वैयक्तिकता र सामूहिकता

प्रा. डा. कुलप्रसाद कोइराला
प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

साहित्यमा पात्रहरूलाई हेर्ने दृष्टि अनेकौं हुन्छन् तापनि आज म वैयक्तिकता र सामूहिकताका सम्बन्धमा केही कुरा गर्न खोज्दै छु । नेता समूह र जनताका बीचबाट जन्मन्छ । त्यसो भएको हुनाले लाखौंमा एकाधमात्रै नेता हुन वा देखिन सक्छन् । नेता रहरले, पदले, धनले मानले र सम्मानले हुँदैन । ‘णीञ्’ प्रापणे धातुबाट लैजानु या पुर्‍याउनु भन्ने अर्थमा नेता, नेतृ र नायक शब्द बन्छन् । साहित्यको नेतालाई नायक भनिन्छ । पहिला त साहित्य भनेको औसत जीवनजगत्भन्दा हीनतर या उच्चतर भयो भनेमात्रै त्यो प्रकथन (न्यारेसन) साहित्य बन्छ ।
हीनतर जीवनलाई देखेर हाम्रा आँखा आँसुले भरिन्छन् र शत्रुलाई पनि यस्तो जीवन बाँच्नु नपरोस् भगवान भनेर हामी पुकारा गर्दछौं ।

उच्चतर जीवनको चित्रण पढ्दा हामीलाई आफू पनि त्यस्तै बनेर संसारमा नाम कमाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्छ । तर, साहित्य र समाजका इतिहासलाई टटोलेर हेर्दा पनि बिरलाकोटि मान्छे मात्रै समाजमा नेता बनेर देखिएका भेटिन्छन् । साहित्यमा पनि यस्तै अवस्था रहेको हुन्छ । अलिकति फरक के छ भने साहित्यको नायक लेखकका रुचि, दृष्टि र अनुभव अनि लक्ष्यका अधिनमा रहेको हुन्छ । यद्यपि लेखकले पात्रलाई ठिँगुरा हाल्नुहुँदैन भनेर समालोचक भन्छन् तर ती पात्रको जनक लेखक भएको हुनाले थोरै भने पनि सहज साहचर्यको सिद्धान्तबाटै पात्रलाई चरित्र विकासको अवसर दिए पनि कहिँ न कहिँ लेखकीय उद्देश्यबाट ऊ नियन्त्रित हुन्छ नै ।

मन्त्रीको पद लिने कि पचास लाख लिने ? रोज र मत हालेको फोटो मोबाइलमा देखाऊ भनेर आजको दरबारियाकी स्वास्नीले भनेको मान्ने सांसदले छातीमा हात राखेर भनून् कि उनीहरू पनि बीपीकै अनुगामी हुन् भने कोइरालाको सगरमाथाभन्दा अग्ला कदको त्याग र तपस्याको अर्थ के ? 

यस्तो परिस्थिति आयोजनापूर्ण हो भन्ने पाठकले चाल पायो भने त्यो स्रष्टा अब्बल सिर्जनात्मक प्रतिभा भएको हो भन्ने मानिँदैन । यस दृष्टिले विप्र कोइरालाको ‘तीनघुम्ती’ उपन्यासकी नायिका इन्द्रमाया, रमेश र पीताम्बरलाई एउटा त्रिभुज बनाएर तीन ठाउँमा राखेर हेरे चलाख र सहृदयी समालोचकले चाल पाउन सक्छ कि कोइरालाबाट के कुरो पुष्टिका निमित्त यो मोड सिर्जना गरिएको हो भनेर । यसरी नै ‘अनुराधा’ उपन्यासकी नायिका अनुराधा, रत्नमान र कोमलमान्लाई त्रिभुजमा राखेर विश्लेषण गरे विजयबहादुर मल्लको मनोविज्ञानको ग्रन्थि पनि पहिला नै चाल पाउन सक्छन् सहृदयी समालोचकले ।

यी दुवै उपन्यासका सम्बन्धमा अनेकौं कोणबाट व्याख्या विश्लेषण भएको छ । तर, अब बेला आएको छ यिनलाई फेरि उत्खनन गर्नुपर्ने । मान्छे मान्छे नरहेर अवसर तथा स्वार्थको डल्लामा परिणत भएको आजका सन्दर्भमा साहित्य, समाज, व्यक्ति र सामूहिकताको अर्थ खोज्न सकिन्छ कि सकिँदैन ? इन्द्रमायाको परिवार तथा समाजमा दरबारको हैहुकुम थियो । दरबारले नरुचाएका व्यक्तिलाई समाजले पनि साथ दिँदैनथ्यो । त्यस बेलाको समाज शक्ति आराधक थियो । शक्ति र सम्पन्नता दरबारमा थियो ।

समूहलाई खोरमा पालेको बाख्रो, गोठमा बाँधेका गाईभैंसी शरहको व्यवहार दरबार र उसका पुरचर, परचर अनुचर, पाश्र्वचर (ढोके, बैठके, हुक्के, छाते, बगैंचे, जुत्ते र घोडे) जस्ताले पनि गर्दथे र साधारण जनता चाहिँ अनुचरको पनि अनुचर हुन पाए पनि हुन्थ्यो भनेर ¥याल काढ्ने नेपालीको संख्या अति नै धेरै थियो । आजका एक गिलास रक्सी, चार चोक्टा मासु र दुई-चार सयदेखि दश-बीस पचास हजार लाखसम्मा आफ्नो मत बेच्ने सांसद र साधारण मत दाताजस्तै । मन्त्रीको पद लिने कि ? पचास लाख लिने रोज र मत हालेको फोटो मोबाइलमा देखाउ भनेर आजको दरबारियाकी स्वास्नीले भनेको मान्ने सांसदले छातीमा हात राखेर भनून् कि उनीहरू पनि विश्वेश्वरप्रसाद कोइरालाकै अनुगामी हुन् भने विप्र कोइरालाको सगरमाथाभन्दा अग्ला कदको त्याग र तपस्याको अर्थ के ?

वामपन्थीहरू भन्छन् साहित्य समाजको ऐना हो । हो, साहित्यमा व्यक्ति, समाज, इतिहास, संस्कार, संस्कृति यावत् कुरोको छायाँ, छवि र चित्र प्रक्षेपण गएिको हुन्छ । ऐनामा जसरी आँखाभएका व्यक्तिले हेर्दा आफ्नो अनुहारसँगै आफूवरपरको दृश्वावली पनि हेर्नसक्छ उसले हेर्न चाहँदा तर जन्मान्धका अगाडि जतिसुकै स्वच्छ ऐना राखेर उसलाई देखाए पनि उसले केही देख्न सक्दैन । आज हाम्रो देश चलाउन जन्मान्ध पुगेका छन् र तिनका सहयोगीका रूपमा तिनै न विचार, न दर्शन, न आचरणका अनुचर लाम लागेर बसेका छन् । सामूहिक चरित्र भनेको विचार, विवेकहीन रोबोटको हुल होइन, विचार, विवेकयुक्त आदर्श चरित्र (रोल मोडल) भएको व्यक्ति जो सबैका निमित्त हुन्छ र एक्लो जीवन बिताउँदै समाजका धुक्धुकीलाई आत्मसात गरेर बाँचेको हुन्छ ।

विश्वेश्वर कोइराला, महात्मा गान्धी, जबाहरलाल नेहरू जस्ता न कुनै नेपाली न त कुनै भारतीय नै भए । यस दृष्टिले उनीहरू वैयक्तिक पात्र हुन् । राष्ट्रलाई विश्वका उम्दा राष्ट्र सरह बनाउन उनीहरूले भीष्म प्रतिज्ञा गरेर निष्ठापूर्ण जीवन बिताए । यस अर्थमा उनीहरू सामूहिक प्रतिनिधि आदर्शका पक्षधर भएका हुनाले (टाइप क्यारेक्टर) पनि मानिन्छन् । राम, गान्धी, कृष्ण र बुद्धजस्तै कुनै समयमा देवता पनि बन्दै जान सक्छन् । यस कोटिमा मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, सुवर्णशमशेर, सुशील कोइराला, कृष्णप्रसाद भट्टराई पनि आउँछन् दुवै दृष्टिले हेरे पनि । यिनलाई सामूहिक र वैयक्तिक चरित्रका कोटिमा राख्न सकिन्छ ।

ADVERTISEMENT

जुन समयका नारीको जिजीविषाको नेतृत्व इन्द्रमाया र अनुराधाले गरेका छन् त्यो प्रकारका वातावरणमा आजका नारी कतिजना त्यो कामलाई रुचाएर त्यस कित्तामा हिँड्ने हिम्मत गर्लान् । भन्न त नारी सशक्तीकरणका भाषण गरेर थाक्दैनन् तर गम्भीर भएर आजको उच्च शिक्षा पाएका स्वनामधन्य नारीले सकम्बरीलाई बुझेका छन् ? पारिजात मात्रैको पनि धुक्धुकी मेरा हुन् भनेर एक मिनेट सोचेर उभिउन् त । आफ्ना बाबुले धनका लोभमा र जातभातका लोभमा आफ्नै छोरीमाथि गरेको अन्याय र झुक्यानका विरुद्ध अनुराधाले प्रदर्शन गरेको तागत इतिहासमा शैलजा आचार्य र योगमायाले मात्रै प्रदर्शन गर्न सकेको देखिन्छ ।

अरू सबै मुखका भारीमात्र हुन् डाहा गरेका भए पनि नगरेका भए पनि । संस्कृतमा एउटा भनाइ छ : ‘शब्दस्य विश्वतो मुखम्’ अर्थात् शब्दका अनेकौं अर्थ हुन्छन् । हामी तिनको अर्थ आआफ्नो रुचि, दृष्टि र परम्परा अनुसारमात्रै बुझ्ने भुल गर्दछौं । मान्छेका चिन्तन आचरण पनि अनन्त आयामका हुने गर्दछन् । इन्द्रमाया र अनुराधा केबल वैयक्तिक पात्रमात्र होइनन् यी दुवै सामूहिक पनि देखिन्छन् अर्को कोणबाट हेर्दा । यिनले जुन बेलाका नेपालको जीवन जिएका थिए त्यसबेलाको नेपालमा इन्द्रमायाको परिस्थितिमा परेका तर त्यो हिम्मत प्रदर्शन गर्न नसक्ने समग्र प्रेम गर्न चाहने युवतीकी वाङ्मुख पनि त हो नि इन्द्रा ।

भ्रष्टाचारको जुन फायल खोले पनि कांग्रेस सभापति दम्पतीको नाम साथसाथै आउँछ भने तिनलाई मलका थुप्रामा हुने खुम्ले कीराको चित्रमा चित्रण गरे त्यसलाई तिनको दौराको फेर र सारीको सप्को समातेर हैसियतमा पुगेकाले सही बोल्न सक्छन् ?

त्यस्तै जात, भात, धन, कुलघरान आदिका नाममा छेरीलाई झुक्याएरै पनि बा या काका भन्न सुहाउनेसँग जोडी बाँध्न खोज्दा अनुराधाले झैँ स्वयंवरको माला चुँडाएर विद्रोहको शंखघोष गर्नुपर्ने तर नसकेर पशुको जस्तो, भोग्याको र झुसिल्किराको जस्तो जीवन बिताउन विवश युवतीकी वाङ्मुख हो अनुराधा । चीनमा पहिला केटी जन्मनेबित्तिकै तिनका गोडामा फलामको साँचो लाइन्थ्यो रे । आइमाईका गोडा साना राम्रा हुन्छन् भनेर सौन्दर्यका निमित्त । हाम्रो बुद्धि पनि त्यस्तै साँचामा ढालिएको छ । वासुदेव त्रिपाठी, ठाकुर पराजुली, केशवप्रसाद उपाध्याय, गोविन्द भट्टराई, ताना शर्मा, कृष्णचन्द्र सिंह प्रधानले भनेका कुराको रिट्ठो नबिराई अनुकरण र अनुशरण गर्ने ।

यही होइन हाम्रो बुद्धि ? कहिले हामीले कृति र स्रष्ठालाई स्वतन्त्र बुद्धि र दृष्टिले हेर्‍यौं या हेर्ने प्रयत्न गर्‍यौं । आफ्ना बेलामा आफ्ना र आर्जित बुद्धि र तर्कले जे देखे तिनले त्यही लेखे । अनन्त काल तिनकै पछि लाग्नुको कुनै अर्थ छैन । मान्छेभित्रका अनन्त आयामलाई लेखकले देखेको हुन्छ र त्यसलाई सृजनामा राख्ने प्रयत्न गर्दछ । ‘अलिखित’ भन्ने उपन्यासमा ध्रुवचन्द्र गौतमले गाउँको एउटा गरिबलाई धनीका आदेशमा कोपारामा भात खाएको चित्रण गरेका थिए । यो देशको प्रधान न्यायाधीश राष्ट्रपति भण्डारीका अगाडि घुँडा मारेर बसेर टीका थाप्छन् भने त्यस्तालाई उनले चित्रण गरेर देखाएको रूपक कति सार्थक रहेछ भन्नुस् त ।

विरोधीका निमित्त आगो ओकल्ने ओली आफ्ना अरिंगालका निमित्त अरब खरबको भ्रष्टाचार चोख्याउन तम्सन्छन् र तिनको चित्रण सुनैसुनले ढाकिएको देखाए चित्रकारले भने के अन्याय गरे ? भ्रष्टाचारको जुन फायल खोले पनि कांग्रेस सभापति दम्पतीको नाम साथसाथै आउँछ भने तिनलाई मलका थुप्रामा हुने खुम्ले कीराको चित्रमा चित्रण गरे त्यसलाई तिनको दौराको फेर र सारीको सप्को समातेर हैसियतमा पुगेकाले सही बोल्न सक्छन् ? हिजोका धेरै समालोचकबाट विश्वेश्वरप्रसाद कोइराला, विजयबहादुर मल्ल, मोहन कोइराला जस्ताका कृतिको समालोचना ठीक ढंगले गरिएको नहुनसक्छ ।

किनभने, हिजोको अधिकांश मान्छेको मन र रुचिमा गर्भमा रहँदादेखि नै राष्ट्रिय भत्ता खाने वर्गको दबदबा थियो । ध्रुवचन्द्र गौतमले ‘डापी’ मा यस प्रकारका बिम्ब प्रयोगका क्रममा एउटा गाउँको नापनक्सा नै बर्सेनी हराएको चित्रणको व्याख्या गरी हेरौं त ‘राजा आउ देश बचाउ’ भन्नेको पशु मन उदांगिँदैन र ? कमल थापा यस्तै मनको जीवन्त मूर्ति माने हुँदैन र ? ‘दुष्कुलं मानिनो विषम्’ विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला जस्ताका निमित्त अहिलेका कांग्रेसका समूह लज्जाका विषय नै हुन् । एउटा काममा लागेको सुरक्षाकर्मी विनाअपराध सरुवा हुन्छ, उसले आरम्भ गरेको कामलाई टुंगो लाउन नपाउँदै ।

यस्ता उत्तराधिकारीमा कसले गौरव गर्नसक्ला ? मनमोहन अधिकारीका लागि आजका त्यो पर्टीका नेतादेखि कार्यकर्तासम्म गौरवका विषय बनेका छन् र ? राष्ट्रका नाममा भएको जमिन बेचेर धन कमाउन तोक लाउनेलाई निर्दोष सावित भएको घोषणा गर्नेका चरित्रमा विश्वास गर्ने जंगली जत्थाको चेतना कहिले खुल्छ हेरौं !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?