्राचार्यले शासकीय पद्धतिको आधार मानेका छन् । आजको राजनीतिमा यी सबै किसिमका बल कुनै पनि देशका शासकमा देखिँदैन । आजको विश्व राजनीति सेना र शस्त्रको बलका आधारमा चलेको देखिन्छ । सेनाको बलका आधारमा अरू देशमाथि आक्रमण गर्नु र संसारमा आफ्नो प्रभुत्त्वलाई देखाउनु नै आजको राजनीतिमा आधार बनेर देखिएको छ । यही आधारमा आजको विश्व राजनीति चलिरहेको छ ।
राजनीतिले विकासलाई पहिलो आधार बनाउनु अति आवश्यक थियो । गणतन्त्रपछि त्यस्तो अवस्था सिर्जना हुन सकेन । राजनीतिक दलका नेता र कार्यकर्ताले नेपाली जनतालाई आधार बनाएर शासन चलाउन सकेनन् । नेपालका राजनीतिज्ञले आफू र आफन्तको बीचमा दूरी बनाउन सकेनन् ।
विश्वका शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुख असहिष्णु भावनाले भरिएका छन् । तिनको असहिष्णु भावनाका कारण आजको विश्व दिनप्रतिदिन दूषित बनिरहेको छ । संसारका हरेक देशको शासक आफूलाई उत्तम शासक मानेर गतिशील बनिरहेको छ । देशको राजनीतिक अवस्था र जनताले पाउने वैयक्तिक आधारलाई क्रियाशील बनाउन सकेको छैन । सेना र अस्त्रको बलका आधारमा विश्वमा आफ्नो प्रभुत्व जमाउनका लागि क्रियाशील देखिएको छ ।
आजको विश्व राजनीतिले मानिसको बाँच्ने अधिकारलाई कुण्ठित गरिदिएको छ । मानिसलाई शरणार्थी बनाइएको छ । उसका अधिकारमाथि शस्त्रको आक्रोश पोखिएको छ । उसका भावना र उसका चाहनामाथि हतियार चलाइएको छ । मानिसका मानवीय चाहनाको ख्याल आजको विश्वराजनीतिले स्वीकार गरेको छैन । यही अवस्था रहेमा विश्व राजनीतिले मानिसलाई कमजोर र गतिहीन बनाउने छ । संसारको राजनीति र त्यसले असर पारेको नेपालको राजनीतिलाई पनि कमजोर सावित गरिदिएको छ ।
नेपालको राजनीतिलाई यहाँसम्म ल्याउन नेपाली जनताले ठूलो भूमिका निर्वाह गरेका छन् । नेपाली जनताको सक्रियता र बलिदानपूर्ण इतिहासले आजको अवस्थालाई स्थायी रूपमा दिएको सत्य हो । तर, आजको शासकीय पद्यति नेपाली जनचाहना अनुरूप चलेको छ त ? सधँै प्रश्न किन तेर्सिन्छ नेपाली राजनीतिमा । राजनीतिका माध्यमबाट आफूलाई सबैभन्दा चोखो सावित गर्ने नेपाली राजनीतिका शीर्षस्थ व्यक्तिहरूका कारण नेपाली राजनीतिप्रति नेपाली जनताको विश्वास गुमेको देखिन्छ । राजनीतिले जनताका अधिकारलाई सुरक्षित र व्यवस्थित गर्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । नेपालको राजनीतिमा जनता जस्ताको त्यस्तै रहने र नेताहरू सम्पन्न हुँदै जानुले पनि यो व्यवस्थाप्रतिको विक्षोभ जनतामा देखिएको हुनसक्छ ।
राजनीतिले विकासलाई पहिलो आधार बनाउनु अति आवश्यक थियो । गणतन्त्रपछि त्यस्तो अवस्था सिर्जना हुन सकेन । राजनीतिक दलका नेता र कार्यकर्ताले नेपाली जनतालाई आधार बनाएर शासन चलाउन सकेनन् । नेपालका राजनीतिज्ञले आफू र आफन्तको बीचमा दूरी बनाउन सकेनन् । उनीहरूले आफूलाई सधैँ केन्द्रमा राखे । जनताले पाउने अधिकारलाई र उनीहरूको दैनिकीलाई विकासको आधार पनि बनाउन सकेनन् । दिनदिनै बाहिरिने भ्रष्टाचारका घटनाले जनतालाई निराशको अवस्थामा पु¥याएको देखियो । सत्ता र प्रतिपक्षको अवस्था पनि त्यही रूपमा देखियो । सत्ता नपाएमा सत्तासीनलाई सराप्नु र सत्तासीनले प्रतिपक्षलाई सराप्नु नै नेपालको राजनीतिको अधार बनेको देखियो ।
राष्ट्र सञ्चालनमा चाहिने शासकीय पद्धति र तिनले देखाउने गतिलो बाटोलाई नेपालका राजनीतिक दलका नेता र कार्यकर्ताले कहिले पनि अनुशरण गर्न सकेनन् । देशको अवस्था खस्कँदो देखिनुमा नेपाली जनता आधार हुन सक्दैनन् । नेपालको राजनीतिले देखाएको बाटोलाई उत्तरवर्ती पुस्ताले ग्रहण गरेमा देशको अवस्था सुध्रिने सङ््केत देखिँदैन । यस अवस्थाको जिम्मेवारी आजको राजनीतिले लिनु आवश्यक मानिन्छ । सुधारिएको राजनीति, उन्नत देश, सुखी जनता नै आजको राजनीतिमा देखिने मूल आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच