
दाङ । दाङको भालुवाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा दुई भारतीय नागरिकसहित १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सातजनाको घटनास्थलमै, चारजनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका-१ स्थित राप्ती पुलबाट खसेको थियो । राप्ती नदीमाथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का-९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन र रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामीको भएको प्रहरीले जनाएको छ ।
यस्तै, भारत बिहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा-३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका-२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका-३ निवासी २८ वर्षीय अर्जुन थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २२ मध्ये सातजनाको बुटवल, नौजना नेपालगञ्ज र ६ जनाको प्रस्तावित भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिधा पुलमा कसरी भयो दुर्घटना ?
राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी छ । ट्राफिक प्रहरीका अनुसार बस नेपालगञ्जबाट काठमाडौंको लागि अघि बढ्दै गर्दा भालुवाङ पुलचोकमा ट्राफिक जाँच थियो । दुईवटा बससँगै थिए । जसमध्ये एउटा बस चेकिङमा अडियो । अर्काे बस तीव्र गतिमा अघि बढ्यो । ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेको बस पुलमा प्रवेश गरेलगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खस्यो । पुलमा जोडिने बेलामा बाटो साँघुरो छ । दुर्घटनामा परेको बसले ट्राफिक छलेको प्रष्टै हुन्छ । चेक पोइन्टदेखि झण्डै ३० मिटरपूर्व चालककै साइड दायाँबाट राप्ती नदीमा खसेको थियो । बसको अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा थियो । ‘मैले चेक प्वाइन्टमा बसेका ड्युटीका ट्राफिक प्रहरीलाई बुझ्दा चालकले बस नरोकेर तीव्र गतिमा अगाडि बढाएको भन्ने नै छ,’ इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख इन्स्पेक्टर उज्वलबहादुर सिंहले भन्नुभयो ।’ तर, चालकले प्राविधिक कारण बस दुर्घटनामा परेको भनेर हामीलाई बयान गरेका छन् ।’ प्राविधिक कारणले हो वा मानवीय त्रुटिको कारणले बस दुर्घटनामा परेको हो भन्ने कुरा थप अध्ययनपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।
भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगे पनि बस रोकिएन । त्यहाँ चेकिङ भइरहेको भए पनि चालकले रोक्दै नरोकी हुइँक्याए । त्यतिबेला बस ७०/८० को स्पिडमा रहेको यात्रु आशुतोष गौतमको अनुमान छ । बस चेकजाँचका लागि त्यहाँ रहेका ट्राफिक प्रहरीले सिटी पनि फुकेका रहेछन् । तर, चालकले रोक्दै नरोकी बस दौडाए । केही पर पुगेपछि बस दायाँ बायाँ गर्दै अगाडि बढ्न थालेपछि मुटुमा ढ्यांग्रो बज्न थालेको गौतमले भन्नुभयो । बस दायाँबायाँ हल्लिन थालेपछि आफू हामफालेको एकै छिनमा ठूलो आवाजका साथ बस राप्ती नदीमा बजारिएको उहाँले बताउनुभयो ।
‘त्यो दुर्घटना हुने ठाउँ नै हैन,’ इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख इन्स्पेक्टर उज्वलबहादुर सिंहले भन्नुभयो, ‘त्यस्तो सिधा पुलबाट बस कसरी नदीमा खस्यो त्यो अनुसन्धान भइरहेको छ ।’ बस चालकले भने इञ्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन् । प्रहरीको नियन्त्रणमा रहेका चालक लालबहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन् । ‘हामीले चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको भनेका छन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लले भन्नुभयो, ‘बसको इञ्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ ।’ तर, सवारी साधनका जानकारहरू भने बसको इञ्जिनमा प्रयोग हुने सापटको समस्याका कारण बस नमोडिने समस्या नहुने बताउँछन् । स्टेरिङ फेल हुनु, पट्टा भाचिँदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने उनीहरू बताउँछन् । मृतकको लमही अस्पतालमा पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
कार दुर्घटनामा पाँच जनाको मृत्यु
हेटौँडाबाट राजधानी प्रवेश गर्ने छोटो दूरीको थानकोट-चित्लाङ सडकखण्डमा निजी सवारी (फोर्ड गाडी) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतो पहरामा शनिबार दिउँसो उक्त गाडी दुर्घटनामा परेको हो । चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं-३० मैतीदेवी घर भएका ६७ वर्षीय ओमकार निधि तिवारी, उहाँकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेशकुमार गौतम र उहाँका चार वर्षीय छोरा प्रियान्स गौतम रहनुभएको छ । यस्तै, उहाँको ६ वर्षीया छोरी स्मारिका गौतमको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कारमा सवार एकजना भने सकुशल रहेको थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी सकुशल हुनुहुन्छ । डा. सृष्टि कारबाट ओर्लनासाथ कार भीरबाट खसेर दुर्घटना भएको बताइएको छ । गौतम तिवारी परिवारका ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञको रूपमा कार्यरत डा. गौतम हाल लाजिम्पाटस्थित नेशनल अस्थमा एलर्जी केन्द्र लाजिम्पाट निर्देशकको रूपमा कार्यरत रहेको बताइएको छ ।
थानकोटबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश-३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । कार सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । शनिबार उहाँहरू चित्लाङ घुम्न जाँदै हुनुहुन्थ्यो । हेटौँडा-काठमाडौं छोटो दूरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङको ढोरपाटन नगरपालिका-५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध१ज १९ नम्बरको जिप दुर्घटना हुँदा चन्द्रागिरि नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१० की २८ वर्षीया संगीता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका-४ खुंगाका २७ वर्षीय तिलक घर्ती रहनुभएको छ । उहाँहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नौजना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डिएसपी केसीले बताउनुभयो । घाइतेहरूको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सालझन्डि ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका-५ ट्याङखोलाको उकालोमा ब्रेकफेल भइ जिप दुर्घटना भएको डिएसपी केसीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच