काठमाडौं । पछिल्ला केहीदिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मातहतका निकाय, व्यक्तिलाई निर्देशन दिन तदारुकता देखाउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आजकल निर्देशनको बाढी नै ल्याउनु भएको छ ।
गत पुस १० गते आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गर्दै उहाँले आफूले नेतृत्व लिनुअघिको देशको अवस्था र अहिलेको अवस्थामा भिन्नता आएको बताउनु भएको थियो ।
त्यसको केही दिन अघिमात्र उहाँले एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु भनेर भन्नुभएको थियो । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न भएको चार सय केभी इनरुवा जीआइस सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू नयाँ धक्काको नजिक पुगेको समेत बताउनु भएको थियो । उहाँको भनाइको तात्पर्य निकट भविष्यमा जनताले अनुभूत गर्ने खालका परिवर्तनका दृश्य देखिने छन् ।
लोकतन्त्र, सुशासन र आर्थिक समृद्धिको अभियानमा सरकारले चालेका कदमहरु एकपछि अर्को सफल हुँदै गएको दाबी समेत गर्नुभएको थियो ।
अघिल्लो पुस १० मा प्रधानमन्त्री नियुक्त भएको एक सातापछि उहाँले दिएका कतिपय निर्देशन भने अहिलेसम्म कागजमै सीमित भएका उदाहरण छन् ।
प्रधानमन्त्री प्रचण्डले अघिल्लो पुस १८ मा नेपाल सरकारका सचिवहरुलाई सुशासनलगायत मुलुकको शासन सुधारका लागि ३० बुँदे निर्देशन नै दिनुभएको थियो ।
‘भ्रष्टाचार नियन्त्रण र निवारण यो सरकारको प्राथमिक काम हो । भ्रष्टाचार हुने सम्भावित निकायहरु र त्यस्ता व्यक्तिहरुको बारेमा निगरानी राख्नोस्, मातहत कार्यालयमा भएका अनियमितताप्रति जिम्मेवार बन्नुहोस्’ प्रधानमन्त्री दाहालको निर्देशनमा उल्लेख थियो, ‘डिजिटल सेवा, फेसलेस सेवा, विचौलिया हटाउने, गुनासो सुन्ने र फर्स्यौट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स, जस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्नोस् ।’ प्रधानमन्त्रीका उक्त निर्देशन के कति कार्यान्वयन भए ?
याे पटक पुन: प्रधानमन्त्री दाहाल दिनहुँजसाे निर्देशन दिइरहनुभएकाे छ ।
पछिल्लो समय उहाँले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाददेखि नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासोका बारेमा निर्देशन दिनुभएको छ ।
हिजोमात्र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सो प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै आज प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूलाई छलफलमा बोलाएर नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासोका बारेमा निर्देशन दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो बारे उहाँले जनतालाई हैरानी दिने काम बन्द निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

यसैगरी बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन तत्काल टुंग्याउन निर्देशन दिनुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरु, मुख्य सचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो ।
प्रहरी समायोजन नहुँदा प्रदेशहरुलाई काम गर्न अप्ठेरो परेको बताउँदै प्रधानमन्त्रीले तत्कालै समायोजन टुंग्याउन दिर्नेशन दिनुभयो। संघीय कानुन अहिलेसम्म पनि नबन्दा प्रहरी समायोजनले गति लिन नसकेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। यसैलाई बहाना बनाएर संघीयता विरोधीहरुले सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्।’

यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।
आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढङ्गले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको सो विज्ञप्तिमा उल्लेख छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच