
काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताउनुभएको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम टुंग्याउने क्रममा सघाउन तयार रहेको उहाँले बताउनुभयो । तर, यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितमैत्री हुनुपर्ने उहाँको भनाइ थियो । चारदिने नेपाल भ्रमणमा आउनुभएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताउनुभयो ।
संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्याउँदा मानव अधिकारका विषयलाई समेत हेक्का राख्नुपर्ने उहाँले बताउनुभयो । नेपाल शान्ति र जनताको अधिकारको पक्षमा लामो समयदेखि वकालत गरिरहेको देश रहेको उहाँको भनाइ थियो । ‘शान्ति प्रक्रियाका पक्षमा नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ,’ उहाँले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया टुंगो लगाएर पीडितलाई न्याय दिलाउनुपर्छ । त्यसका लागि सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड र मानवीय अधिकारका विषयलाई हेक्का राख्नुपर्छ ।’
उहाँले इजरायल-हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिनासर्त रिहाइ गर्नुपर्ने पनि बताउनुभयो । ‘हमासले गरेको आतंकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरू मारिएको घटनाप्रति उनीहरूका परिवारजनमा मेरो गहिरो समवेदना छ,’ उहाँले भन्नुभयो, ‘हराइरहेका विपिन जोशी सुरक्षित रूपमा फर्किन्छन् भन्ने कामना गर्दछु । भेटका क्रममा महासचिव गुटेरेसले नेपाल (नेपाली सेना र प्रहरी)ले विश्वशान्तिका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच नेपालको शान्ति प्रक्रिया, मौसम परिवर्तन र नेपालले विश्व समुदायमा शान्ति प्रक्रियामा खेलेको भूमिकाबारे छलफल भएको छ । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दुईपक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले क्लाइमेट चेन्जका कारण परेको असरबारे गम्भीर रूपमा छलफल भएको बताउनुभयो । ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । यसलाई टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘भेटवार्ता बडो सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भयो । मौसम परिवर्तनका विषयमा हामीले गम्भीर रूपले चर्चा गर्यौँ । नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको उच्च प्रशंसा गर्यौँ । आउने दिनमा अझ ठूलो सहयोगको अपेक्षा गर्यौँ ।
त्यसैगरी, प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाका बारेमा समेत छलफल भएको छ । ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौँ,’ उहाँले भन्नुभयो, ‘भेटवार्तामा आर्थिक विकास र समृद्धिका बारेमा समेत कुराकानी भएको छ । भेटमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट कम विकसित राष्ट्रमा पुर्याउने लक्ष्य पूरा गर्ने सवालमा समेत छलफल भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदान अनुसारको सम्मान गर्न आग्रहसमेत गर्नुभयो । ‘उहाँले शान्ति सेनामा खटिएका नेपाली सेना र प्रहरीको प्रशंसा गर्नुभयो । हामीले गरेको योगदानानुसार फिल्डमा पनि र हेडक्वार्टरमा पनि उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज भयो : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काममा असहज भएको बताउनुभएको छ । आइतबार संघीय संसद् भवनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उहाँले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काम असहज बन्न गएको बताउनुभएको हो । माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसैगरी, ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउने काममा सक्दो सहयोग गर्ने बताउनुभएको थियो । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्रसंघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताउनुभएको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट पारित गर्छौं : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाटै छिट्टै पारित गर्ने बताउनुभएको छ । सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस कामका लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसद्बाट छिट्टै पारित गराउने बताउनुभएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले बताउनुभयो । त्यसैगरी, सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नुभएको थियो ।
दिनभर उच्चस्तरीय भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । चारदिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुग्नुभएका गुटेरेसले आएकै दिन उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो । उहाँले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्रीहरूसँग समेत भेटवार्ता गर्नुभयो । आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसँग द्विपक्षीय भेटवार्ता गर्नुभएका उहाँले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा र राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेट्नुभएको हो । प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद, मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू पनि सहभागी थिए ।
लगत्तै उहाँले नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्नुभयो । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभयो । उहाँले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि भेटवार्ता गर्नुभएको छ । आइतबार नै उहाँले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन पनि गर्नुभएको छ । त्यहाँबाट फर्केपछि उहाँ प्रधानमन्त्रीको आयोजनामा भएको रात्रिभोजमा सरिक हुनुभएको थियो ।
चारदिने भ्रमणका क्रममा नेपाल आइपुग्नुभएका महसचिव गुटेरेसलाई आइतबार मध्यराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको थियो । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । महासचिवका रूपमा यो उहाँको दोस्रो कार्यकाल हो । महासचिव गुटेरेसको नेपाल भ्रमणका महŒवपूर्ण एजेण्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य रहेका छन् ।
राष्ट्रसंघ महासचिवलाई द्वन्द्वपीडितहरूको ध्यानाकर्षण
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूबारे ध्यानाकर्षण गराएका छन् । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत महासचिव गुटेरेसलाई स्मरणपत्र दिएको हो । संक्रमणकालीन न्याय, स्मृति, परिपूरण र फेरि नदोहरिने प्रतिबद्धतामा नेपाल सरकारको कार्यलाई संयुक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरूको अपिल छ । कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरूको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताउनुभयो । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय संजालका संयोजक राम भण्डारीले माग सम्बोधनका लागि पहलमा सकेसम्म चाँडो प्रयासहरू गर्ने आश्वासन पाएको बताउनुभयो ।
आज सोलुखुम्बु पुग्ने
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (सोमबार) जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्नुहुने भएको छ । त्यसपछि उहाँ पोखरा पुग्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्ने कार्यतालिका छ । लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नुहुने छ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।
मंगलबार संसद्मा सम्बोधन गर्ने, सांसदले औपचारिक पोसाक लगाएर जानुपर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त सभालाई सम्बोधन गर्नुहुने भएको छ । आगामी मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नु हुनेछ । उहाँको सम्बोधनका लागि संघीय संसद् सचिवालयले तयारी अघि बढाएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई महासचिव गुटेरेसले सम्बोधन गर्ने व्यहोराको पत्र सरकारबाट पाएसँगै सचिवालयले तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायत काम अघि बढाएको संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभा बैठकमा पनि दिइएको थियो । गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गर्नुभएको छ । साथै उहाँले औपचारिक पोसाकमा आउनसमेत आग्रह गर्नुभएको छ ।
सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र संवैधानिक अंगका प्रमुखलाई आमन्त्रण गर्दै छ । राष्ट्रसंघका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा सांसदलाई सम्बोधन गर्नुभएको थियो । मुनले सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा नेपाल भ्रमण गर्नुभएको थियो । यसको ठिक १५ वर्षपछि राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच