
काठमाडौं । दिगो पूर्वाधारमा साझेदारी भन्ने नाराका साथ एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन इफाप्काको ४६ औँ सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनु जरुरी भएको बताउनुभएको छ । भौतिक पूर्वाधार विकाससँगै यससँग सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
इफाप्कामा आबद्ध मुलुक बढीमात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा इफाप्काले मौसम परिवर्तनको एजेण्डालाई प्राथमिकतासाथ उठान गर्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
सम्मेलनमा विदेशका दुर्ई सय ४० सहित चार सय ५० भन्दा बढीको सहभागिता रहेको महासंघले जनाएको छ ।
हालै नेपालको भ्रमणमा आउनुभएका संयुक्त राष्ट्र संघका महासचिवले पनि मौसम परिवर्तनको एजेण्डालाई उच्च महत्व दिनुभएको स्मरण गर्दै राष्ट्रपति पौडेलले ‘पृथ्वी रहेमात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणमा जोड दिनुभयो । पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको भन्दै उहाँले विश्व अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले संकटग्रस्त अर्थतन्त्र सही ट्र्याकमा ल्याउन निर्माण व्यवसायीबाट आफूले सकारात्मक भूमिकाको अपेक्षा राखेको बताउनुभयो । सोही अवसरमा देशविदेशका पूर्वाधारविद्को लेख रचना समेटिएको स्मारिका सार्वजनिक गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण उद्योगसँग सम्बन्धित समसामयिक विषयमा ४६औँ इफाप्का सम्मेलनमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो । सदस्य राष्ट्रबीचको सम्बन्ध विस्तारमा इफाप्काको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो । उद्घाटन सत्रका सभापति तथा इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै लगानी वृद्धि गर्न इफाप्कामा आबद्ध मुलुकका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । नेपालको पश्चिमी क्षेत्रमा हालै आएको विनाशकारी भूकम्पमा परेकालाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले बताउनुभयो ।
महासंघका सल्लाहकार तथा इफाप्का महासचिव वीरेन्द्रराज पाण्डेले इफाप्कालाई गतिशील संगठन बनाउन सदस्य राष्ट्रहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा इफाप्काको परिचय झल्काउने भिडियो, नेपालको मौलिक संस्कृति झल्काउने झाँकीलगायतको प्रदर्शनी गरिएको थियो । साथै इफाप्का सदस्य मुलुकका चिफ अफ डेलिगेटहरू आ-आफ्नो संस्थाको झण्डासहित सम्मेलनस्थलमा प्रवेश गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघको झण्डासहित चिफ अफ डेलिगेट, महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) सम्मेलनस्थल प्रवेश गर्नुभएको थियो ।
शनिबारसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीसहित पूर्वाधारविद् तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मेलनमा विदेशका दुई सय ४० सहित चार सय ५० भन्दा बढीको सहभागिता रहेको महासंघले जनाएको छ । नेपालले यसअघि सन् १९९९ मा ३०औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच