
काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवासको चिन्ताले सताउन थालेको छ । त्रिपालमुनि दिनरात काटिरहेका उनीहरूलाई चिसो बढेपछि अस्थायी आवासको चिन्ताले सताउन थालेको हो । भूकम्प गएको एक महिना पुग्नै लाग्दासमेत प्रभावितलाई बस्न अस्थायी आवास निर्माणको काम सुरु भएको छैन । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको ज्यान गएको थियो । भूकम्पले घर भत्काएपछि हजारौँ परिवार घरबारविहीन बनेका छन् । उनीहरू करिब एक महिनादेखि त्रिपालमुनि बसिरहेका छन् । भूकम्पपछि समयमा त्रिपालसमेत नपाएका उनीहरूले सरकारले घोषणा गरेको राहत रकमसमेत पाएका छैनन् । अहिले उनीहरूलाई हिउँद कसरी काट्ने भन्ने चिन्ताले सताएको छ ।
सरकारले एक महिनाभित्रै अस्थायी आवास निर्माण थाल्ने बताए पनि अधिकांश ठाउँमा अझै सुरु भएको छैन । कतिपय ठाउँमा विभिन्न संघसंस्था र व्यक्तिको पहलमा अस्थायी आवास निर्माणको काम भइरहेको छ । तातो समयमा बाहिर बस्न सहज भए पनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या हुने गरेको प्रभावितहरू बताउँछन् । राहतका लागि विभिन्न ठाउँमा हात थापे पनि आफूले केही नपाएको भूकम्पपीडित तुलाराम नेपालीले बताउनुभयो । सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।
बढ्दै स्वास्थ्य समस्या
अस्थायी आवासको व्यवस्था नहुँदा त्रिपालमुनि बसेका पीडितमा स्वास्थ्य समस्या देखिन थालेको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको हो । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रका मानिसहरूमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिसजस्ता स्वास्थ्य समस्या देखिएका हुन् ।
चिसो मौसम, आवश्यक खानपानको अभाव, तनाव र दौडधुपले भूकम्प प्रभावितको स्वास्थ्य समस्या बढिरहेको डा. मणीन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार रुकुमको आठबिसकोट नगरपालिका-१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा पाइएको छ ।
डा. कँडेलका चार सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । स्वास्थ्य जाँचका लागि बालबालिका र ज्येष्ठ नागरिक बढी आएका थिए । बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी पाइएको उहाँले बताउनुभयो । शिविरबाट मस्तिष्कघात, पक्षघात, अटिजम, बौद्धिक अपांगता भएका नौ जनाले पनि सेवा लिएका थिए । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पनि भूकम्प प्रभावित क्षेत्रका नागरिकमा स्वास्थ्य समस्या बढिरहेको बताउनुभयो । चिसो मौसम, घरबाहिरको बसाइ, पोषणयुक्त खानेकुराको अभावमा भूकम्प प्रभावितमा स्वास्थ्य समस्या देखिन थालेको उहाँको भनाइ छ ।
पाँच वर्षमुनिका १६ हजार बालबालिका प्रभावित
जाजरकोट भूकम्पले पाँच वर्षमुनिका १६ हजार १२७ बालबालिका प्रभावित भएका छन् । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)का अनुसार भूकम्पका कारण चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्षमुनिका १० हजार ५६० बालबालिका प्रभावित भएको एफडब्लुएलडीले जनाएको छ ।
यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । रुकुम पश्चिममा पाँच वर्षमुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएका छन् । यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित भएका छन् । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् ।
एफडब्लुएलडी र राष्ट्रिय महिला आयोगले संयुक्त रूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख जम्मा
भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो । कात्तिक १७ गते जाजरकोटलाई केन्दविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचनाहरू भत्किँदा जाजरकोट र सुदूरपश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजार ६२ घरमा क्षति गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच