अलैँची बेचेर लाखौँ आम्दानी गर्दै बरेङका किसान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यवसायिक अलैची खेती हुँदै आएको छ । यहाँका कृषकहरुले ‘नमुना अलैची उत्पादक कृषक समूह’ मार्फत व्यवसायिक अलैची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरि वर्षेनी लाखौँको अलैची यहाँबाट निर्यात गर्ने गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैची फूल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा पचास प्रतिशतले कमी आएको नमुना अलैची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले बताउनुभयो ।

आठ वर्ष अगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैचीले बिस्तारै बजारसमेत पाउन थालेको उहाँको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैची खेती कृषकको आयआर्जनको माध्यम बनेको पौडेलले बताउनुभयो । दुई वर्ष अगाडि ३५, गत वर्ष २८ लाख र यस वर्ष २२ लाखको अलैची निर्यात भएको उहाँ बताउनुहुन्छ । यस वर्ष १६ क्विन्टल अलैची विक्री गरेको भन्दै ८०० देखि १५ सय रुपैयाँसम्म मूल्य पार्न सफल भएको अध्यक्ष पौडेलको भनाइ छ । समयममा पानी परेको भए यस वर्ष झण्डै ३५ लाख बढीको अलैची उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनुहुन्छ ।

‘यो ठाउँमा अलैची राम्रो उत्पादन भइ रहेको थियो, पाहोर परार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत बैशाखमा फूल फूल्ने र दाना हाल्ने गर्छ, त्यस बेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन’ अध्यक्ष पौडेलले भन्नुभयो – ‘तर हामीहरु उत्साहित छौँ, उत्पादन बढाउने गरि काम गरि रहेका छौँ, हामीले उत्पादन गरेको अलैची धेरै ठाउँमा पुग्ने गरेको छ, किसानहरु पनि यसको खेती गर्न तर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौँ ।’

ADVERTISEMENT

बरेङ गाउँपालिकाले वडा नम्बर २ हुग्दिशिरलाई अलैंची खेतीको पकेट घोषणा गरि किसानलाई व्यवसायिक बन्न आकिर्षत गरेको छ । पाखोबारीमा पनि अलैची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसी प्रसाद शर्माले बताउनुभयो । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैची खेती गरिदै आए पनि आफूहरु यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उहाँको भनाइ छ । अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राबिधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउनुहुन्छ । अलैची खेतीका बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – ‘पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैंचीको व्यवसायिक उत्पादन गर्न थालेका छौं, खेती सुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरु थप उत्साहित भएका छौँ, घरबाटै अलैंचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नु भएको छ, अन्य बालीलाई जस्तो धेरै समय पनि दिन पर्दैन, गाउँमा समुह बनाएर महिला दिदीबिहिनीहरुलाई समावेश गरेका छौँ, यसबाट गाउँमा दुई/चार जनालाई स्वरोजगार पनि बनाएको छ ।’

अलैची खेती सम्बन्धी आफुहरुलाई प्राबिधिक ज्ञान नभएको भन्दै शर्माले पालिकाले यस सम्बन्धि तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताउनुभयो । समुहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उहाँको भनाइ छ । प्राबिधिक ज्ञानको कमीका कारण समय–समयमा अलैचीका बोट मर्ने समस्या आएको शर्मा बताउनुहुन्छ ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषकलाई आधुनिक प्रबिधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताउनुभयो । कृषकलाई आवश्यक तालिक, पराशर्म र उन्नत जातका बिउ भिजन प्रदान गर्दै आएको उहााको भनाइ छ । बरेङमा प्रसस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरि रोजगार सिर्जना गर्न तर्फ आफूहरुले जोड दिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?