सर्लाही । उखु खेती घट्दा चिनी उद्योग नै संकटमा पर्न थालेपछि सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले आफ्ना किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराई बिउ वितरणको तयारी गरेको छ ।
पछिल्ला वर्ष उद्योगले आफ्नो क्षमताअनुसार मिल सञ्चालन गर्न नसकिरहेकाले किसानलाई पेस्कीमा उन्नत उखुको बिउ उपलब्ध गराउने भएको हो । उत्पादन वृद्धि गर्ने उद्देश्यसहित उद्योगले उन्नत जातको उखुको बिउ उत्पादन सुरु गरेको छ । उद्योगले हाल २८ बिघा जग्गामा विभिन्न तीन जातका उखु लगाएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । रजकका अनुसार भारतबाट ल्याइएको ‘सिओ १५०२३’, ‘कस १३२३५’ र ‘कल्क १४२०१’ बिरुवा उद्योगले जगाउँदै लगेको हो । गत वर्ष १५ कठ्ठा क्षेत्रफलमा लगाइएको यी तीन जातका उखुको बिउ यस वर्ष विस्तार गरेर २८ बिघामा फैलाइएको उखु प्रबन्धक रजकले बताउनुभयो ।
किसानलाई आधुनिक उपकरण प्रयोग गरी उन्नत उखु लगाउन प्रोत्साहन गर्ने उद्देश्यले उद्योग आफैंले उखु खेतीको अवलोकन गराइरहेको उद्योगका प्रशासन प्रमुख नेपालले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले गत वर्षदेखि उन्नत जातको उखुको बिउ जगाउँदै लगेका छौँ, यस वर्ष किसानलाई समेत वितरण गर्ने तयारी छ, यी जातका उखु रोप्दा उत्पादन बढेर जान्छ, यसबाट उखु किसानको आम्दानीमा समेत वृद्धि हुन्छ ।’ इन्दुशंकरले २८ बिघामा तयार पारेको उखुको बिउ करिब एक हजार पाँच सय बिघा जग्गामा रोप्न पुग्ने बताइएको छ ।
उद्योगले लगाएको उन्नत जातको उखुको अहिले किसानलाई अवलोकन गराउने काम भइरहेको छ । किसानलाई आधुनिक औजार प्रयोग गरी उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्ने उद्देश्यले उद्योग आफैंले उखु खेतीको अवलोकन गराइरहेको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरिका र यी जातका उखु लगाउँदा हुने उत्पादनलगायतका विषयमा स्पष्ट पार्न उद्योगले नै खर्च बेहोरेर अवलोकन गराइरहेको छ ।’
किसानले यसअघि तीन आँख्ला भएको उखु रोप्ने गरेका थिए । उद्योगले लगाएको उन्नत जातको उखु भने एक आँख्लामात्रै रोप्दा पनि हुन्छ । एकमात्रै आँख्ला रोप्दा पनि १० वटाभन्दा बढी उखु उत्पादन हुने उखु प्रबन्धक रजकले बताउनुभयो ।
उद्योगले उन्नत जातको उखु खेती विस्तार गर्न भन्दै अवलोकनको व्यवस्था गर्दा किसानले खुुसी व्यक्त गरेका छन् । बागमती नगरपालिका-११ का किसान प्रकाशजंग पाण्डेले उद्योगले जगाउँदै लगेको उन्नत जातको उखुको बिउ अत्यन्त उपयोगी र उत्पादनको हिसाबले पनि राम्रो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अवलोकनले उखु खेतीमा नयाँ प्रविधि र तरिका जान्ने अवसर मिल्यो, यी उन्नत जातका उखु चार फिटको दूरीमा रोप्दा पनि हुने, त्यसरी रोप्दा ड्याङ फराकिलो र व्यवस्थित हुने कुरा थाहा पायौँ ।’
उखु खेती घट्दा चिनी उद्योग नै संकटमा पर्न थालेपछि इन्दुशंकरले यस्तो पहल सुरु गरेको हो । उद्योगले आफ्नो कच्चा पदार्थ उखु उत्पादनमा जसरी लगानी गरिरहेको छ, त्यसैगरी सरकारले पनि उखु किसानलाई प्रोत्साहित गरेमा देश चिनीमा अत्मनिर्भर हुने देखिन्छ । सरकारले समयमै किसानलाई आवश्यक पर्ने रासायनिक मल, प्राविधिक सहयोग, आन्दोलनबिनै अनुदान तथा किसानमैत्री नीतिमा जोड दिनु आवश्यक देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच