काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरले न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ । बुधबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमका क्रममा युनियन अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारले तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
उहाँले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकलाई सेवा गरेबापत उपलब्ध हुँदै आएको १० प्रतिशत शुल्क कटौती गरिएकोमा आपत्ति जनाउँदै सो खारेजीको मागसमेत गर्नुभयो । अध्यक्ष तिवारीले भन्नुभयो, ‘पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकले आफूले सेवा गरेबापत पाउने सुविधा गुमेको छ, खोसिएको छ । हाम्रा अधिकारहरू खोसिनेक्रम बढ्दो छ । त्यो अधिकार प्राप्तिका लागि हाम्रो संगठनमा आबद्ध हुन सबै श्रमिकलाई आहृवान पनि गर्दछौँ । लाखौंंको संख्यामा यस क्षेत्रमा कार्यरत मजदुर यो सुविधाबाट वञ्चित हुनुभएको छ । सामाजिक सुरक्षा योजनामा नगई सुखै छैन । नेपालको कानुन मान्नुपर्छ । अन्यथा देशभर आन्दोलन सुरु गर्नेछौँ । हाम्रो मूल एजेण्डा यही नै रहनेछ ।’
एमाले निकट मजदुर संगठन जिफन्टमा आबद्ध उक्त युनियनले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुर सूचीकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । युनियन अध्यक्ष तिवारीले सरकारले तोकिदिएको न्यूनतम मासिक पारिश्रमिक १७ हजार तीन सय कार्यान्वयन गरेरमात्रै सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सकिने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा