काठमाडौं । यूएईमा पाँच वर्षदेखि वैदेशिक रोजगारीमा कार्यरत तनहुँका रविन्द्र केसी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एलइडी’ टिभी र एटेजी बोकेर बाहिर निस्किँदै हुनुहुन्थ्यो । २७ महिनापछि दशैँ मनाउन भनेर एक महिनाको छुट्टीमा घर आउँदा परिवारका लागि दुईवटा स्मार्टफोन, एउटा ल्यापटप र घरका लागि आवश्यक ३२ इन्चको टिभी साथमा लिएर आएको केसीले बताउनुभयो । इलेक्ट्रोनिक सामान नेपाली बाजारमा भन्दा बाहिर सस्तो पाइने भएकाले घर फर्किँदा लिएर आएको उहाँले बताउनुभयो ।
‘इलेक्ट्रोनिक सामान विदेशमा राम्रो र गुणस्तरीय पाइन्छ । नेपालमा भन्दा धेरै छुटमा किन्न पाइन्छ । स्वदेश फर्किएपछि पनि किन्नु परिहाल्छ । त्यही भएर कतारबाटै लिएर आएको’, उहाँले हिमालय टाइम्ससँगको कुराकानीमा भन्नुभयो, ‘दशैँमा घर फर्किँदा परिवारलाई उपहार पनि हुने, घरमा चाहिने आवश्यक इलेक्ट्रोनिक सामान पनि जोडिने ।’
केसीजस्तै, दोलखाका अम्बिका जिरेल पनि विमानस्थलबाट हातमा सुटकेश लिएर बाहिरिँदै हुनुहुन्थ्यो । विदेशबाट आएको भनेपछि परिवार र आफन्तले उपहारको आस गर्ने पोल्याण्डबाट फर्किँदै गर्नुभएकी जिरेलले बताउनुभयो । विदेशबाट फर्किँदा परिवारका लागि तीनवटा स्मार्टफोन, दुईवटा ब्ल्यांकेट र एउटा टिभी ल्याएको बताउनुभयो । ‘दशैँ मनाउन घर फर्किँदा परिवारलाई विदेशी उपहारको आस हुन्छ । विदेशमा प्रविधिका सामान सस्तो पर्छ । त्यही भएर दशैँ मनाउँन आउँदा साथमा बोकेर आएको’, उहाँले भन्नुभयो ।
यसैगरी, दक्षिण कोरियाबाट दशैँ-तिहार मनाउन फर्किँदै गर्नुभएकी झापाकी ललिता विष्टले पनि आमा-बाका लागि टिभी, भाइहरूलाई तीनवटा स्मार्टफोन र एउटा ल्यापटप ल्याएको बताउनुभयो । स्वदेश फर्किँदा परिवारका लागि इक्लोट्रोनिक सामान उपहार पनि हुने उहाँ बताउनुहुन्छ । ‘नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ । कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुट पनि पाइन्छ । त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत धेरै छुट मूल्यमा किन्न पाइयो । उपहार पाएपछि परिवार पनि खुशी हुन्छन्’, उहाँ भन्नुहुन्छ, ‘विदेशमा विशेष छुट पाइने हुँदा धेरैले प्रविधिका सामान लिएर आउँछन् । घर फर्किँदा परिवारले मगाएको अथवा आफूलाई चाहिने प्रविधिको सामान लिएर आउने चलन जस्तै छ । त्यसमा रोजगारदाता देशले पनि पछिल्लो समय दशैँमा इक्लोट्रोनिक सामान छुट कार्यक्रम ल्याउने गरेका छन् ।’
केसी, जिरेल र विष्ट वैदेशिक रोजगारीबाट फर्किँदै गर्दा विमानस्थलमा भेटिनुभएका प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँहरू जस्तै दैनिक सात हजार बढी नेपाली दशैँ मनाउन घर फर्किरहेका छन् । दशैँ मनाउन आउने सबै नेपालीले अनिवार्य ३२ इन्चसम्मको टिभी लिएर आउने गरेको विमानस्थल कार्यालयले जनाएको छ । दशैँको टीका लगाउन एक सातामात्र बाँकी हुँदा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका श्रमिक, पेशा–व्यवसाय गर्ने र अध्ययनमा गएका विद्यार्थी फर्किने क्रम बढ्दो छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदारको भिडभाड बढेको छ । टिभीसँगै वैदेशिक रोजगारीबाट फर्किनेहरूले ल्यापटप, स्मार्टफोन र इलेक्ट्रोनिक सामान लिएर आउने गरेको देखिन्छ । नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शुल्क छुट भएका कारण विदेशबाट आएकाले आफन्त र परिवारलाई टिभी तथा मोबाइल नै पहिलो रोजाइमा पारेर ल्याउने गरेको विमानस्थलका कर्मचारी बताउँछन् ।
दशैँसँगै तिहार मनाउन घर बिदामा फर्किने अधिकांशले साथमा आफ्ना परिवार र आफन्तका लागि केही बोकेर फर्किने गरेका हुन्छन् । ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ । विदेशबाट फर्किएकासँग साथमा अनिवार्य टिभी लिएर आउने गरेको पाइन्छ । सरकारले विभिन्न सामानमा भन्सार छुटको व्यवस्था गरेकाले स्वदेश फर्किनेहरूले सूचना पाएनुसार छुटका सामान साथमा बोकेर आउने गरेका छन् ।
अर्थ मन्त्रालयको निजी, गुण्टा, झिटीसम्बन्धी प्रावधान अनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक तीनवटासम्म स्मार्टफोन, एउटा ३२ इन्चको टिभी र अन्य इक्लोट्रोनिक सामान ल्याउन पाइन्छ । तर, विदेशबाट घर फर्किनेहरूले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन् । यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन । दशैँमा परिवार र आफन्तसँग भेटेर खुशीयाली मनाउन फर्किएका कामदारले साथमा ल्यापटप, टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायत बोकेर आउने गरेको अध्यागमन कार्यालयका निर्देशक खेमलाल भुसालले जानकारी दिनुभयो । स्वदेश फर्किनेहरूले टिभी, ल्यापटप र मोबाइल अनिर्वाय लिएर आउने गरेको उहाँ बताउनुहुन्छ । वैदेशिक रोजगार तथा अन्य कामले विदेशमा बसोवास गर्दै आएका नेपालीहरूले स्वदेश फर्किँदा इक्लोट्रोनिक सामान बोकेर फर्किने गरेको उहाँको भनाइ छ ।
औसतमा नेपालीहरूको स्वदेश फर्किने संख्या विदेशिनेभन्दा पाँच गुणा बढी हुनेगरेको विमानस्थलस्थित अध्यागमन कार्यालयले जानकारी दिएको छ । गतवर्ष दशैँ मनाउन पाँच लाखभन्दा बढी नेपाली स्वदेश फर्किएको कार्यालयले जनाएको छ । राष्ट्र बैंकको आप्रवासनसम्बन्धी अध्ययनमा विदेशबाट फर्किएका कामदारले हृयाण्ड क्यारीमार्फत वार्षिक ठूलो परिमाणमा सामान लिएर आउने गरेको जनाएको छ । बैंकको अध्ययनमा वार्षिक चार खर्बभन्दा धेरैको प्रविधिका सामान हृयाण्ड क्यारीमार्फत भित्रिने गरेको छ । साथै, दशैँमा घर फर्किनेसँग वार्षिक तीन खर्बभन्दा बढी रेमिट्यान्स पनि भित्रिने गरेको बैंकको अध्ययनमा उल्लेख छ ।
दैनिक रूपमा चार हजारभन्दा बढी टेलिभिजन सेट तथा सात हजारभन्दा बढी मोबाइल सेट भित्रने गरेको अध्यागमन भान्सार कार्यालयले जनाएको छ । दशैँमा घर फर्किनेहरूले दैनिक २१ करोड रूपैयाँभन्दा बढीको इक्लोट्रोनिक सामान ल्याउने गरेको कार्यालयको अनुमान छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा