
नवलपरासी । पश्चिम नवलपरासीमा नवौँ उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको आयोजनामा स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान मूल नाराका साथ उद्योग कार्यालय नवलपरासीको आयोजनामा उद्योग दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । अन्तरक्रियामा अधिकांश उद्योगी व्यापारी तथा साना मझौला उद्यमीले उत्पादित वस्तु बजारीकरणको समस्या रहेको गुनासो गरेका छन् । उत्पादित वस्तुको बजारीकरण समस्या र बंैकको ब्याजदरका कारण व्यवसायी मारमा परेको उनीहरूको भनाइ थियो ।
समयमा मल उपलब्ध र सिँचाइ व्यवस्था नहुँदा उत्पादनमा ह्रास आउने गरेको माछा व्यवसायी देवेन्द्र चौधरीले बताउनुभयो । दाउन्नेदेवी महिला बहुउद्देश्यीय संस्थाकी अध्यक्ष एवं कपडाको झोला बनाउने देवी पौडेलले झोलाले बजार नपाउँदा व्यवसाय फस्टाउन नसकेको गुनासो गर्नुभयो । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारीले बैंकको ब्याजले गर्दा मार पारेको भन्दै कतिपय उद्योग बन्द भएको र उत्पादनमा कमी आएको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण बजार र अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको भनाइ थियो ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले व्यवसायीहरू अहिले बैंकको ब्याजदरले मार परेको र सरकारले उत्पादित वस्तुको उचित बजारीकरणको व्यवस्था नगर्दा झनै समस्या भएको बताउनुभयो । सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बंैकको ब्याजदर नघटाएसम्म व्यापार समस्या समाधान नहुने भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख भगौतीप्रसाद यादवले जिल्लामा उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले व्यवसायी तथा उद्यमीले उत्पादनसँग जोडिने खालको वस्तुमा जोड दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले आ-आफ्नो क्षेत्रबाट समन्वय तथा सहकार्यको दायित्व पूरा नभएसम्म व्यापार व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा उद्योग दर्ता एक हजार चार सय पाँच रहेको र उक्त आर्थिक वर्षमा दर्ता भएका उद्योग संख्याभन्दा २०७९/०८० मा आठ सय ७८ ले कमी रहेको बताउनुभयो । जुन ६२.४९ प्रतिशतले कमी होे । पौडेलका अनुसार २०७८/०७९ मा वाणिज्यतर्फ दर्ता संख्या एक हजार ८० रहेको छ । २०७८/०७९ मा दर्ता भएका वाणिज्य फर्म दर्ता संख्याभन्दा २०७८/०७९ मा दर्ता संख्या पाँच सय ७८ ले कमी आएको छ । जुन ५३.५१ प्रतिशतले घटेको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मेघराज गौतम, घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा कृष्ण काफ्ले, घरेलु तथा साना उद्योग कार्यालयका नवीन बस्याल, व्यवसायी काल्पी चौधरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेशकुमार गुप्तालगायतको पनि सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच